दाङ -राप्ती नदीले वर्षेनी खेतीयोग्य जमिन कटान गर्ने समस्या बढ्दै गएपछि नदी उकास क्षेत्रमा बाँस रोप्ने अभियान सुरु गरिएको छ । खेतीयोग्य जमिनको संरक्षण, नदी किनारको कटान नियन्त्रण र हरियाली प्रवद्र्धन गर्ने उद्देश्यले स्थानीय समुदायको सक्रियतामा बाँस रोपिएको हो ।
स्थानीय किसानहरूका अनुसार वर्षेनी नदीले खेत बगाउँदा उत्पादन घट्नुका साथै जीविकोपार्जनमा समेत असर पर्ने गरेको छ । बाँस रोपणले भविष्यमा खेत जोगिनुका साथै वातावरण संरक्षणमा पनि टेवा पुग्ने अपेक्षा गरिएको छ । लमही नगरपालिका वडा नम्बर ८ जहरे निवासी शिव प्रसाद चौधरीका अनुसार हरेक वर्ष राप्ती नदीले खेत काट्दै लगेको छ । बाँस रोपेपछि कटान केही कम होला भन्ने आशा छ । यसले किसानको जमिन जोगाउनुका साथै आगामी पुस्तालाई पनि फाइदा पुग्नेछ ।
यस्तै राजपुर गाउँपालिका वडा नम्बर ५ निवासी मुकेश यादवले नदी किनारमा बाँस हुर्किएपछि माटो बलियो हुने बताउनुभयो । उहाँले यसले वातावरण पनि हराभरा बनाउने बताउनुहुदैँ, भविष्यमा बाँसबाट आम्दानीको स्रोत पनि बन्न सक्ने बताउनुभयो । उहाँले बाँस रोपणले वातावरणीय अभियान मात्र नभई खेतीयोग्य जमिन जोगाउने दिगो उपाय समेत रहेको बताउनुभयो ।
समुदाय, सरोकारवाला निकाय र स्थानीय तहको सहकार्यमा यस्तो अभियानलाई निरन्तरता दिन सके राप्ती नदीको कटान नियन्त्रणमा सकारात्मक परिणाम देखिने स्थानियहरुले विश्वास व्यक्त गरेका छन् । गुड नेबर्स ईन्टरनेस्नल र संयुक्त राष्ट्र संघीय मानव बसोबास कार्यक्रम युएन – ह्याविटाट नेपालको प्रविधिक तथा सामुदायिक आत्मनिर्भर सेवा केन्द्र ( सिएसआरसी ) को आर्थिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।
डिभिजन वन कार्यालय देउखुरी र लमही नगरपालिकाको संयुक्त सहकार्यमा राजपुर गाउँपालिका वडा नम्बर ५ र लमही नगरपालिका वडा नम्बर ८ जहरे राप्ती पुल नजिकै ३ सय ५० वटा ( २६ हेक्टर नदी उकास क्षेत्रमा ) बाँस रोपण अभियान सुरु गरिएको सामुदायिक आत्मनिर्भर सेवा केन्द्र जलवायु मैत्री कृषि संयोजक निलम त्रिपाठीले जानकारी दिनु भयो ।
कार्यक्रममा लमही नगरपालिका नगर प्रमुख जोगराज चौधरीले बाढीका बेला नदीको बहावलाई नियन्त्रण गर्न र खेतीयोग्य जमिन जोगाउन प्राकृतिक तटबन्धको भूमिका खेल्ने बताउनुभयो । उहाँले कृत्रिम तटबन्ध निर्माणसँगै यस्ता प्राकृतिक उपायलाई पनि प्राथमिकता दिनुपर्ने बताउदैँ, बाँस रोपणले नदी किनार संरक्षणका साथै हरियाली प्रवद्र्धन, जैविक विविधता संरक्षण र भविष्यमा स्थानीयलाई आर्थिक लाभसमेत पु¥याउने सम्भावना रहेको बताउनुभयो ।
कार्यक्रममा डिभिजन वन कार्यालय देउखुरीका निमित्त डिभिजनल वन अधिकृत रामध्यान शाहले राप्ती किनारमा सुरु भएको बाँस रोपण अभियानले खेतीयोग्य जमिन संरक्षण, हरियाली विस्तार र स्थानीयको आर्थिक अवस्थासमेत सुदृढ बनाउन सहयोग पुग्ने बताउनुभयो । उहाँले राप्ती नदी किनारमा बाँस रोपण प्रभावकारी र प्राकृतिक तटबन्धको काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्