हिरासतको भित्ता फोड्ने देखि हत्कडी सहित भाग्नेहरु प्रहरी नियन्त्रणमा

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर २८ जेष्ठ २०८०, आईतवार
3 Min Read
Aa

काठमाण्डौ – जिल्ला प्रहरी कार्यालय धनुषाको प्रहरी प्रमुख भएर एसपी विश्वराज  खड्का धनुषा गएको मात्र ६ महिना भएको छ । ६ महिनाको अवधिमा उहाँले उल्लेख्य काम गरेर त्यहाँका स्थानीयको मन जित्नु भएको छ ।

हिरासत कक्षको भित्ता फोडेर भाग्ने देखि लिएर हातमा लगाएको हत्कडी सहित फरार भएका कैदी र आरोपीत व्यक्तिलाई पक्राउ गर्न समेत उहाँ सफल हुनु भएको छ । जिल्लामा अवाञ्छित गतिविधि गर्ने जो कोहि पनि कानून भन्दा माथि नहुने भन्दै त्यस्ता व्यक्तिलाई ठाउँको ठाउँ कारबाही गर्ने गरेको उहाँको भनाई छ ।

धनुषाको हिरासतमा रहेका ७ जना कैदीहरु, जो केहि महिना अगाडी भित्ता फोडेर भागेका थिए। कोहि हातमा लगाएको हत्कडी फुत्काएर भागेका थिए । तिनै कैदी र आरोपीलाई ७२ घण्टा बित्न नपाउदै एसपी खड्काले नियन्त्रणमा लिन सफल हुनु भयो ।

जिल्लामा हुने चोरी, तस्करी, हत्या, आतंक, बलात्कार जस्ता अपराधलाई न्युनिकरण गर्न र नागरिकको सुरक्षाका लागि धनुषा प्रहरीलाई चौविसै घण्टा ड्युटीमा राख्ने गरिएको छ । आपराधिक क्रियाकलापमा संलग्नहरुको विरुद्द एसपी खड्का आक्रामक रुपमा प्रस्तुत हुँदै आउनु भएको छ । उहाँको यो आक्रमक शैलीले गर्दा अघिल्लो वर्षको तुलनामा यो वर्ष यस्ता तत्वहरु घटेर गएका छन । जिल्ला प्रहरी कार्यालय धनुषाले विशेष सुरक्षा योजना बनाएर चोर, तस्करहरु धमाधम पक्राउ गरिरहेको छ ।

गत वर्षमा १८३ जना मात्र फरार प्रतिवादी पक्राउ परेका थिए भने एसपी खड्का धनुषा जिल्लाको प्रहरी प्रमुख भएर गएको ६ महिनामै ७०९ जना फरार प्रतिवादी पक्राउ परेका छन । अदालतबाट कैद सजायको फैसला भएर पनि खुलेयाम गाउँघरमा निर्धक्कसंग घुमफिर गरिरहेका आरोपीहरु धमाधम पक्राउ पर्न थालेपछि स्थानीय खुशी भएका छन ।

त्यस्तै जिल्लामा राजश्व संकलनमा पनि एसपी खड्काको भूमिका तारिफ योग्य भएको त्यहाँका उद्योगी व्यवसायीहरुको भनाई छ । छिमेकी देश भारतबाट राजश्व छलेर नेपाल भित्र्याउने समानहरुमा कडाई गर्न थालेपछि त्यहाँका स्थानीय व्यापारीहरु खुशी भएका हुन ।

जिल्ला प्रहरी कार्यालय धनुषाले चालु आर्थिक वर्षमा राजश्व संकलनका लागि पाएको लक्ष्य जेठ महिनामै पुरा गरेको छ । यो आर्थिक वर्ष (असार मसान्त) सम्म जिप्रका धनुषाले ७ करोड ५० लाख राजश्व संकलन गर्ने लक्ष्य पाएको थियो तर एसपी खड्का नेतृत्वको प्रहरीले ६ महिनामै ७ करोड ६२ लाख ७५ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । राजश्व संकलनको लक्ष्य  जिप्रका धनुषाले समयअगावै पुरा गरेको छ ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय धनुषामा २६१५ वटा मिटरव्याजी पिडितको उजुरी परेका थिए, ति पिडितको उजुरीका आधारमा पिडक र पिडितलाई संगै राखेर सहजीकरण गर्दै पिडितलाई न्याय दिने काम एसपी खड्काले गर्नु भएको छ ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्