दाङ – लमही सिटी क्लबको आयोजनामा घर संसार फुटसल कप २०८३ शुक्रबारदेखि लमहीमा सुरु भएको छ । प्रतियोगिताको लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री रामजीप्रसाद घिमिरेले उद्घाटन गरेका हुन ।
क्लबका अध्यक्ष गम्भीर श्रेष्ठको अध्यक्षतामा भएको उद्घाटन समारोहमा मन्त्री घिमिरेले खेलकुदका माध्यमबाट नेपाललाई विश्वभर चिनाउन सकिने बताए । उनले युवालाई खेलकुदमार्फत अनुशासित, स्वस्थ र जिम्मेवार बनाउन सकिने भएकाले सरकारले यस क्षेत्रलाई प्राथमिकतामा राखेको स्पष्ट पारे ।
खेलकुदले युवाको क्षमता विकास गर्नुका साथै देशको पहिचान स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो । स्थानीयस्तरमा हुने यस्ता प्रतियोगिताले खेलाडीको प्रतिभा उजागर गर्दै उनीहरूलाई थप अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।
उद्घाटन समारोहमा लमही नगरपालिकाका पूर्व नगर प्रमुख कुलबहादुर केसी, लमही नगरपालिका–५ का वडाध्यक्ष ओमप्रसाद सुवेदी र देउखुरी उद्योग वाणिज्य संघका महासचिव सुदीप पाण्डेलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
प्रतियोगितामा दाङसहित बुटवल, नेपालगन्ज, काठमाडौंलगायत विभिन्न स्थानका २२ वटा टिम सहभागी छन् । असोज २५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उद्देश्य स्थानीय तथा बाह्य क्षेत्रका खेलाडीलाई एउटै मैदानमा प्रतिस्पर्धा गराउँदै फुटसल खेलको विकास र विस्तार गर्नु रहेको आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेता टिमले एक लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेता टिमले ५० हजार रुपैयाँ पाउनेछ । त्यसैगरी उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई समेत पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिताले स्थानीय खेलाडीलाई बाहिरी जिल्लाका खेलाडीसँग प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्नुका साथै खेलाडीबीच अनुभव आदानप्रदानमा सहयोग पुग्ने आयोजकको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्