दाङ – परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री वालेन्द्र शाहका प्रमुख सल्लाहकार कुमार बेनको भारत भ्रमणबारे अनविज्ञता प्रकट गरेको छ । मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा सञ्चारकर्मीले सोधेका प्रश्नको जवाफ दिने क्रममा प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले बेनको भ्रमणबारे मन्त्रालयलाई औपचारिक जानकारी नभएको बताएका हुन ।
प्रधानमन्त्री शाहका प्रमुख सल्लाहकार बेन सुटुक्क भारत गएर भारतीय प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार अजित डोभालसँग भेट गरेको विषय बाहिरिएको छ । उनले सरकारले सबै मित्रराष्ट्रहरूसँगको सम्बन्धलाई प्रगाढ तुल्याउँदै आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई पनि निरन्तरता दिने बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको चीन भ्रमण सम्बन्धित दलको विषय भएको उनले बताए । तर, रास्वपाको अनुरोधका आधारमा सभापति रवि लामिछानेको चीन भ्रमणको सहजीकरण गर्न परराष्ट्र मन्त्रालय तयार रहेको उल्लेख गरे ।
‘राजनीतिक दलहरूबीच हुने भ्रमण वा आदानप्रदान सम्बन्धित दलहरूको विषय हो । त्यस्तो भ्रमणका लागि परराष्ट्र मन्त्रालयको समन्वय वा कूटनीतिक सहजीकरण आवश्यक पर्ने अवस्था आएमा सम्बन्धित राजनीतिक दलको अनुरोधका आधारमा मन्त्रालयले आवश्यक सहजीकरण गर्नेछ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्