काठमाडौं – बागमती प्रदेशकी सन्तोषी श्रेष्ठ र त्रिभुवन आर्मी क्लबका मुकेश पालले ४४औं राष्ट्रिय एथ्लेटिक्स प्रतियोगितामा १५ सय मिटर दौडतर्फ शुक्रबार स्वर्ण जितेका छन् ।
तीन दिने प्रतियोगिताको पहिलो दिन १५ सय मिटर दौडमा महिला र पुरुषको फाइनल स्पर्धा गराइएको थियो । चोटबाट उम्किन प्रयासरत सन्तोषीले ४ मिनेट ४२.८ सेकेण्डमा निर्धारित दूरी पूरा गरी स्वर्ण जितेकी हुन् ।
१९औं दक्षिण एसियाली खेलकुदकी कीर्तिमानी स्वर्ण विजेता सन्तोषी चार महिनायता चोटग्रस्त थिइन् । प्रतिस्पर्धीको तुलनामा अब्बल देखिए पनि उनले राष्ट्रिय कीर्तिमान तोड्न भने सकिनन् ।
१५ सय मिटर महिलातर्फ आर्मीकी सरस्वती भट्टराईको नाममा छ । उनले सन् २०१६ को रियो ओलम्पिकमा ४ मिनेट ३३.९४ सेकेण्डको टाइमिङ निकालेकी थिइन् ।
उनले त्रिभुवन आर्मीकी पूर्णलक्ष्मी न्यौपानेलाई करिव १६ सेकेण्डले पछि पारिन् । पूर्णलक्ष्मीले ४ मिनेट ५८.२ सेकेण्डमा दूरी पूरा गरी रजत जितिन् । एपीएफकी आशा राउतले ५ मिनेट ५.९ सेकेण्डमा दूरी पूरा गरी कांस्य जितिन् ।

प्रतिक्रिया दिनुहोस्