दाङ – नेपाली कांगेसका सभापति गगन थापाले सुनसरीको देवानगञ्ज गाउँपालिका, कप्तानगञ्जमा भएको घटनाको तत्काल निष्पक्ष, स्वतन्त्र र विश्वासयोग्य छानबिन गर्न सरकारसँग माग गरेका छन ।
सोमबार विज्ञप्ति जारी गर्दै सभापति थापाले नागरिकको ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था सिर्जना हुनुलाई सरकारको गम्भीर सुरक्षा कमजोरी ठहर गर्दै यसको पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन ।
सामाजिक सद्भावमा असर पर्न सक्ने संवेदनशील परिस्थितिमा राज्य अझ बढी संयमित, सतर्क र जिम्मेवार हुनुपर्ने उनको भनाइ छ । थापाले केवल सुरक्षा निकायका प्रमुख परिवर्तन गरेर मात्र नपुग्ने र सही तथा निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन ।
थापाले मृतकका परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउन, घाइतेहरूको अविलम्ब उपचार गर्न र प्रभावित क्षेत्रमा शान्तिसुरक्षा एवं जनविश्वास पुनःस्थापित गर्न सरकारको ध्यानाकर्षण गराएका छन । उनले परिस्थिति थप जटिल नबनोस भन्नका लागि अफवाह वा उत्तेजनामा नलागी सामाजिक सद्भाव कायम राख्न आग्रह गरेका छन ।

प्रतिक्रिया दिनुहोस्