गोरखा मोडेलका ५३ विद्यार्थीका कथा समेटिएको ‘बालमनका उडानहरू’ विमोचित

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर २७ आश्विन २०८३, मंगलवार
2 Min Read
Aa

दाङ – विद्यार्थीमा रहेको सिर्जनात्मक प्रतिभा उजागर गर्दै समाजका विविध पक्षलाई कथामार्फत प्रस्तुत गरिएको बाल कथा संग्रह ‘बालमनका उडानहरू’ भाग–१ विमोचन गरिएको छ । गोरखा मोडेल सेकेन्डरी स्कुल लमहीमा अध्ययनरत ५३ जना विद्यार्थीले लेखेका ५३ वटा कथा समेटिएको संग्रह विद्यालयले प्रकाशन गरेको हो ।

विद्यालयको आयोजनामा भएको विमोचन कार्यक्रममा देउखुरी साहित्य तथा सांस्कृतिक मञ्चका अध्यक्ष निमबहादुर थापा लगायतका अतिथिहरुले कथा संग्रहको विमोचन गरे । विद्यालय सञ्चालक समितिका उपाध्यक्ष डोरबहादुर जिसीको अध्यक्षतामा भएको कार्यक्रममा लमही नगरपालिका शिक्षा शाखा प्रमुख केशव लम्साल, वरिष्ठ साहित्यकार हरेकृष्ण ज्ञवाली, गंगाधर कोइराला, हरि पोख्रेल, छविलाल कोपिलालगायत साहित्यकार तथा शिक्षाप्रेमीहरूको उपस्थिति थियो । विद्यालयका प्राचार्य लोकमान रिजालले स्वागत तथा विषय प्रवेश गराएका थिए ।

कथा संग्रहमा बालबालिकाले देखे, भोगे र महसुस गरेका सामाजिक यथार्थ, पारिवारिक सम्बन्ध, साथीभाइका अनुभव, संघर्ष, सफलता, असफलता र भविष्यका सपनालाई कथाका रूपमा प्रस्तुत गरेका छन् । कथाहरूमा महिला तथा किशोरीमाथि हुने विभेद, हिंसा, अत्याचार, छुवाछुत र सामाजिक कुरीतिविरुद्धको आवाजसमेत समेटिएको छ ।

कक्षा १२ मा अध्ययनरत सुप्रिया सुवेदीको ‘संघर्षपछिको सफलता’ र कक्षा ७ की रजिना खनालको ‘अत्याचारको अन्धकारपछिको उज्यालो दीप’ लगायतका कथाले संघर्षबाट सफलता हासिल गर्ने र अन्यायविरुद्ध आवाज उठाउने सन्देश दिएका छन् । कथाहरूमा बालमनोविज्ञानका विविध पक्ष, बालबालिकाका भावना, पीडा, आशा र आकाङ्क्षासँगै समाज परिवर्तनप्रतिको चेतना अभिव्यक्त भएको छ । नयाँ पुस्ताले समाजमा विद्यमान विभेद र कुप्रथालाई कसरी बुझिरहेको छ भन्ने कुरा पनि कथाहरूले देखाएका छन् ।

विद्यार्थीले लेखेका कथामा सामाजिक यथार्थसँगै परिवर्तनको चाहना र विद्रोही चेतसमेत देखिनु सकारात्मक पक्ष रहेको कार्यक्रममा चर्चा गरिएको थियो । लेखनले विद्यार्थीमा अध्ययन गर्ने बानीको विकास गर्नुका साथै आत्मविश्वास बढाउन र भविष्यमा साहित्यिक क्षेत्रमा अघि बढ्न आधार तयार गर्ने धारणा व्यक्त गरिएको थियो ।

विद्यार्थीको लेखन यात्रालाई प्रोत्साहन गर्ने उद्देश्यले प्रकाशित ‘बालमनका उडानहरू’ को पहिलो भागले बालसाहित्यको विकासमा योगदान पु¥याउने अपेक्षा गरिएको छ । विद्यार्थीको सिर्जनात्मक क्षमता पहिचान गरी लेखनमा निरन्तर प्रोत्साहन गर्न सके भविष्यमा सक्षम लेखक उत्पादन गर्न सकिने विश्वास व्यक्त गरिएको थियो ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्