दाङ – देउखुरी उद्योग वाणिज्य संघ लमहीका नवनिर्वाचित पदाधिकारीहरुलाई नेपाल उद्योग वाणिज्य महासंघले स्वागत तथा सम्मान गरेको छ । महासंघले आयोजना गरेको एक कार्यक्रममा सहभागी हुन काठमाण्डौ पुगेको देउखुरी उद्योग वाणिज्य महासंघको चौध सदस्यीय टोलीलाई महासंघले भव्य स्वागत तथा सम्मान गरेको हो ।
भर्खरै निर्वाचित भएका उद्योग वाणिज्य संघका पदाधिकारीले आगामी तीन वर्ष भित्र के-कस्ता कामहरु गर्ने, ति काम कसरी सम्पन्न गर्न सकिन्छ भन्ने बारे छलफल भएको देउखुरी उद्योग वाणिज्य संघ लमहीका अध्यक्ष कमलजंग सिंह ठकुरीले जानकारी दिनु भयो ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष तथा जिल्ला नगरका सभापति सुरजकृष्ण वैद्यको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण नेपाल उद्योग वाणिज्य महासंघका उपनिर्देशक माधव मुल्मीले गर्नु भएको थियो भने कार्यक्रममा उत्तम झाले प्रशिक्षण दिनु भएको थियो ।
देउखुरी उद्योग वाणिज्य संघ लमहीका अध्यक्ष ठकुरीले भन्नु भयो ‘यो सम्मानले हामीलाई थप उर्जा थपेको छ, व्यवसायीहरुको हक हितक लागि केहि गर्न सकिन्छ भन्ने जोश जाँगर पलाएको छ । आर्थिक मन्दीको मारमा परेका सबै व्यापारीबर्गहरुको उत्थानका लागि देउखुरी उद्योग वाणिज्य संघले स्थानीय सरकारसंग हातेमालो गरेर अगाडी बढ्ने अध्यक्ष ठकुरीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्