यहि मंसिर ४ गते प्रदेश र प्रतिनिधि सभा निर्वाचन हुँदैछ । देशका सबै राजनतिक दल निर्वाचन केन्द्रित भएर चुनावी मैदानमा उत्रिएका छन । कतै गठबन्धन बनेका छन् भने कतै एक्ला एक्लै एक अर्कासंग भिड्दै छन । यसैविच दाङ क्षेत्र नम्बर १– ‘ख’ मा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि अनुराग खड्का यस क्षेत्रमा गठबन्धनको तर्फबाट साझा उम्मेदवार बन्नु भएको छ । युवा नेता खड्कालाई नेकपा माओवादीकेन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा लगायत दलको समर्थन रहेको छ । हामीले गठबन्धनबाट साझा उम्मेदवार बनेका उनै युवा नेता अनुराग खड्कासंग कुराकानी गरेका छौं ।
१– अनुराग जि, यहाँलाई स्वागत छ ।
धन्यवाद, साथै नेपालीजनको दोस्रो ठुलो चाड दीपावलीको हार्दिक मंगलमय शुभ कामना व्यक्त गर्दछु ।
२– चुनाव नजिकै आइसक्यो, कत्तिको व्यस्त हुनुहुन्छ ?
हो, अब चुनाव आउँन थोरै दिन मात्र बाँकी छ, अहिले कार्यकर्ता भेटघाट, सम्पर्क कार्यालय उद्घाटन गर्दै हिडेका छौं । चुनावी माहोल एकदमै तातिएको छ । अब तिहार पछि टोल समिति गठन गर्दै जाने भन्ने कुरा छ । हरेक वडामा टिम गठन गर्ने, ताकि उक्त टिमले वडामा सबै कुराको व्यवस्थापन गरोस, त्यसैगरी युवा परिचालन भनेर पनि समिति गराएका छौं, यसैगरि तत्कालका लागि हामीले चुनाव लक्षित कार्यक्रमहरु गर्दै गएका छौं ।
३– तपाई दाङ–१ ‘ख’ को उम्मेदवार, यो क्षेत्रको कसरी विकास गर्न सकिन्छ ? केछ योजना ?
खासगरी दाङ– १ नम्बर क्षेत्र धेरै सम्भावना भएको क्षेत्र हो । म निर्वाचित भए भने यो क्षेत्रको लागि मास्टर प्लान अनुशर काम गर्ने योजना बनाएको छु । यो सम्भावनालाई यथार्थमा उतार्न सक्नु मुख्य चुनौती पनि छ । यदि यथार्थमा उतारेर लागु गर्न सकियो भने १ नम्बरका जनता लाभान्वित हुनेछन । घना जंगल क्षेत्र छ, वन जंगललाई आर्थिक आयआर्जन गर्ने गरि स्रोत साधनका रुपमा प्रयोग गर्न सकिन्छ । देउखुरीको काखमा बाह्रै महिना बग्ने राप्ती नदि छ, जो र्याफ्टिंगका लागि उपयुक्त छ । किसानका खेतबारीमा बाह्रै महिना पुगाउन सकिने प्रशस्त मात्रामा पानी छ, यसको लागि बिशेष योजना बनाएर काम गर्न सकिन्छ । त्यस्तै राप्ती नदीको पानीबाट विद्युत निकाल्न सकिन्छ । राप्तीमा बगेको पानीबाट विद्युत निकालेर यस क्षेत्रमा वितरण गरि लोडसेडिंग मुक्त क्षेत्र गराउन सकिन्छ । कृषिको लागि यो क्षेत्र प्रचुर सम्भावना भएको खेतीयोग्य जमिन छ । बाख्रा पालन, कुखुरा पालन जस्ता सम्भावना देखेको छु यो क्षेत्रमा । धेरै वैकल्पिक माध्यमहरु छन् यो क्षेत्रलाई समृद्द गराउनका लागि, तर त्यो अवशर पाउनु नै मुख्य कुरा हो ।
४– तपाईप्रति युवा पिंढीको क्रेज बढी देखिन्छ नि !
यो त हुनु नै थ्यो र हो पनि । किनभने अहिले देशले युवा पुस्ता खोजिरहेको छ । मेरो भनाईको अर्थ अन्यथा नलागोस तर यो सत्य नै हो । अब देश हाक्ने नै युवाले हो । बुढापाका अग्रज नेताहरुले ‘व्याक साईडमा’ बसेर सल्लाह दिने हो । युवा बर्गले गलत गर्दा खबरदारी गर्ने हो । वडा देखि केन्द्र सम्म ठाउँ मात्र ओगट्न खोज्ने काम गर्नु हुँदैन, अब हरेक तहमा युवालाई प्राथमिकता दिनु पर्छ अनि मात्र देशले न्याय पाउनेछ । म जहाँ जान्छु त्यहाँका युवाहरु उत्साहित भएको पाउछु । “तपाई उम्मेदवार हुनु भनेको युवालाई अब अगाडी बढ्न दिनु पर्छ र कसैले पनि रोक्नु हुँदैन भन्ने संदेश दिएको छ, अग्रिम जितको शुभ कामना” भन्दै सपोर्ट गर्नु हुन्छ । म पनि हल्लै हल्लाको पछि लागेर प्रदेशको टिकट लिएर आएको होइन, पढे लेखेको युवा हुँ, देश र जनताको माया मसंग पनि छ, त्यसैले एक पटक मलाई जनताले अवश्य पनि साथ दिनु हुनेछ भन्ने कुरामा म विश्वस्त छु ।
५– चुनाव नजित्दा सम्म ‘यो गर्छु त्यो गर्छु’ भनेर नेताले आश्वासन बाड्छन भन्ने गुनासो गर्छन त जनताले ?
हेर्नुस, म पहिलो पटक चुनावमा होमिएको छु । गर्न सक्ने कामको लागि मात्र बोलौं भन्छु म । उसै पनि “नेपाली कांग्रेस जे बोल्छ त्यो गर्छ जे गर्छ त्यो मात्र बोल्छ” भन्ने कुरा तपाईलाई जानकारी नै होला हो त्यहि पार्टीको एउटा चेतनशील युवा हुँ म । अर्को कुरा जनताले जे बोलेका छन् त्यो एकदम सहि कुरा पनि हो किनभने हामीले जिताएर यस अघि पठाएका जनप्रतिनिधिले के–के काम गरे त् ? समिक्षा गर्ने बेला आएको छ । हिज सत्ता र शक्तिमा हुँदा चिल्ला गाडीमा कैले पुर्व कहिले पश्चिम हिन्नै ठिक्क भयो अहिले आएर फेरी जनतालाई ढाट्ने र भोट तान्ने ? के जनता भोटका लागि मात्र प्रयोग हुने अस्त्र हुन ? जनताको मत पाएर निर्वाचित भएपछी जनताको कामहरु गर्नु प्रदैन ? सावधान रहनु होला, यस्ता प्रवृति भएका मान्छेहरु फेरी उम्मेदवार बनेर तपाईका घरदैलोमा आएका छन । कम्तिमा पनि प्रश्न गर्ने हिम्मत गर्नुहोस्, हिज जितेर गएर के-के काम गर्नु भयो भनेर । जनताको काम गर्छु भनेर सपथ खाएर गएका जनप्रतिनिधिले काम नगरेपछि जनताले गुनासो त् गरिहाल्छन नि ।
६– अन्त्यमा केहि भन्न चाहनुहुन्छ कि ?
मंसिर ४ गते हुन लागेको प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा हामी अन्य दलहरुसंग गठबन्धन गरेर उम्मेदवार बनेका छौं । गठबन्धनका सबै उम्मेदवारलाई मतदान गरेर विजयी गराउन सबै नेता, कार्यकर्ता, मतदाताज्युहरुमा मेरो विनम्र अनुरोध छ । कुरा हैन काम गर्ने मान्छे चिनेर भोट दिनु होला भन्न चाहान्छु, आफ्नो लागि भन्दा जनताको लागि केहि गर्छु भनेर राजनीतिमा होमिएको एक युवा हुँ, सबैले राम्रोसंग चिनेर, बुझेर साथ सपोर्ट गर्नुहुने छ भने आशा लिएको छु र अन्त्यमा नेपालीको घर–घरमा भित्रिएको महान पर्व शुभदीपावलीको सबैमा शुभकामना व्यक्त गर्न चाहान्छु । धन्यवाद जय नेपाल।

प्रतिक्रिया दिनुहोस्