दाङ – लमही नगरपालिका वडा नं. ९ को आयोजनामा रिहार धाममा तीज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै लमही नगरपालिकाका कार्यबाहक नगर प्रमुख लक्ष्मी योगीले तीज पर्व नेपाली महिलाहरूको मुख्य सांस्कृतिक र धार्मिक पर्व भएको बताइन् । उनले भनिन्, “तीजले नेपाली पहिचानलाई उजागर गर्छ । परम्परागत लुगाकपडा, गहना, लोकसंगीत र नृत्यमार्फत हाम्रो संस्कृति जोगिन्छ । महिलाहरूको भेटघाट, दर खाने र रमाइलो गर्ने अवसर पनि यसले प्रदान गर्छ ।”
वडा अध्यक्ष भेष बहादुर केसीले सामाजिक दृष्टिले तीजले परिवार र समाजमा एकता ल्याउने विश्वास व्यक्त गरे । उनले भने, “महिला सशक्तिकरण, समानता र चेतनाको सन्देश दिन पनि यो पर्व महत्वपूर्ण छ । तीजलाई भड्किलो खर्च नगरी संस्कार र सादगीसहित मनाउनुपर्छ । यसरी मनाउँदा धर्म, संस्कृति र समाज सुदृढ हुन्छ ।”
कार्यक्रममा गायक यादवनाथ योगी, सचेत बिरही भण्डारी, संगीतकार राजेश क्षेत्री, एम.बी. समर्पणलगायतका कलाकारले प्रस्तुति दिँदा दर्शक झुमिएका थिए ।
वडा अध्यक्ष भेष बहादुर केसीको अध्यक्षता तथा लमही नगरपालिकाका कार्यबाहक नगर प्रमुख लक्ष्मी योगीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कार्यपालिका सदस्य पार्वती विश्वकर्माले स्वागत मन्तव्य राखिन् भने पत्रकार प्रिया स्मृती गजमेरले संचालन गरे ।

प्रतिक्रिया दिनुहोस्