६० वर्षपछि बिच्छु कामीको हातमा आयो जग्गाको पुर्जा

दाङ समाचार
दाङ समाचार २७ आश्विन २०८३, मंगलवार
4 Min Read
Aa

दाङ – गढवा गाउँपालिका वडा नम्बर २ महदेवाका बिच्छु कामीले जीवनको लामो समय आरन चलाएर बिताउनुभयो । फलाम पिटेर औजार बनाउने र त्यसबाट प्राप्त आम्दानीले परिवारको खर्च चलाउने उहाँको दैनिकी हो । १४ जनाको परिवारको जिम्मेवारी सम्हाल्दै आउनुभएका कामीका लागि जीवनमा अनेकौँ संघर्ष आए तर ती संघर्षमध्ये आफ्नो नाममा जग्गाको लालपुर्जा नहुनुको पीडा सबैभन्दा फरक थियो ।

बाल्यकालमै बुवा र बाजेसँग सल्यानबाट देउखुरी झरेका कामीले वर्षौँदेखि बसोबास गर्दै आएको जमिनको स्वामित्व पाउन लामो समय कुर्नुप¥यो । उहाँ बस्दै आएको तीनकठ्ठा १५ धुर जग्गाको लालपुर्जा हातपार्न झन्डै ६० वर्ष लाग्यो । उहाँकाबुवा र बाजेले पनि त्यही जग्गामा जीवन बिताउनु भयो । आफ्नो बसोबास रहेको जमिनको लालपुर्जा हेर्ने चाहना पूरा नहुँदै उहाँहरू संसारबाट बिदा हुनुभयो । बुवा र बाजेले यहीँ बसेर जीवन बिताउनु भयो ।

आफ्नो नाममा जग्गाको लालपुर्जा भएको देख्न पाउनु भएन । उहाँहरू बित्नुभयो, लालपुर्जा भने हाम्रो हातमा आउन सकेन, कामीले विगत सम्झँदै सुनाउनुभयो । वर्षौँदेखि आफूले भोगचलन गर्दै आएको जमिनको स्वामित्व प्रमाणित गर्ने कागज नहुँदा उहाँको परिवारले अनेकौँ कठिनाइ भोग्नुप¥यो । बसोबास गरिरहेको जमिन आफ्नै हो भन्ने अनुभूति भए पनि त्यसलाई कानुनी रूपमा प्रमाणित गर्ने आधार नहुँदाको पीडा उहाँले लामो समयसम्म सहनुभयो ।

अन्ततः गतवर्ष कामीको हातमा लालपुर्जा आइपुग्यो । लामो प्रतीक्षापछि लालपुर्जा पाउँदा उहाँको अनुहारमा खुसी छायो । त्यो खुसीसँगै पुर्खाले भोगेको पीडा र आफ्नो जीवनको ठूलो हिस्सा कागजको एउटा प्रमाणको प्रतीक्षामै बितेको सम्झनापनि जोडिएको छ । लालपुर्जा पाउँदा धेरै खुसी लागेको छ । अब आफ्नो नाममा जग्गा भएको प्रमाण छ । यहीदिन देख्न बुवा र बाजे जीवित रहनुभएन भन्ने कुराले मन दुख्छ,कामीले भावुकहुँदै भन्नुभयो ।

लमहीनगरपालिका वडा नम्बर ६ कुलमोहरका सामसुङ गिरीको कथापनि कामीको कथासँग मिल्दोजुल्दो छ । उहाँकाअनुसार २०२७ सालदेखि नै उहाँको परिवार कुलमोहर गाउँमा बसोबास गर्दै आएको छ । त्यति बेला लमही बजार क्षेत्रमा समेत बस्ती विस्तार हुँदै थियो । पुस्तौँदेखि बसोबास गर्दै आएको जग्गाको लालपुर्जा नहुँदा स्थानीयले लामो समयदेखि विभिन्न समस्या भोग्दै आएका छन् । भूमि अधिकार सम्बन्धी अभियानमा सक्रिय गिरी लमही नगरपालिका भूमि अधिकार मञ्चका अध्यक्ष समेत हुनुहुन्छ । उहाँले लालपुर्जा विहीन नागरिकले भोगिरहेको समस्या जग्गाको स्वामित्वमा सीमित नरहेको बताउनुभयो ।

लमही नगरपालिका वडा नम्बर ३ की दिलमाया डाँगीले पनि लालपुर्जा नहुँदाको पीडा भोग्दै आउनुभएको छ । आफ्नो नाममा जग्गाको स्वामित्वको प्रमाण नहुँदा विभिन्न समस्या झेल्नुपरेको उहाँले बताउनुभयो ।आर्थिक समस्याका कारण रोजगारीको खोजीमा विदेशिनु परेको उहाँको अनुभव छ । परिवारको आवश्यकता पूरा गर्न र जीविको पार्जनको आधार खोज्न विदेश जानुपर्ने बाध्यता भोग्नुपरेको उहाँले सुनाउनुभयो ।जग्गाको लालपुर्जानहुँदा धेरै समस्या भोग्नु परेको छ । आर्थिक अवस्था कमजोर छ ।

परिवार चलाउन रोजगारीको खोजीमा विदेश जानुपर्ने बाध्यता आयो, डाँगीले आफ्नो पीडा व्यक्त गर्नुभयो । डाँगीको अनुभवले भूमिहीनता र आर्थिक विपन्नताबीचको सम्बन्धलाई उजागर गर्छ । सुरक्षित आवास र जग्गाको स्वामित्वको अभावले परिवारको भविष्यप्रतिको विश्वास कमजोर बनाउनुका साथै रोजगारी, आयआर्जन र सम्मानजनक जीवनका अवसरमा समेत असर पार्न सक्छ ।

अन्तर्राष्ट्रिय गरिबी उन्मूलन दिवसको अवसरमा संयुक्त राष्ट्रसंघीय मानव बसोबास कार्यक्रमअन्तरगत -युएन–ह्याबिट्याट तथा सामुदायिक आत्मनिर्भर सेवा केन्द्र ( सीएसआरसी ) ले आयोजना गरेको भूमि अधिकार, गरिबी उन्मूलन र सम्मानित जीवनसम्बन्धी परिसंवाद कार्यक्रममा भूमि अधिकार मञ्च दाङकी जिल्ला अध्यक्ष सृजना चौधरीको अध्यक्षता तथा गढवा गाउँपालिकाका प्रवक्ता भक्तु चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय भूमि अधिकार मञ्चका केन्द्रीय सदस्य मेघबहादुर बिसी, राजपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजाल, युएन–ह्याबिट्याटकी दाङ जिल्ला संयोजक बन्दना सिन्हा, सामुदायिक आत्मनिर्भर सेवा केन्द्रका भूमि कृषि कार्यक्रम संयोजक रेमन्त चौधरी, पत्रकार केपी घिमिरे लगायतले भूमिअधिकार, गरिबी न्यूनीकरण र सम्मानित जीवनका विषयमा धारणा राख्नुभएको थियो । कार्यक्रमको सहजीकरण सामुदायिक आत्मनिर्भर सेवा केन्द्रका कार्यक्रम अधिकृत गोपाल विकले गर्नुभएको थियो ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्