ट्रम्प निर्णयको नेपाल प्रभाव : यूएसआइडीको सहयोगमा सञ्चालित चार परियोजना तीन महिना रोकियो

दाङ समाचार
दाङ समाचार १४ माघ २०८१, सोमबार
1 Min Read
Aa

दाङ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वैदेशिक सहायता तीन महिनाका लागि रोक्का गर्ने निर्णयमा हस्ताक्षर गरेसँगै नेपालमा अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआइडी) को सहयोगमा सञ्चालित चार वटा परियोजना प्रभावित भएका छन्।

चालु आर्थिक वर्षको बजेटमा परेका ‘यूएसएआइडी हेल्थ डिरेक्ट फाइनान्सिङ प्रोजेक्ट’, ‘यूएसएआइडी एग्रीकल्चर डाइरेक्ट फाइनान्सिङ प्रोजेक्ट’, ‘यूएसएआइडी एजुकेसन डाइरेक्ट फाइनान्सिङ प्रोजेक्ट’ र ‘यूएसएआइडी इन्क्लुसिभ पोलिसी डाइरेक्ट फाइनान्सिङ प्रोजेक्ट’मा यूएसएआइडीले सह वित्तीय लगानी गरेको थियो।

यूएसएआइडी र नेपाल सरकारबीच २०२२ मे ५ मा हस्ताक्षर भएको डेभलपमेन्ट अब्जेक्टिभ अग्रिमेन्टमार्फत् नेपाललाई प्राप्त भएको अनुदान सहायतामध्ये बजेट प्रणालीमार्फत सञ्चित कोषबाट भुक्तानी हुने प्रकृतिका चार वटा आयोजनाहरूमा प्राप्त अनुदान सहयोग तत्काल ९० दिनका लागि स्थगित भएको युएसएआइडी नेपालले पत्रमार्फत अर्थ मन्त्रालयलाई जानकारी गराइसकेको छ।

अर्थ मन्त्रालयले सोमबार विज्ञप्ति जारी गरेर यूएसएआइडीको सह वित्तीय लगानी भएका आयोजनामा उसको स्रोतमा दायित्व सिर्जना हुने गरी काम नगर्न निर्देशन दिइएको छ।

‘यस अवधिमा स्थगित भएका आयोजनाअन्तर्गत युएसएआइडी स्रोततर्फ कुनै दायित्व सिर्जना गर्ने कार्य नगर्न सम्बन्धित सबै सम्बद्ध निकायहरूलाई जानकारी गराइएको छ’ विज्ञप्तिमा भनिएको छ। ती आयोजनामा नेपाल सरकारबाट स्रोत बेहोर्ने गरी तय भएका कामहरू भने नरोकिने मन्त्रालयले जानकारी दिएको छ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्