दाङ — सम्राट सिमेन्ट कम्पनीले प्रहरी चौकीका नाममा जग्गा पास गरी भवन निर्माण गरेर २०७६ फागुन १६ गते उद्घाटनसहित हस्तान्तरण गरेको थियो । तर उक्त प्रहरी चौकीलाई हालसम्म अस्थायी प्रहरी चौकीकै रूपमा नामकरण गरिएको छ ।
स्थानीय क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको उक्त प्रहरी चौकीलाई स्थायी प्रहरी चौकीका रूपमा स्तरोन्नति गर्न सके अझ प्रभावकारी हुने देखिन्छ ।
उक्त अस्थायी प्रहरी चौकीको कार्यक्षेत्र पूर्वमा अर्जुनखोला, पश्चिममा बनघुस्री गाउँ, दक्षिणमा राप्ती नदी र उत्तरमा पूर्व–पश्चिम महेन्द्र राजमार्गसम्म फैलिएको छ । भारतको सीमासँग जोडिएको राजपुर गाउँपालिकाको क्षेत्र नजिकै पर्ने तथा राप्ती नदी किनारमा रहेको हस्नापुर गाउँसमेत समेटिएको यस क्षेत्रको भौगोलिक अवस्थाका कारण सुरक्षा दृष्टिले प्रहरी चौकीको महत्त्व थप बढेको छ ।
प्रहरी चौकीको भवन रहेको जग्गा साविक सतबरिया गाविस वडा नम्बर ३ (च) स्थित कित्ता नम्बर १३३ मा रहेको छ । उक्त जग्गाको क्षेत्रफल ०–१–१० रहेको छ ।
सीमावर्ती क्षेत्रको सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउन तथा स्थानीय नागरिकलाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन उक्त अस्थायी प्रहरी चौकीलाई स्थायी प्रहरी चौकीका रूपमा स्तरोन्नति गर्न आवश्यक देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्