लमहीमा जनप्रतिनिधि र कर्मचारीका लागि डिजिटल सीप अभिवृद्धि तालिम सम्पन्न

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर ७ असार २०८२, शनिबार
2 Min Read
Aa

दाङ – लमही नगरपालिकाले जनप्रतिनिधि तथा कर्मचारीहरूको डिजिटल सीप अभिवृद्धि गर्ने उद्देश्यले एक दिने कम्प्युटर तालिम सम्पन्न गरेको छ । उक्त तालिममा बोल्दै लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले प्रविधिको द्रुत गतिमा भइरहेको विकाससँग तालमेल मिलाउँदै कार्यसम्पादन गर्न आधुनिक सीप तथा ज्ञानहरू आवश्यक रहेको उल्लेख गरिन । उनले भनिन’- “जनप्रतिनिधि र कर्मचारीहरू प्रविधि जान्ने र प्रयोग गर्न सक्ने भएमा मात्र स्थानीय शासन प्रभावकारी हुन्छ।”

आजको युग प्रविधिमैत्री छ, हाम्रा नीति निर्माणदेखि सेवा प्रवाहसम्म सबै क्षेत्रमा प्रविधिको उपयोग अनिवार्य भइसकेको छ । त्यसैले हामी आफैं पनि अपडेट हुनु जरुरी छ” – उपप्रमुख योगीले भनिन । साथै तालिमले नगरपालिका स्तरमा नीति निर्माण, सेवा प्रवाह तथा सूचनाको व्यवस्थापनमा थप पारदर्शिता, तीव्रता र दक्षता ल्याउने अपेक्षा गरेको उनको भनाई छ ।

तालिममार्फत सूचना प्रविधिको प्रभावकारी प्रयोगद्वारा प्रशासनिक सेवा प्रवाहमा सहजता र दक्षता वृद्धि गर्ने लक्ष्य रहेको सूचना प्रविधि अधिकृत नरेन्द्र कुमार गुप्ताले जानकारी दिए । कार्यक्रममा कम्प्युटर प्रविधि, सूचना प्रविधि, कृत्रिम बौद्धिकता, साइबर सुरक्षा, अफिस प्याकेज तथा प्रविधिका समसामयिक विषयहरूमा ज्ञान प्रदान गरिएको थियो ।

तालिमको प्रशिक्षक सूचना प्रविधि अधिकृत नरेन्द्र कुमार गुप्ता रहेका थिए । उनले सरकारी कार्यहरूमा डिजिटल उपकरणको प्रयोगले पारदर्शिता, कार्यदक्षता र सेवा गुणस्तरमा सुधार ल्याउनेमा विश्वास व्यक्त गरे ।

तालिममा सहभागी जनप्रतिनिधि र कर्मचारीहरूले यस्तो प्रकारको तालिम अत्यन्त उपयोगी रहेको प्रतिक्रिया दिएका छन । उनीहरूले प्रविधिको आधारमा काम गर्न आत्मविश्वास बढेको तथा प्राप्त ज्ञान व्यवहारमा उतार्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन ।

लमही नगरपालिकाले आगामी दिनमा यस्ता थप तालिमहरू सञ्चालन गर्दै प्रविधिमैत्री प्रशासन निर्माण गर्ने तयारी गरेको जनाएको छ । तालिमले स्थानीय तहको कार्यक्षमता अभिवृद्धि गर्दै सुशासनको प्रवर्द्धनमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्