दाङ – हिन्दु धर्मावलम्बी महिलाहरूका लागि विशेष महत्व बोकेको साउन महिनाको पहिलो दिन सोमबार दाङका विभिन्न शिवालय तथा शक्तिपीठहरूमा पूजाआजा गर्ने भक्तजनहरूको भीड लागेको छ ।
लमही, घोराही, तुलसीपुर, गढवा, राजपुर, बबई, शान्तिनगरलगायत जिल्लाका विभिन्न शिव मन्दिर र शक्तिपीठमा बिहानैदेखि महिलाहरूले भगवान शिवको पूजा, जलाभिषेक, बेलपत्र अर्पण तथा विशेष आराधना गरेका छन । साउन महिनाभर सोमबार व्रत बसेर शिवको पूजा गर्ने परम्परा रहेकाले मन्दिरहरूमा भक्तजनको चहलपहल बढेको हो ।
साउन महिनामा विवाहित तथा अविवाहित महिलाहरूले हरियो साडी, हरियो चुरा, हरियो पोते तथा मेहन्दी लगाउने चलन छ । हरियो रंगलाई हरियाली, सुख, समृद्धि, दीर्घ दाम्पत्य जीवन र शुभताको प्रतीकका रूपमा लिने गरिन्छ । विवाहित महिलाहरूले श्रीमानको दीर्घायु, पारिवारिक सुख–शान्ति र समृद्धिको कामना गर्दै व्रत बस्ने विश्वास छ भने अविवाहित युवतीहरूले योग्य जीवनसाथी प्राप्तिको कामना गर्दै शिवको आराधना गर्ने परम्परा रहेको धार्मिक विश्वास छ ।
साउन महिनामा विशेषगरी प्रत्येक सोमबार शिवालयहरूमा भक्तजनको भीड अझ बढी हुने गर्दछ । भगवान शिवलाई जल, दूध, दही, बेलपत्र, धतुरो, अक्षता र फूल अर्पण गरी पूजा गर्ने चलन छ । धार्मिक आस्था, संस्कृति र परम्परासँग जोडिएको साउन महिना नेपाली समाजमा विशेष महत्वका साथ मनाइने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्