वन क्षेत्रको संरक्षणमा सबै मिलेर लाग्नु पर्छ – वन मंत्री चौधरी

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर १० चैत्र २०७९, शुक्रबार
4 Min Read
Aa

दाङ– लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्री दुर्गाप्रसाद चौधरीले नेपालमा रहेका वन क्षेत्र अतिक्रमण हुने तथा नासिदै गएकाले ती क्षेत्रको संरक्षणमा सबै मिलेर लाग्नु पर्ने बताउनु भएको छ । डिभिजन वन कार्यालय दाङ (देउखुरी) लमहीले आयोजना गरेको वनसंग सेलिब्रेटी कार्यक्रममा सहभागी हुन् लमही आउनु भएका मन्त्री चौधरीले नेपाली संस्कृतिको पहिचान गर्न तथा जैविक बिबिधताको संरक्षणका लागि भएपनि सबै तह र तप्काबाट वनक्षेत्र जोगाउन लाग्नु पर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘वनक्षेत्र मासिदै गएका छन्, वन्यजन्तु, चराचुरुङ्गीका लागि मात्रै नभएर मानव जिवनको लागि पनि वन जोगाउनु जरुरी भएको छ ।’ यसैगरी वन तथा वातावरण मन्त्री चौधरीले वनक्षेत्र संगसंगै सीमसार क्षेत्रपनि दोहन भइरहेकाले सीमसार संरक्षणमा ध्यान दिन जरुरी भएको बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय कलाकार कमल गाउँलेले वनमा डढेलो लागेमा नियन्त्रण गर्ने अभ्यास बारे जानकारी दिदैँ, डढेला नियन्त्रण सम्बन्धी समुदायलाई अभिनय मार्फत सन्देश दिनुभएको थियो । डिभिजन वन कार्यालय दाङ (देउखुरी) लमहीका डिभिजनल वन अधिकृत राजु क्षेत्रीको अध्यक्षता एवम् लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्री दुर्गाप्रसाद चौधरीको प्रमुख अतिथिमा सम्पन्न कार्यक्रममा लुम्बिनी प्रदेश सांसद सरिता पुन, सीता चौधरी, दाङका प्रमुख जिल्ला अधिकारी सुशिल वैद्य, सशस्त्र प्रहरी बल नेपाल नं. २९ हेक्वा ज्वालामाइ गण भालुवाङ्का प्रमुख गोपाल श्रेष्ठ, सशस्त्र प्रहरी बल नेपाल नं. ४१ रिर्जभ गण कपिलवस्तु (अर्जुनखोलाका प्रमुख सुशील पराजुली, राष्ट्रिय अनुसन्धान दाङका प्रमुख केशव न्यौपाने, अजम्मरी सामुदायिक वनका अध्यक्ष पवन रिजाल, उपाधयक्ष रवी श्रेष्ठ, कोषाध्यक्ष तेजबहादुर विक लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजिकरण राष्ट्रिय कलाकार कमल गाउँलेले गर्नुभएको थियो । कलाकार कमल गाउँले र शुस्मा ग्रेसीले सचेतना मुलक गीत प्रस्तुत गर्नु भएको थियो ।

सचेतना अभियान सञ्चालन
डिभिजन वन कार्यालय दाङ (देउखुरी) लमहीले वन डढेलो निभाउनका लागि सप्ताहव्यापी सचेतनामूलक अभियान सञ्चालन गरेको छ । वन कार्यालयले विभिन्न सामुदायिक वन उपभोक्ता समितिसँग समन्वय गरी सचेतनामूलक अभियान सञ्चालन गरेको हो ।

डिभिजन वन कार्यालय दाङ (देउखुरी) लमहीका डिभिजनल अधिकृत राजु क्षेत्रीले गतवर्ष वनमा आगलागीका घटना नभएपनि सचेतना अपनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले आगलागीको मौसम सुरु भइसकेको र आगलागीका जोखिम रहेकाले सचेतनामूलक अभियान चलाइएको जानकारी दिनुभयो ।

वन डढेलो नियन्त्रण साझा चुनौती भएकाले सबै मिलेर यसको सामना गर्नुपर्ने बताउँदै डिभिजनल प्रमुख क्षेत्रीले वन डढेलो लागेको देखिएमा आगो निभाउन जुट्न र नजिकको वन तथा प्रहरीमा खबर गरी जिम्मेवार नागरिकको कर्तव्य निर्वाह गर्न आग्रह गर्नुभयो । वन डढेलोले तापक्रम बढाउने, चराचुरुङ्गी तथा वन्यजन्तु लगायत रुख बिरुवा जलेर नष्ट हुने हुँदा वनमा जानीजानी डढेलो लगाउने कार्यलाई गम्भीर अपराधमानी फौजदारी कसुरमा राखिएको छ ।

वन जङ्गलमा डढेलो लगाउनेलाई कानूनी कारबाही हुने भएकाले त्यस बारेमा सर्वसाधारणलाई सचेत गराउन जरुरी छ । वन ऐन २०७३ बमोजिम डढेलो लगाउने लाई तीन वर्षसम्म कैद र ६० हजार रुपियाँ जरिवाना हुने कानूनी व्यवस्था रहेको डिभिजनल प्रमुख क्षेत्रीले बताउनुभयो । यसैगरी सब डिभिजन वन कार्यालय बेलाले डढेलो नियन्त्रण अभ्यास गरेको छ । सप्ताहव्यापी सचेतना कार्यक्रम अन्तर्गत गत सोमबार त्रिशक्ति सामुदायिक वन उपभोक्ता समितिसँगको समन्वयमा वन डढेलो नियन्त्रणको अभ्यास गरेको हो ।

डढेलो लागेको बेला पातपतिङ्गर सरसफाइ देखि अपनाउन पर्ने विधिबारेमा अभ्यास गरिएको बेला सब डिभिजन वन कार्यालयका अधिकृत पुष्कर विकले बताउनुभयो । उहाँले वन डढेलो नियन्त्रण गर्न वन कार्यालयले मात्रै गर्न नसक्ने भएकाले यसका लागि उपभोक्ता समूह, सामुदायिक वन महासंघ र स्थानीयवासीको महत्वपूर्ण भूमिका आवश्यक भएको जानकारी दिनुभयो । वन अधिकृत विकले वन डढेलो नियन्त्रण गर्न आफ्नै नेतृत्वमा वन रक्षकको वन डढेलो नियन्त्रण दस्ता’ टोली तयार गरिएको समेत बताउनुभयो ।

No description available.

No description available.

No description available.No description available.

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्