दाङ – नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर १ को आयोजनामा आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै चुनावी रणनीतिबारे छलफल कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा कांग्रेसलाई कसरी चुनावमा जिताउन सकिन्छ भन्ने विषयमा गहन छलफल गरिएको थियो ।
कार्यक्रममा प्रतिनिधि सभा निर्वाचनका उम्मेदवार योगेन्द्र चौधरीले आफूले दाङको समग्र विकासका लागि स्पष्ट योजना बोकेको बताउँदै जनताका समस्यालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले कांग्रेस लोकतान्त्रिक मूल्य र जनताको अधिकारको पक्षमा सधैं उभिने पार्टी भएकाले सबै नेता कार्यकर्ता एकताबद्ध भएर घरदैलो अभियानमा जुट्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै राष्ट्रिय सभा सदस्य बासुदेव घिमिरेले कांग्रेसको संगठन बलियो भए मात्र चुनावी परिणाम पक्षमा आउने भन्दै टोल टोलमा पुगेर पार्टीका एजेन्डा जनतामाझ पुर्याउन आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले कार्यकर्तालाई अनुशासित र सक्रिय भएर अभियानमा लाग्न आग्रह गर्नुभयो ।
महासमिति सदस्य जानकीलाल बस्नेतले दाङमा कांग्रेसको ऐतिहासिक योगदान रहेको स्मरण गर्दै विगतका विकास कार्यलाई जनतामाझ पुर्याउनुपर्ने बताउनुभयो । उहाँले कांग्रेसको जित नै दाङको विकास र स्थायित्वको आधार हुने दाबी गर्नुभयो । अर्का महासमिति सदस्य कमल किशोर घिमिरेले युवालाई केन्द्रमा राखेर अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याउँदै सामाजिक सञ्जाल तथा प्रत्यक्ष सम्पर्क अभियानलाई प्रभावकारी बनाउन सुझाव दिनुभयो ।
समानुपातिक उम्मेदवार मधु प्रसाद न्यौपानेले कांग्रेसको नीति, सिद्धान्त र घोषणापत्र जनतासम्म पुर्याउन सबै तहका नेता कार्यकर्ता सक्रिय हुनुपर्ने बताउनुभयो । उहाँले समानुपातिक प्रणालीमार्फत पनि कांग्रेसलाई बलियो बनाउने लक्ष्य रहेको उल्लेख गर्नुभयो । छलफल कार्यक्रममा सहभागीहरूले एक मतले कांग्रेसको पक्षमा जनमत सिर्जना गर्न घरदैलो अभियानलाई तीव्र बनाउने र आपसी समन्वयका साथ चुनावी गतिविधि अघि बढाउने निर्णय गरेका छन् ।
आजै भएको छलफलले निर्वाचन सफल गराउनका लागि विभिन्न समिति उपसमिति समेत गठन गरेको छ । नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर १ का सभापति भेषराज पाण्डे संयोजक रहने गरि मूल समिति निर्माण गरिएको छ । त्यस्तै प्रचारप्रसार उपसमितीको संयोजक नेपाली काङ्ग्रेस महासमिति सदस्य जानकीलाल बस्नेत, क्षेत्रीय सहसचिव प्रकाश कुमार जिसीलाई सह संयोजक बनाइएको छ ।
आर्थिक उपसमितिको संयोजकमा दिनेश गिरी रहनु भएको छ भने गोविन्द ओली, घनश्याम ज्ञवाली, युवराज पोख्रेल लालवीर खड्का सदस्य रहनु भएको छ । पूर्व क्षेत्रीय सभापति अनुराग यादव अनुगमन उपसमितीको संयोजक रहनु भएको छ । नेपाली कांग्रेस लमही नगर सभापति सन्तोष बुढाथोकी युवा परिचालन उपसमितीको संयोजक हुनु भएको छ ।
महासमिति सदस्य कर्ण बहादुर बुढाथोकी संयोजक र जिल्ला सदस्य लिलाराम खनाल सह संयोजक रहने गरि भातृ / शुभेच्छुक समन्वय उपसमिति गठन गरिएको छ ।
प्रतिबद्धता उपसमितिको संयोजकमा पूर्व जिल्ला उपसभापति नारायण विसी रहनु भएको छ भने लोकराज केसी, हरि भुसाल, शेषदत्त चौधरी, हल्लु चौधरी, चुडामणी आचार्य, शिव ओली, विक्रान्त ज्ञवाली, विकास रजौरे सदस्य रहनु भएको छ । नेपाली काङ्ग्रेस महासमिति सदस्य गिरिजादेवी न्यौपाने संयोजक रहने गरि महिला परिचालन उपसमिति गठन गरिएको छ ।
कन्ट्कन्दार, बडघर, अघरिया परिचालन समन्वय उपसमितिको संयोजकमा गणेश चौधरी, अवधी सांस्कृतिक समन्वय उपसमितीको संयोजकमा पूर्व जिल्ला सदस्य राम प्रताप यादव, श्रमिक समन्वय उपसमितिको संयोजकमा शिव प्रसाद चौधरी, सेवानिवृत राष्ट्र सेवक कर्मचारी जेष्ठ नागरिक समन्वय उपसमितिको संयोजकमा हरिहर शर्मा रहनु भएको छ भने शेषदत्त चौधरी, तारा प्रसाद खनाल लगायत सदस्यमा रहनु भएको छ ।
यी उपसमितिहरूमा आवश्यकताका आधारमा सदस्यहरू थपिने निर्णय गरिएको छ । यसअघि सम्पन्न बैठकले तथ्याङ्क संकलनका लागि महासमिति सदस्य अनुप कुमार थापाको संयोजकत्वमा तथ्याङ्क संकलन समिति र क्षेत्रीय सचिव खेमलाल चौधरीको संयोजकत्वमा पाँच सदस्यीय सचिवालय समिति गठन गरेको थियो ।
नेपाली काङ्ग्रेस दाङ -१ सभापति भेषराज पाण्डेको सभापतित्व तथा काङ्ग्रेस सहमहामन्त्री तथा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार योगेन्द्र चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सहजीकरण सचिव हरिहर शर्माले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्