दाङ – आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङको आयोजनामा तथा देउखुरी उद्योग वाणिज्य संघ लमही दाङको समन्वयमा आर्थिक ऐन २०८३ ले प्रदान गरेका छुट सुविधा तथा करसम्बन्धी विभिन्न विषयमा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम लमहीमा सम्पन्न भएको छ ।
कार्यक्रममा आर्थिक ऐन २०८३ ले व्यवसायी तथा करदाताका लागि व्यवस्था गरेका विभिन्न छुट तथा सुविधा, कर तिर्ने प्रक्रिया, करसम्बन्धी दायित्व, व्यवसाय सञ्चालनका क्रममा पालना गर्नुपर्ने कानुनी तथा प्रशासनिक व्यवस्थालगायतका विषयमा जानकारी गराइएको थियो ।
कर अधिकृत रेग्मीले व्यवसायीले आफ्नो व्यवसायको प्रकृतिअनुसार राज्यलाई बुझाउनुपर्ने कर, कर विवरण पेश गर्ने प्रक्रिया, करसम्बन्धी कानुनी प्रावधान तथा आर्थिक ऐनले उपलब्ध गराएका छुट र सुविधाका विषयमा जानकारी गराउनुभएको थियो । उहाँले व्यवसायीले समयमै कर विवरण पेश गर्ने, आवश्यक कागजात तथा अभिलेख व्यवस्थित राख्ने र करसम्बन्धी दायित्व पूरा गर्ने विषयमा पनि सचेत हुनुपर्ने बताउनुभएको थियो ।
कार्यक्रममा व्यवसायीहरूले करसम्बन्धी व्यवहारिक समस्या, कर विवरण पेश गर्दा देखिने कठिनाइ, विभिन्न शीर्षकमा लाग्ने कर, छुट सुविधा प्राप्त गर्ने प्रक्रिया तथा कर प्रशासनसँग सम्बन्धित विषयमा जिज्ञासा राखेका थिए ।
व्यवसायीबाट उठेका प्रश्न तथा जिज्ञासाको जवाफ आन्तरिक राजस्व कार्यालय तुलसीपुरका कार्यालय प्रमुख श्रीधर टन्डन र कर अधिकृत उपेन्द्रबहादुर पुनले दिनुभएको थियो । उहाँहरूले व्यवसायीका समस्या र जिज्ञासालाई स्पष्ट पार्दै कर प्रणालीलाई सरल, पारदर्शी र व्यवस्थित बनाउन करदाता र कर प्रशासनबीच नियमित संवाद आवश्यक रहेको बताउनुभएको थियो ।
कार्यक्रममा बोल्दै आन्तरिक राजस्व कार्यालय तुलसीपुरका कार्यालय प्रमुख तथा कार्यक्रमका अध्यक्ष श्रीधर टन्डनले कर तिर्नु व्यवसायीको दायित्व मात्र नभई राज्य निर्माणमा व्यवसायीको महत्वपूर्ण योगदानसमेत भएको बताउनुभयो । उहाँले व्यवसायीले करसम्बन्धी विषयमा अन्योल नराखी आधिकारिक निकायबाट आवश्यक जानकारी लिनुपर्नेमा जोड दिनुभयो ।
टन्डनले करदातालाई करसम्बन्धी जानकारी प्रदान गर्ने, उनीहरूका समस्या र जिज्ञासा सुन्ने तथा कर प्रशासनसँग सम्बन्धित व्यवहारिक कठिनाइलाई समाधान गर्ने उद्देश्यले यस्ता कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले करदाताले समयमै आफ्नो करसम्बन्धी विवरण तथा दायित्व पूरा गरेमा अनावश्यक झन्झट र जरिवानाबाट समेत बच्न सकिने बताउनुभयो ।
त्यस्तै कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै देउखुरी उद्योग वाणिज्य संघ लमहीका अध्यक्ष इश्वर प्रकाश श्रेष्ठले व्यवसायीका लागि करसम्बन्धी ज्ञान अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले व्यवसायीहरू कर तिर्न तयार भए पनि करसम्बन्धी कानुनी व्यवस्था, प्रक्रिया र उपलब्ध छुट सुविधाबारे पर्याप्त जानकारी नहुँदा विभिन्न समस्या आउने गरेको बताउनुभयो ।
अध्यक्ष श्रेष्ठले राज्यले व्यवसायीलाई करको दायरामा ल्याउनेसँगै कर प्रणालीलाई अझ सरल र व्यवसायमैत्री बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले व्यवसायीले पनि आफ्नो व्यवसायलाई व्यवस्थित गर्दै कानुनअनुसार कारोबार गर्ने, आवश्यक कागजात तथा लेखा अभिलेख सुरक्षित राख्ने र तोकिएको समयमा करसम्बन्धी दायित्व पूरा गर्नुपर्ने बताउनुभयो ।
उहाँले आर्थिक ऐन २०८३ ले व्यवसायीलाई उपलब्ध गराएका छुट तथा सुविधाबारे जानकारी गराउने उद्देश्यले आयोजना गरिएको कार्यक्रमले लमही क्षेत्रका व्यवसायीलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास व्यक्त गर्नुभयो । करसम्बन्धी कुनै अन्योल वा समस्या भएमा सम्बन्धित निकायसँग समन्वय गरी समाधान खोज्नुपर्ने उहाँको भनाइ थियो ।
अध्यक्ष श्रेष्ठले स्थानीय उद्योगी तथा व्यवसायीका समस्या समाधानका लागि देउखुरी उद्योग वाणिज्य संघले सम्बन्धित सरकारी निकायसँग निरन्तर समन्वय गर्दै आएको बताउँदै आगामी दिनमा पनि व्यवसायीलाई लक्षित गरी यस्ता सचेतनामूलक तथा अन्तरक्रियात्मक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा लमही क्षेत्रका करिब डेढ सय व्यवसायीको सहभागिता रहेको थियो । कार्यक्रममा देउखुरी उद्योग वाणिज्य संघ लमहीका निवर्तमान अध्यक्ष कमलजंग सिंह ठकुरी, पूर्व अध्यक्ष खगेश्वर खनाल, होटल व्यवसायी संघ लमहीका अध्यक्ष हेमन्तप्रसाद पाण्डे, लगायत उद्योगी, व्यवसायी तथा सरोकारवालाको उपस्थिति रहेको थियो ।
कार्यक्रमले आर्थिक ऐन २०८३ मा व्यवस्था गरिएका करसम्बन्धी प्रावधान, छुट तथा सुविधाबारे व्यवसायीलाई प्रत्यक्ष जानकारी गराउनुका साथै करदाता र कर प्रशासनबीचको सम्बन्धलाई थप प्रभावकारी बनाउन सहयोग पुगेको सहभागी व्यवसायीहरूले बताएका छन् । आन्तरिक राजस्व कार्यालय तुलसीपुरका कार्यालय प्रमुख श्रीधर टन्डनको अध्यक्षता तथा देउखुरी उद्योग वाणिज्य संघ लमहीका अध्यक्ष इश्वर प्रकाश श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा आन्तरिक राजस्व कार्यालय तुलसीपुरका कर अधिकृत चन्द्रप्रकाश रेग्मीले आर्थिक ऐन २०८३ ले प्रदान गरेका छुट सुविधा तथा करसम्बन्धी विभिन्न विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्