डिजिटल भुक्तानीपछि विद्युत कार्यालयका काउन्टर सुनसान, नगद सेवा पूर्ण रूपमा बन्द

दाङ समाचार
दाङ समाचार १ श्रावण २०८३, शुक्रबार
3 Min Read
Aa

दाङ – विद्युतको महसुल बुझाउन घण्टौं लाइनमा बस्नुपर्ने, सामान्य रकम तिर्न पनि दिनभर समय खर्चिनुपर्ने र यातायात तथा खाजा खर्च व्यहोर्नुपर्ने बाध्यता हटेको छ । डिजिटल भुक्तानी प्रणाली विस्तार भएसँगै उपभोक्ताले घरमै बसेर विद्युत महसुल तिर्न थालेपछि नेपाल विद्युत प्राधिकरणका नगद काउन्टर सुनसान बनेका छन् ।

पहिला महसुल बुझाउन विद्युत कार्यालय धाउनुपर्ने बाध्यता रहेको भए पनि अहिले मोबाइल बैंकिङ, क्यूआर कोड, वालेट र बैंकमार्फत सहज रूपमा भुक्तानी गर्न सकिने व्यवस्था भएपछि सेवाग्राहीलाई ठूलो राहत पुगेको छ । लमहीका उपभोक्ता मधु शर्माले डिजिटल भुक्तानीले सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाएको बताए ।‘पहिला त दिनभरको समय छुट्याउनुपथ्र्यो । अहिले घरमै बसेर केही मिनेटमै भुक्तानी हुन्छ’उनले भने,‘न लाइन बस्ने झन्झट छ, न अनावश्यक खर्च ।’

यद्यपि ग्रामीण क्षेत्रका ज्येष्ठ नागरिक तथा डिजिटल प्रविधिसँग कम परिचित उपभोक्तालाई अनलाइन भुक्तानीबारे थप जानकारी र सीप आवश्यक रहेको सरोकारवालाको भनाइ छ । डिजिटल साक्षरता अभिवृद्धि गर्न सके सबै उपभोक्ताले यसको सहज लाभ लिन सक्ने उनीहरूको सुझाव छ ।

नेपाल विद्युत प्राधिकरण लमही वितरण केन्द्रले नयाँ आर्थिक वर्षदेखि नगदमार्फत महसुल संकलन पूर्ण रूपमा बन्द गरेको छ । वितरण केन्द्र प्रमुख ज्ञानबहादुर फर्सालका अनुसार लमही र भालुबाङमा सञ्चालन हुँदै आएका सबै क्यास काउन्टर बन्द गरिएका छन् । ‘साउन १ गतेदेखि लमहीका काउन्टर बन्द भएका हुन् । भालुबाङमा भने जेठ १ गतेदेखि नै नगद सेवा बन्द गरिएको थियो’उनले भने,‘अब सबै उपभोक्ताले डिजिटल माध्यमबाट मात्रै महसुल भुक्तानी गर्नुपर्ने व्यवस्था लागू भएको छ ।’

उनका अनुसार देउखुरी क्षेत्रका राप्ती, गढवा, राजपुर र लमही गरी चार स्थानीय तहका ४५ हजार ४ सय ९० उपभोक्ताले लमही वितरण केन्द्रबाट विद्युत सेवा लिइरहेका छन् । यहाँबाट मासिक करिब ६ करोड रुपैयाँ विद्युत महसुल संकलन हुँदै आएको छ । नेपाल विद्युत प्राधिकरणले २०७४ सालदेखि अनलाइन भुक्तानी सेवा सुरु गरेको थियो । पछिल्लो समय डिजिटल कारोबारलाई थप प्रोत्साहन गर्दै गत मंसिर महिनादेखि नगदरहित (क्यासलेस) प्रणालीलाई प्राथमिकतामा राखिएको थियो । त्यसकै निरन्तरतास्वरूप नयाँ आर्थिक वर्षदेखि नगद काउन्टर पूर्ण रूपमा हटाइएको हो ।

प्राधिकरणका अनुसार डिजिटल भुक्तानी प्रणाली लागू भएपछि कार्यालयमा सेवाग्राहीको भीड घटेको छ । कर्मचारीलाई पनि अन्य प्राविधिक तथा ग्राहक सेवा सम्बन्धी काममा बढी समय दिन सहज भएको छ । नगद व्यवस्थापनको झन्झट हट्नुका साथै पारदर्शिता, सुरक्षा र सेवा प्रवाहको गति पनि बढेको प्राधिकरणको दाबी छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्