लमहीमा चाडपर्व लक्षित सवारी चालकको लापसे जाँच, १३ जनाकै रिपोर्ट नेगेटिभ

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर १६ आश्विन २०८३, शुक्रबार
2 Min Read
Aa

दाङ – चाडपर्व नजिकिएसँगै सवारीसाधन र यात्रुको चाप बढ्न थालेपछि दाङको लमहीमा सवारी चालक लक्षित विशेष निगरानी तथा लागुऔषध सेवन (लापसे) जाँच सुरु गरिएको छ ।

पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत लमही बसपार्क क्षेत्रमा बिहीबार गरिएको जाँचमा लामो दूरीका सवारी चालक तथा सहचालकको स्वास्थ्य परीक्षणसँगै मदिरा तथा लागुऔषध सेवन गरे–नगरेको परीक्षण गरिएको हो ।

वडा प्रहरी कार्यालय लमही ट्राफिक प्रहरी कार्यालय लमही र लमही जेसीज वर्ष २०२६ को संयुक्त आयोजनामा तथा लमही अस्पतालको प्राविधिक सहयोगमा सञ्चालन गरिएको अभियानमा १३ जना चालकको टीएचसी किटमार्फत लापसे परीक्षण गरिएको थियो । परीक्षणमा सबै चालकको नतिजा नेगेटिभ आएको छ ।

वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक रमेश तिमिल्सिनाले चाडपर्वका बेला दुर्घटनाको जोखिम बढ्ने भएकाले चालकले पर्याप्त आराम गर्ने, मादक पदार्थ तथा लागुऔषध सेवन नगर्ने, तीव्र गतिमा सवारी नचलाउने र मोबाइल फोन प्रयोग नगर्न आग्रह गर्नुभयो । यात्रुले पनि क्षमताभन्दा बढी यात्रु राख्न, सवारीको छतमा यात्रा गर्न तथा चालकलाई तीव्र गतिमा सवारी चलाउन दबाब दिन नहुने उहाँको भनाइ छ ।

ट्राफिक प्रहरी नायव निरीक्षक तिर्थराज भुसालले चालकको स्वास्थ्य परीक्षणसँगै सवारीसाधनको यान्त्रिक अवस्थाको जाँचलाई पनि प्राथमिकता दिनुपर्ने बताउनुभयो । ब्रेक, टायर, स्टेयरिङ, बत्ती, हर्न, वाइपरलगायतका उपकरण नियमित जाँच गर्नुपर्ने तथा लामो दूरीका सवारीमा चालकलाई आवश्यक विश्राम र चालक परिवर्तनको व्यवस्था मिलाउनुपर्ने उहाँले बताउनुभयो ।

लमही जेसीजका अध्यक्ष जयप्रकाश पौडेलले सडक सुरक्षा सबैको साझा जिम्मेवारी भएको बताउँदै चालक, यात्रु, सवारीधनी र सुरक्षा निकायबीच सहकार्य आवश्यक रहेको बताउनुभयो । चाडपर्वमा सम्भावित दुर्घटना न्यूनीकरणका लागि गति नियन्त्रण, लापसे नगर्ने, चालकलाई पर्याप्त आराम दिने, सवारीसाधनको नियमित यान्त्रिक परीक्षण गर्ने र ट्राफिक नियमको पूर्ण पालना गर्ने विषयलाई अभियानले प्राथमिकतामा राखेको छ ।

लमही जेसीजका कार्यक्रम संयोजक शम्भु जिसीको संयोजनमा भएको कार्यक्रमको सहजीकरण केशब दिपक शर्माले गर्नुभएको थियो ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्