दाङ – राप्ती गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । पालिकाले कृषि एम्बुलेन्स संचालन ल्याएसंगै यहाँका कृषकलाई उत्पादन गरेका कृषि उपजहरुलाई बजारसम्म लैजान सहज हुने भएको छ । साथै पालिकाले वडा नम्बर ८ सिसहनियाँ नयाँबजारमा तरकारी संकलन तथा बिक्री केन्द्र पनि स्थापना गरेको छ । अब कृषकका खेत खेतमा कृषि एम्बुलेन्स पुग्ने छ र कृषकले उत्पादन गरेका तरकारी संकलन तथा बिक्रि केन्द्रसम्म ढुवानी गर्ने छ ।
बिगौ बिगाहमा तरकारी खेति गर्ने कृषकहरुलाई ढुवानी गर्ने साधन नहुँदा धेरै समस्या हुने गरेको थियो, अब उक्त समस्या हटेको राप्ती गाउँपालिका–४ का कृषक खुशीराम थारुले बताउनु भयो । घरपरिवार सबैले दिनभरि बोक्दा पनि नसकिने तरकारी अब एम्बुलेन्सले एकै खेपमा लैजाने भएपछि सहज भएको छ’– थारुले भन्नु भयो । वडा नम्बर ३ का कृषक गोताराम चौधरीले पनि करिव १८ कट्ठामा बिभिन्न जातका तरकारी रोप्नु भएको छ ।
अहिले उहाँको खेतबारीमा लौका, काँक्रा, करेला, भिंडी तयारी अवस्थामा छ, राम्रो फलेको छ तर ढुवानी गरेर बजारसम्म लैजान समस्या भएको थियो । कति तरकारी टिपेर घर लिएर राखेको कुहिएको छ भने केहि बजार लगेर बिक्रि गरेको उहाँको भनाई छ । आफै बोकेर बजारसम्म लैजान गाह्रो छ, सार्वजनिक गाडीमा लैजाँदा भाडा महँगो भन्छन, त्यहि भएर मान्छेलाई मजुरी दिएर बारीबाट बजारसम्म लग्ने गरेको थिए अब सजिलो हुने भयो’– गोतारमले भन्नु भयो ।
राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले कृषकहरूको समस्यालाई मध्यनजर गर्दै तरकारी संकलन तथा बिक्री केन्द्र र कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको बताउनु भयो । कृषकले उत्पादन गरेका तरकारी सहि समयमा बजार नपुग्दा कृषकले व्यहोर्नु परेको क्षतिलाई हाम्मीले गम्भीर रुपमा लिएकाछौं, अब छिट्टै बजारीकरणका लागि पनि पहल गर्ने छौं’– अध्यक्ष विष्टले भन्नु भयो ।
लुम्बिनी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास मंत्री इन्द्रजित थारुले देउखुरी तरकारीको पकेट क्षेत्र भएको भन्दै कृषकका सवालमा राज्य गम्भीर हुन आवश्यक रहेको बताउनु भयो । देउखुरीमा भएका चारवटै पालिकाले कृषि एम्बुलेन्स संचालन गर्न सके यहाँका कृषकले लामो समय देखि ढुवानीमा झेल्दै आएका समस्याहरु समाधान हुने उँहाले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्