ज्ञानेन्द्र स्वर्णकार
दाङ – भूमाफियाले जसरी भूमि कब्जा गर्ने प्रवृत्ति बढ्दै गएको देखिन्छ, त्यसरी नै गीत संगीतको क्षेत्रमा पनि ‘माफिया प्रवृत्ति’ जन्मिँदै गएको देखिन्छ । पैसा खर्च गर्ने, युटुबमा भ्युज किन्ने, सामाजिक सञ्जालमा प्रचारको बाढी ल्याउने र त्यसैका आधारमा करोडौँ भ्युज देखाउने प्रवृत्तिले वास्तविक प्रतिभामाथि प्रश्न उठाउन थालेको छ ।
आज जता हेर्यो, त्यतै भ्युजै भ्युज देखिन्छ । हामी दर्शक श्रोता पनि धेरैपटक त्यही भ्युजको पछाडि दौडिरहेका हुन्छौँ । करोडौँ भ्युज देखिएपछि सहजै भनिन्छ ‘वा ! कस्तो खतरा गायक रहेछ !’, ‘कस्तो खतरा गायिका रहिछ !’
तर प्रश्न यहाँनिर उठ्छ भ्युज धेरै हुँदैमा कलाकार साँच्चिकै उत्कृष्ट हुन्छन् त ? कलाकारको वास्तविक क्षमता उसको भ्युजमा हुन्छ कि उसको कला, गला, साधना र प्रस्तुति क्षमतामा ?
अहिले कलाकारको लोकप्रियता मापन गर्ने एउटा प्रमुख आधार नै भ्युज बन्न पुगेको छ । भ्युज धेरै भयो भने कलाकार चलेको मानिन्छ । कलाकार चलेपछि मेला महोत्सवका आयोजक तथा ठेकेदारहरू पनि त्यस्ता कलाकारको खोजीमा लाग्छन् । कतिपय अवस्थामा आयोजकलाई समेत गर्व लाग्ने अवस्था देखिन्छ ‘यति धेरै चलेको कलाकारले त मलाई आफैँ फोन गर्यो ।’
तर आयोजकलाई कलाकारको भ्युज कति वास्तविक हो, त्यसको पछाडिको प्रचार रणनीति के हो र कलाकारको वास्तविक कला तथा साधना कति छ भन्ने विषयमा चासो नहुन सक्छ । अझ रोचक पक्ष त के छ भने कतिपय कलाकार आफैँ आयोजकलाई फोन गरेर सोध्ने गर्छन् ‘दाइ, मेरो पालो कहिले आउँछ ?’
आयोजकलाई ठूलो भ्युज भएको कलाकारले आफैँ फोन गरेकोमा खुसी लाग्न सक्छ तर त्यही कलाकारलाई भने आफ्नो वास्तविक अवस्था राम्ररी थाहा नहुन सक्छ । उसलाई थाहा हुन्छ स्टेजमा आफ्नो पालो कहिले आउँछ, कति समय प्रस्तुति दिन पाइन्छ र त्यसबापत कति पारिश्रमिक प्राप्त हुन्छ ।
कतिपय अवस्थामा कलाकार स्टेजमा आएर केही समय दर्शकलाई मनोरञ्जन गराउँछन्, नाच्छन्, उफ्रिन्छन् र त्यसपछि आफ्नो पारिश्रमिक लिएर फर्किन्छन् । दर्शकको ठूलो भीड भए पनि सक्रिय रूपमा मनोरञ्जनमा सहभागी हुने संख्या सीमित हुन सक्छ । कलाकारको पारिश्रमिक भने उसको ‘चलेको’ छविका आधारमा निर्धारण हुने गरेको देखिन्छ ।
यसको विपरीत, प्रत्येक दिन साधना गर्ने, आफ्नो सम्पूर्ण जीवन कला क्षेत्रमा समर्पित गर्ने र गायन तथा सिर्जनामा निरन्तर मेहनत गर्ने प्रतिभावान् कलाकारहरू भने धेरैपटक छायामा पर्ने गरेका छन् । उनीहरूसँग प्रतिभा, क्षमता र साधना हुँदाहुँदै पनि पैसा खर्च गरेर भ्युज तथा प्रचार बढाउने सामर्थ्य नहुन सक्छ ।
कुनै समय थियो गीत चल्थ्यो । तर अहिले परिस्थिति यस्तो बन्दै गएको छ गीत चलाइन्छ । यही प्रवृत्तिले वास्तविक कला र कृत्रिम लोकप्रियताबीचको दूरी बढाइरहेको छ । पैसा खर्च गरेर निर्माण गरिएको प्रचार र वर्षौँको साधनाबाट जन्मिएको कला एउटै कुरा होइन ।
हामी दर्शक श्रोताले पनि यस विषयमा सोच्नुपर्ने समय आएको छ । भ्युज धेरै हुँदैमा गीत राम्रो हुन्छ भन्ने छैन । चर्चा धेरै हुँदैमा कलाकार महान् हुन्छ भन्ने पनि छैन । सामाजिक सञ्जालमा देखिने लोकप्रियता र वास्तविक कलात्मक क्षमता सधैँ एउटै हुँदैनन् ।
हाम्रो छिमेकी मुलुक भारतमा पनि विभिन्न प्रकारका सांगीतिक परम्परा, मनोरञ्जनका विधा र प्रस्तुति शैलीहरू विकास भएका छन् । एकातिर शास्त्रीय तथा घराना संगीतमा लामो साधना, अनुशासन र परम्परालाई महत्त्व दिइन्छ भने अर्कोतिर जनमनोरञ्जनका लागि विकसित भएका विभिन्न लोक तथा रंगमञ्चीय शैलीहरू पनि छन् । कतिपय प्रस्तुति शैलीमा उत्ताउलो वा भड्किलो नृत्य तथा गायनसमेत हुने गर्छ, जसलाई विभिन्न सन्दर्भमा ‘नौटंकी’ शैलीसँग जोडेर चर्चा गरिन्छ ।
यसबाट हामीले कला र मनोरञ्जनबीचको अन्तर बुझ्न आवश्यक छ । मनोरञ्जन जीवनको महत्वपूर्ण पक्ष हो । दर्शकलाई मनोरञ्जन दिनु कलाकारको एउटा उद्देश्य पनि हुन सक्छ । मनोरञ्जनको नाममा वास्तविक कलाको मूल्य घट्नु हुँदैन र प्रचार तथा भ्युजका आधारमा कलाकारको मूल्यांकन गर्ने प्रवृत्ति पनि बढ्नु हुँदैन ।
कलाकारको मूल्यांकन उसको भ्युजले होइन, कला, क्षमता, सिर्जनशीलता, साधना र प्रस्तुतिको गुणस्तरले निर्धारण गर्ने वातावरण निर्माण गर्न आवश्यक छ ।
भ्युज देखाउन सकिन्छ । प्रचार गर्न सकिन्छ । लोकप्रियताको भ्रम सिर्जना गर्न सकिन्छ । तर वास्तविक प्रतिभा किन्न सकिँदैन । त्यसैले आजको पुस्ताले एउटा महत्वपूर्ण प्रश्न गर्न आवश्यक छ ‘गीत साँच्चै चलिरहेको छ, कि कसैले पैसा खर्च गरेर गीत चलाइरहेको छ ?’
यही प्रश्नको जवाफ खोज्ने हो भने मात्र हामीले वास्तविक प्रतिभा र कृत्रिम लोकप्रियताबीचको अन्तर छुट्याउन सक्छौँ । गीतसंगीतको क्षेत्रमा पनि भ्युजभन्दा बढी कला, प्रचारभन्दा बढी प्रतिभा र क्षणिक चर्चाभन्दा दीर्घकालीन साधनालाई सम्मान गर्ने संस्कार विकास गर्न आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्