दाङ – लमहीमा आगामी भदौ ११ गतेदेखि रमाइलो सांगीतिक मेला आयोजना हुने भएको छ । राष्ट्रिय संगीतकर्मी संघ जिल्ला कार्यसमिति दाङको आयोजनामा भदौ ११ गतेदेखि २२ गतेसम्म लमहीस्थित सार्वजनिक बगैँचामा सांगीतिक तथा मनोरञ्जनात्मक मेला सञ्चालन हुने भएको हो ।
मेलाको तयारी तथा उद्देश्यबारे जानकारी दिन मंगलबार लमहीमा आयोजित पत्रकार सम्मेलनमा आयोजकले मेलाबारे जानकारी दिएको हो ।राष्ट्रिय संगीतकर्मी संघ दाङका अध्यक्ष दीपक बर्माका अनुसार मेलाको मुख्य उद्देश्य मनोरञ्जनसँगै सामाजिक उत्तरदायित्व, स्थानीय कला तथा संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्नु हो । मेलाको अवधिभर लमही नगरपालिका क्षेत्रभित्र रहेका सामुदायिक विद्यालयमा अध्ययनरत अनाथ बालबालिकामध्ये हरेक दिन एक जनालाई सहयोग गर्ने कार्यक्रमसमेत राखिएको उनले जानकारी दिए ।
मेलामार्फत आयोजक संस्थाको प्रचारप्रसार गर्नुका साथै विभिन्न सामाजिक विषयमा जनचेतना फैलाउने उद्देश्य रहेको अध्यक्ष बर्माले बताए । स्थानीय कला, संस्कृति र प्रतिभालाई राष्ट्रिय स्तरका कलाकारसँग जोड्दै मनोरञ्जनको माध्यमबाट सकारात्मक सन्देश प्रवाह गर्ने आयोजकको तयारी छ ।
मेलामा राष्ट्रिय स्तरका चर्चित गायक गायिका, मोडेल तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहनेछ । स्थानीय कलाकारलाई समेत प्राथमिकता दिइने भएकाले मेलाले स्थानीय प्रतिभाको पहिचान र प्रवर्द्धनमा योगदान पुग्ने आयोजकको विश्वास छ ।
मेलामा विभिन्न सांगीतिक तथा मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गरिनेछ । मेला प्रत्येक दिन साँझ ४ बजेदेखि राति १० बजेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । मेलामा प्रवेशका लागि प्रतिव्यक्ति १ सय रुपैयाँ टिकट शुल्क निर्धारण गरिएको छ ।
आयोजकका अनुसार भदौ ११ देखि २२ गतेसम्म सञ्चालन हुने मेलाले लमहीको सांस्कृतिक तथा मनोरञ्जनात्मक गतिविधिलाई थप चलायमान बनाउनुका साथै सामाजिक सेवाको भावनालाई समेत जोड्नेछ । सांगीतिक मनोरञ्जनसँगै सामाजिक सेवा र स्थानीय कला संस्कृतिको प्रवर्द्धनलाई प्राथमिकतामा राखिएकाले मेला विशेष हुने आयोजकको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्