सह–पाइलटको छुरा प्रहारपछि पनि भारतीय क्याप्टेनले सम्हाले विमान, जोगिए १७४ यात्रु

दाङ समाचार
दाङ समाचार १६ आश्विन २०८३, शुक्रबार
3 Min Read
Aa

दाङ – दुबईबाट इजरायलको तेलअभिभतर्फ उडेको फ्लाईदुबईको विमानमा भएको गम्भीर घटनाका क्रममा भारतीय पाइलट क्याप्टेन स्मित मच्छरले देखाएको साहसका कारण ठूलो हवाई दुर्घटना टरेको छ ।

फ्लाईदुबईको उडान नम्बर FZ1073 मा बुधबार यात्रा गरिरहेका १७४ यात्रु तथा चालकदलका सदस्यहरू त्यतिबेला ठूलो जोखिममा परेका थिए, जब विमानको ककपिटभित्रै सह–पाइलटले क्याप्टेन मच्छरमाथि कथित रूपमा छुरा प्रहार गरेका थिए। घटनापछि विमान तीव्र रूपमा तल झर्न थालेको थियो ।

गम्भीर रूपमा घाइते भएका क्याप्टेन मच्छरले आफूलाई सम्हाल्दै ककपिटको ढोका खोल्न सफल भएका थिए। ढोका खुलेपछि यात्रु तथा चालकदलका सदस्यहरू ककपिटमा प्रवेश गरी आक्रमणकारी सह–पाइलटलाई नियन्त्रणमा लिन सफल भएका थिए । घटनाका क्रममा विमान करिब १४ हजार फिट तीव्र रूपमा तल झरेको बताइएको छ। त्यसपछि विमानमा रहेका अर्को चालकदल तथा यात्रुहरूको सहयोगमा विमानलाई नियन्त्रणमा ल्याइएको थियो । विमानलाई साउदी अरबको उत्तरपश्चिमी शहर तबूकमा आपत्कालीन रूपमा अवतरण गराइएको थियो ।

गम्भीर घाइते पाइलट अस्पतालमा
घटनामा क्याप्टेन स्मित मच्छर गम्भीर रूपमा घाइते भएका छन । उनलाई साउदी अरबको तबूकस्थित अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । साउदी अरबस्थित भारतीय दूतावासका अनुसार मच्छरको अवस्था स्थिर रहेको छ र उनलाई आवश्यक उपचार भइरहेको छ । भारतीय अधिकारीहरूले उनको स्वास्थ्य अवस्थाबारे परिवार तथा साउदी अधिकारीहरूसँग समन्वय गरिरहेको बताएका छन ।

मोदी र नेतन्याहुले गरे प्रशंसा
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले क्याप्टेन मच्छरलाई ‘हिरो’ भन्दै उनको साहसको प्रशंसा गरेका छन । गम्भीर रूपमा घाइते हुँदासमेत अरूको जीवन जोगाउन उनले देखाएको साहस र दृढताले ठूलो दुर्घटना टारेको मोदीले बताएका छन । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले पनि मच्छरको असाधारण साहसको प्रशंसा गर्दै उनको कार्यले १७४ जनाको ज्यान जोगाउन महत्वपूर्ण भूमिका खेलेको बताएका छन । नेतन्याहुका अनुसार मच्छरले घाइते अवस्थामा समेत प्रतिरोध गर्दै ककपिटको ढोका खोल्न सफल भएका थिए, जसबाट यात्रु र चालकदलले आक्रमणकारीलाई नियन्त्रणमा लिन सके ।

को हुन् क्याप्टेन स्मित मच्छर ?
मुम्बईका क्याप्टेन स्मित मच्छर अनुभवी बोइङ–७३७ पाइलट हुन । उनी फ्लाईदुबईमा आबद्ध हुनुअघि भारतको स्पाइसजेटमा लामो समय काम गरेका थिए । उपलब्ध विवरणअनुसार उनले करिब १५ वर्षको विमानचालन करियरमा हजारौं घण्टा उडान अनुभव हासिल गरेका छन ।
उनले सन् २०२२ मा फ्लाईदुबईमा आबद्ध भएको र यसअघि स्पाइसजेटमा ११ वर्षभन्दा बढी समय काम गरेको विवरण सार्वजनिक भएको छ ।

घटनाको कारणबारे अनुसन्धान जारी
घटनामा सह–पाइलटले किन क्याप्टेनमाथि आक्रमण गरे र विमानलाई कथित रूपमा दुर्घटनातर्फ लैजान खोजे भन्ने विषय अझै स्पष्ट भइसकेको छैन । फ्लाईदुबईले घटनाको वास्तविक कारणबारे अनुसन्धान भइरहेको र समयअगावै कुनै निष्कर्षमा नपुग्न आग्रह गरेको छ । घटनापछि फ्लाईदुबईले इजरायलतर्फका तथा इजरायलबाट हुने आफ्ना उडानहरू अस्थायी रूपमा स्थगित गरेको जनाएको छ । घटनापछि विमानमा रहेका यात्रुहरूलाई सुरक्षित रूपमा अर्को उडानमार्फत तेलअभिभ पुर्‍याइएको थियो ।

केही यात्रुलाई सामान्य चोटपटक लागेको बताइएको छ । ककपिटभित्रै भएको यो असाधारण घटनामा गम्भीर रूपमा घाइते भएर पनि क्याप्टेन मच्छरले ककपिटको ढोका खोल्न सफल हुनु र त्यसपछि यात्रु तथा चालकदलले आक्रमणकारीलाई नियन्त्रणमा लिनुका कारण सम्भावित ठूलो हवाई दुर्घटना टरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्