दाङ – अबको तीन/चार दिनभित्र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् रहने भवन मर्मतको काम सकिनेछ । राप्ती प्राविधिक शिक्षालयले प्रशिक्षणको लागि प्रयोग गर्दै आएको भवनलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बनाउन थालिएको छ ।
भवनको भित्री कोठा मर्मत गर्ने, शौचालय थप गर्ने, मन्त्रिपरिषद् बैठक बस्ने कक्ष तयार पार्ने काम चलिरहेको छ । प्रदेशको प्रशासनिक केन्द्र निर्माणको लागि तत्काल मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मुख्यमन्त्रीको निवास, प्रमुख सचिवको निवास व्यवस्थापनको कामले तीब्रता पाएको छ ।
मन्त्रिपरिषद्को कार्यालय तत्काल तयार पार्ने योजनाअन्तर्गत काम भइरहेको प्रदेश पूर्वाधार विकास प्राधिकरणका इञ्जिनियर विष्णु केसीले जानकारी दिनुभयो । ‘हामीलाई दिइएको जिम्मेवारीअन्तर्गतका काम तीब्ररुपमा भइरहेका छन् । पहिले नै भएका भवनलाई सामान्य मर्मत गरेर मन्त्रालय बनाउन थालेका हौं’– इञ्जिनियर केसीले भन्नुभयो– ‘मन्त्रालय र अन्य कार्यालय स्थापना गर्न कुनै समस्या छैन । प्रदेशका सबैजसो प्रशासनिक संरचना यहाँ अटाउँछन् ।’
मुख्यमन्त्री कुलप्रसाद केसी स्थायी राजधानीमा आएर मन्त्रालय तथा कार्यालय व्यवस्थापनको कामको निगरानी गरिरहेको प्रेस संयोजक मानसिंह विश्वकर्माले जानकारी दिनुभयो । ‘अबको दुई÷तीन दिनभित्र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्थायी राजधानीमा सर्छ । त्यसपछि अर्थ मन्त्रालय र कानुन मन्त्रालय पनि सँगै आउँछन्’– उहाँले भन्नुभयो– ‘प्रदेशसभाबाट भएको निर्णय कार्यान्वयन गर्ने जिम्मेवारी सरकारको हो । त्यही भएर राजधानीसँग जोडिएका काम अघि बढेका हुन् ।’
राप्ती प्राविधिक शिक्षालयको भौतिक पूर्वाधार र १७ विगाह १९ कट्ठा चार धुर जग्गा प्रदेश सरकारलाई भोगचलनको लागि स्वीकृति दिइएको थियो । यही स्थानलाई मुख्य केन्द्र मानेर प्रदेश सरकारले राजधानीको प्रशासनिक केन्द्र निर्माणको काम थालनी गरेको हो । यहाँ रहेको शिक्षालयलाई सरस्वती माध्यमिक विद्यालय गोवरडिहा सारिएको छ । शिक्षालय गोवरडिहाबाट सञ्चालनमा छ । २०७७ चैत १ मा बसेको नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले भौतिक पूर्वाधार र जग्गा भोगचलन सम्बन्धी निर्णय गरेको थियो ।
प्रदेशसभा सदस्यको शपथ र सभा सञ्चालनको तयारी
प्रदेशसभा सदस्यको शपथ र सभा सञ्चालनको तयारी शुरु भएको छ । निर्माणाधीन प्रदेशसभा भवनभित्रको व्यवस्थापनको काम अन्तिम चरणमा छ । पाँचवर्षे कार्यकालका लागि चुनिएका प्रदेशसभा सदस्यको शपथ र सभा सञ्चालन स्थायी राजधानीमा निर्माण भएको प्रदेशसभा भवनबाट गर्ने योजना सरकारले बनाएको छ । यसका अतिरिक्त नयाँ बन्ने मुख्यमन्त्री र मन्त्रीहरुको पनि शपथग्रहण स्थायी राजधानीमा गर्ने तयारी छ ।
प्रदेशसभाको पाँचवर्षे कार्यकाल सकिएपछि नयाँ कार्यकालका लागि निर्वाचन पनि भइसकेको छ । अब नयाँ बन्ने मुख्यमन्त्री र मन्त्रीहरुको शपथ, प्रदेशसभा भवनमा सदन सञ्चालन गर्ने जिम्मेवारी प्रदेश सरकारको भएको स्वास्थ्यमन्त्री इन्द्रजीत थारुले जानकारी दिनुभयो । ‘प्रदेशसभाको निर्णय हो । प्रदेशसभाले निर्णय गरिसकेपछि कार्यान्वयन गर्ने जिम्मेवारी सरकारको रहन्छ । प्रदेश सरकारका सबै कामकाजहरु शुरु गर्ने भनेर तयारी भइरहेको छ’– उहाँले भन्नुभयो– ‘मुख्यमन्त्रीको शपथग्रहण, प्रदेशसभा सदस्यहरुको शपथग्रहण गर्ने दायित्व र जिम्मेवारी प्रदेश सरकारको हो ।’
२०७७ साल असोज २० गते प्रदेशसभाको दुई तिहाई बहुमतले प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी राप्ती उपत्यका देउखुरी तोक्ने निर्णय ग¥यो । सो निर्णयको आधारमा प्रदेश राजधानी कार्यान्वयनको बाटो खुल्यो । प्रदेश सरकारले राजधानीसँग जोडिएका थुप्रै काम अघि बढायो । पछिल्लो चरणमा प्रदेश सरकार मातहतमा रहेका कर्मचारीहरु भने राजधानी क्षेत्रमा नआउने अडानमा देखिन्छन् । विभिन्न कर्मचारी ट्रेड युनियनलगायत पेशागत संघसंस्थाको आडमा कर्मचारीहरुले राजधानीको विषयमा राजनीति गरेका छन् ।
‘यसमा राजनीतिक दाउपेच छ , तर मुख्य कुरा के छ भने प्रदेशसभाको दुई तिहाई बहुमतले निर्णय गरेको विषयलाई प्रदेश सरकारले कार्यान्वयन गर्छ’– स्वास्थ्यमन्त्री थारुले भन्नुभयो– ‘प्रदेश राजधानीको निर्णय उल्ट्याउन कसैले पनि सक्दैन । पटक–पटक प्रदेश राजधानी निर्धारण गरिराख्ने विषय पनि होइन ।’ यसअघि दुईवटा मन्त्रालय स्थापना भइसकेका छन् । कर्मचारीहरु बस्न मन नगरेपछि सुनसान जस्तै बनेका मन्त्रालयमा पछिल्ला दिनमा केही चहलपहल भने देखिन थालेको छ । शुरुमा पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्रालय स्थापना भयो । बुटवलमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् र अन्य प्रशासनिक कार्यालय भएपछि यहाँ सरेको मन्त्रालय सुनसान बन्यो । न मन्त्री बस्थे । न त कर्मचारी नै । त्यसपछि स्वास्थ्य मन्त्रालय स¥यो ।
सिसहनियाँमा रहेको वडा कार्यालयमा मन्त्रालय बस्यो । केही समय मन्त्री र सचिव, अन्य कर्मचारी बसे । बीचमा यो मन्त्रालय पनि सुनसान बन्यो । पछिल्लो केही महिनादेखि भने मन्त्रालयको सबै काम यहींबाट थालियो । मन्त्रालयसँग जोडिएका निर्देशनालय तथा विभागहरुका कार्यालय स्थापना हुने क्रम पनि शुरु भएको छ । प्रदेशसभाबाट भएको निर्णय कार्यान्वयनमा सरकारले देखाएको चासो निर्णायक बनाउन र प्रदेश राजधानी कार्यान्वयनको विषयमा सबैको साझा योगदानको आवश्यकता पर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्