खेर जाने जैविक पदार्थलाई उत्पादनमूलक उपयोगमा ल्याउने लक्ष्य, दुई सामुदायिक वनमा प्लान्ट सञ्चालनको तयारी

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर १६ आश्विन २०८३, शुक्रबार
2 Min Read
Aa

दाङ – देउखुरीमा खेर गइरहेका जैविक पदार्थलाई उपयोग गरी बायोचार उत्पादन गर्ने उद्देश्यसहित बायोचार प्लान्ट सञ्चालन तथा प्राविधिक क्षमता विकाससम्बन्धी तीनदिने कार्यक्रम बिहीबारदेखि लमहीमा सुरु भएको छ ।

यूएनडीपी नेपालको सहयोगमा लमही नगरपालिका र राप्ती गाउँपालिकाको आयोजनामा कार्यक्रम सुरु भएको हो । हाइड्रो इन्डिया इन्जिनियरिङको प्राविधिक सहकार्यमा सञ्चालन भइरहेको कार्यक्रममा बायोचार प्लान्ट सञ्चालन तथा व्यवस्थापनका विषयमा सहभागीलाई व्यावहारिक र प्राविधिक प्रशिक्षण दिइँदैछ ।

कार्यक्रममा लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले खेर गइरहेका जैविक पदार्थलाई उपयोग गरी बायोचार उत्पादन गर्न सकिने बताइन । बायोचार उत्पादनले जैविक पदार्थको व्यवस्थापनसँगै वातावरण संरक्षण र कृषि उत्पादनमा समेत योगदान पुर्‍याउने उनको भनाइ छ । स्थानीयस्तरमा उपलब्ध स्रोतसाधनको उपयोग गरी उत्पादनमूलक काम गर्न बायोचार प्रविधि प्रभावकारी हुने उनले बताइन ।

राप्ती गाउँपालिकाका कार्यवाहक अध्यक्ष कमलापति चौधरीले जैविक पदार्थको उचित व्यवस्थापन र उत्पादनमूलक उपयोगका लागि बायोचार प्रविधि महत्वपूर्ण रहेको बताइन । स्थापना गरिएका प्लान्टलाई प्रभावकारी र दिगो रूपमा सञ्चालन गर्न स्थानीय समुदाय, सामुदायिक वन तथा सम्बन्धित सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको उनले उल्लेख गरिन ।

उपकरण सञ्चालनदेखि प्लान्ट व्यवस्थापनसम्म प्रशिक्षण
तीनदिने कार्यक्रममा बायोचार प्लान्टमा जडान गरिएका उपकरणको सञ्चालन तथा प्रयोग विधिबारे सहभागीलाई प्रशिक्षण दिइँदैछ । त्यसैगरी बायोचार प्रविधि, यसको उपयोगिता, उत्पादन प्रक्रिया, प्लान्ट सञ्चालन तथा व्यवस्थापनका प्राविधिक पक्षबारे समेत जानकारी प्रदान गरिनेछ ।बायोचारलाई कृषि क्षेत्रमा प्रयोग गर्न सकिने भएकाले यसबाट माटोको गुणस्तर सुधार तथा कृषि उत्पादनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

दुई सामुदायिक वनमा प्लान्ट सञ्चालनको तयारी
राप्ती गाउँपालिका–५ स्थित देउकी सामुदायिक वन र लमही नगरपालिका–७ स्थित कर्री सामुदायिक वनमा बायोचार प्लान्ट स्थापना गरिने भएको छ । दुवै स्थानमा प्लान्टलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने तयारी भइरहेको जनाइएको छ । प्लान्ट सञ्चालनमा आएपछि सामुदायिक वन तथा स्थानीय क्षेत्रमा खेर जाने जैविक पदार्थलाई उपयोग गरी बायोचार उत्पादन गर्न सकिनेछ ।

कार्यक्रममा लमही नगरपालिका र राप्ती गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारी, वन डिभिजन कार्यालयका प्रतिनिधि, सामुदायिक वनका पदाधिकारी, उद्योग वाणिज्य संघका प्रतिनिधिलगायत सरोकारवालाको सहभागिता रहेको छ । कार्यक्रममा वातावरण इञ्जिनिएर अरुण लामाले विषयबस्तु माथि प्रकाश पारेका थिए । सामसुन गिरीले स्वागत मन्तव्य राखेका थिए भने पत्रकार दुख हरण यादवले कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्