सीप सिकेर आत्मनिर्भर बन्नु पर्छ – उपप्रमुख योगी

दाङ समाचार
दाङ समाचार ६ असार २०८२, शुक्रबार
2 Min Read
Aa

दाङ – लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले महिलाहरूलाई सीप सिकेर आत्मनिर्भर बन्न सुझाव दिएकी छन । उनले भनिन्, “सामाजिक र आर्थिक सशक्तिकरणको लागि महिलाहरूमा सीप र आत्मविश्वासको विकास अत्यन्तै जरुरी छ ।

यस्ता तालिमहरूले महिलालाई स्वरोजगार बनाउनछ ।” लमही नगरपालिकाले आयोजना गरेको महिलाहरूलाई स्वरोजगारमुखी बनाउने उद्देश्यले सञ्चालन गरिएको सात दिने सीपमूलक तालिमको समापन गर्दै योगीले सो कुरा बताएकी हुन ।

स्थानीय सरकारको यस्तो पहलले महिलाहरूको आयआर्जनका अवसर बढाउने मात्र नभई घरेलुस्तरमै उत्पादनलाई प्रवर्द्धन गर्न र स्थानीय बजारमा प्रतिस्पर्धी बनाउन समेत महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको उपप्रमुख योगीको भनाई छ ।

तालिममा सिद्द सचेतना महिला सहकारीमा आबद्द भएका छत्तिस जना महिलाहरूले सक्रिय सहभागिता जनाएका थिए । तालिमबाट उत्साहित सहभागीहरूले सिकेको सीपलाई प्रयोगमा ल्याएर आफ्नो घरमै साना उद्योग सुरु गर्ने प्रतिबद्धता व्यक्त गरेका छन ।

तालिमका प्रशिक्षक मनसरा केसीले साबुन तथा सरसफाइ सामग्रीहरू घरेलुस्तरमै कसरी गुणस्तरीय रूपमा उत्पादन गर्ने भन्ने कुरामा व्यवहारिक प्रशिक्षण प्रदान गरेकी थिइन । तालिममा सहभागी महिलाहरूलाई लुगा धुने सरफ, नुहाउने साबुन, भाँडा माझ्ने झोल साबुन, हार्पिक र फेनाइल बनाउने तरिका सिकाइएको हो ।

लमही नगरपालिकाले आगामी दिनमा पनि महिला सशक्तिकरणका लागि यस्ता तालिमहरू निरन्तर सञ्चालन गर्ने जनाएको छ । स्थानीय सरकारको यस्तो पहलले महिलाहरूको आयआर्जनका अवसर बढाउने मात्र नभई स्थानीय उत्पादन प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।

समापन कार्यक्रममा लमही नगरपालिकाकी कार्यपालिका सदस्य देवा परियार, वडा नम्बर ७ की वडा सदस्य उर्मिला चौधरीको पनि उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख मेनका खड्काले गरेकी थिइन ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्