दाङ – हाम्रो समाजमा गीत–संगीत क्षेत्रमा लाग्ने महिलालाई हेर्ने दृष्टिकोण अझै बदलिएको छैन । गला र कला भएका कतिपय महिला अझै पनि नेपाली समाजको पुरातन सोच चिरेर बाहिर निस्कन सकिरहेका छैनन ।
पछिल्लो समय संगीत नसुन्ने र गीत नगुनगुनाउने मानिस कमै होलान । अहिलेका युवा पुस्तामाझ संगीतको निक्कै नै मोह रहेको देख्न सकिन्छ । विभिन्न सांगीतिक कार्यक्रमहरु , रियालिटी शोहरु प्रति नेपालीहरु अहिले आकर्षित हुने गरेको पाइन्छ ।
अहिलेका युवा पुस्तामाझ आधुनिक, पप, क्लासिक, लोक आधुनिक गीतहरु गाउनेको ट्रेन्डनै चल्ने गरेका छन् । धेरै जसो कलकारहरुलाई सामाजिक सञ्जालले चर्चित बनाएको छ । यस्तै पछिल्लो समय नव गायिकाको रुपमा उदाएकी गायिका हुनुहुन्छ दाङ लमहीकी सुष्मा नेपाली ‘ग्रेस’ ।
गायिका सुष्मा नेपालीको सुमधुर आवाजमा यो वर्षको तीज गीत ‘नक्कली भैछुर’ बोलको गीत सार्वजनिक भएको छ । यो गीतलाई लाखौँ दर्शक स्रोताले मन पराई दिनु भएको छ । साउनको महिनामा हातभरि चुरा, आभास, परेली झिमझिम भो, हाम्रो नेपाल हामी नेपाली’ लगायत दर्जनौ गीतहरुमा आवाज दिई सक्नु भएको छ । तीज गीत ‘नक्कली भैछुर’ बोलको गीतमा आवाज दिई सकेपछि सुष्मालाई एकपछि अर्को गीत गाउनका लागि अफर आईरहेको उहाँले बताउनु भयो ।
सानैदेखि गीत संगीतमा रुचि भएको र आफू बोल्न सक्ने भएदेखी गीतहरु गुनगुनाउने गरेको सुष्माको भनाई छ । कार्यक्रमहरु हुँदा समेत स्टेजमा गीतहरु गाउँदै आएकी सुष्माले स्नातकसम्मको अध्ययन गर्नु भएको छ । संगीतमा आफ्नो भविष्य बनाउनका लागि संगीत कक्षा समेत लिई रहनु भएको छ ।
आगामी दिनमा समेत गीत संगीतलाई नै निरंतरता दिने साथै आफ्नो सानै देखिको गीत संगीत प्रतिको रुचि भएकै कारण सदैव संगीत क्षेत्रमा आफू लागिरहने सुष्मा बताउनुहुन्छ । सबै खालका गीतलाई न्याय दिएर गाउन सक्ने क्षमता छ उहाँसंग । थुप्रै गीतहरुमा आफ्नो सुमधुर आवाज भरेकी सुष्मालाई केहि गीतका भिडियोमा अभिनय पनि गर्नु भएको छ ।
नेपाली संगीतको विशेषता भनेको आफ्नै मौलीकता हो । विविधता नेपाली सांगीतिक क्षेत्रको अर्को मुख्य पाटो हो । नेपाली संगीतमा प्रयोग गरिने बाजा, वर्णन गरिने विषयवस्तु, प्रयोग गरिने टिपिकल शब्दले नेपाली माटोको प्रतिनिधित्व गर्दछ । यिनै विशेषताका कारण नेपाली संगीतको बेग्लै महत्व रहने गर्दछ । गीत संगीतको माध्यमबाट नेपाली लोक संस्कृतीको जर्गेना गर्ने मात्र नभएर श्रोता दर्शकमाझ सन्देश प्रवाह गर्नको लागि समेत यसले महत्वपूर्ण भुमिका खेलेको छ ।
हुनत लामो इतिहास बनाइसकेको नेपाली सांगीतिक क्षेत्र अझै पूर्ण रुपमा व्यवसायिक बन्न सकेको छैन । विगतमा जस्ता कालजयी गीत नेपाली सांगीतिक क्षेत्रमा आउन नसकेका गुनासो हुन थालेको छ । यि गुनासोलाई चिर्नका लागि नयाँ जोशका साथ संगीतकर्मी अगाडि बढ्नुपर्ने अवस्था देखिन्छ । अहिले नयाँ पुस्ताको आर्कषण यो क्षेत्रमा देखिदा निकट भविष्यमा यो क्षेत्रको उचाई बढ्न सघाउने आशा गर्न भने सकिन्छ ।
पछिल्लो समयमा संगीतको अध्ययन गरेर यो क्षेत्रमा आउने क्रम समेत बढेको छ । केही संगीतकर्मीले व्यवसायिक रुपमा आफूलाई अगाडि बढाउन खोज्नुभएको छ । अहिले सांगीतिक क्षेत्रको बजार विस्तार भएको छ । नेपाली गीत संगीतले अन्तराष्ट्रिय संगीत बजारमा समेत प्रतिष्पर्धा गर्नुपर्ने अवस्थाको सिर्जना भएको छ ।
जसका लागि सबै नेपालीको साथ अपरिहार्य रहन्छ । संगीतकर्मीको लगाव, मेहनत, साधना र अध्ययनले उत्कृष्ट सिर्जना गर्न सघाउँने हँदा संगीतकर्मी आफूलाई सोही अनुसार परिवर्तन गर्नुपर्ने आवश्यकता भएको छ ।

प्रतिक्रिया दिनुहोस्