भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सिपि नेपालको सहयोग

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर १९ आश्विन २०८३, सोमबार
3 Min Read
Aa

दाङ – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परेर बेपत्ता भएका परिवारलाई क्रियटिङ पोसिबिलिटिज नेपाल (सिपि नेपाल) ले राहत तथा सहयोग उपलब्ध गराएको छ । लमही नगरपालिकाको समन्वयमा बाढीका कारण आफन्त गुमाएका तथा परिवारका सदस्य बेपत्ता भएपछि कठिन परिस्थितिमा रहेका परिवारलाई संस्थाले दैनिक उपभोग्य सामग्रीसहित आर्थिक सहयोग गरेको हो ।

सिपि नेपालले लमही नगरपालिका–४ बुट्कवाका शरद कुमार चौधरी र सुकदेव चौधरी ( बसाई श्रीगाउँ ), लमही नगरपालिका–३ वनगाउँका शम्भुजीत चौधरी र लमही नगरपालिका–६ खैरीकी शिवानी कुमारी चौधरीका परिवारलाई सहयोग गरेको हो ।

DWC क्यानडाको सहयोगमा ती परिवारलाई चामल, दाल, नुन, तेल, चिनी, कापी–कलम, लत्ताकपडा, ब्ल्याङ्केट, साइकललगायतका सामग्री उपलब्ध गराइएको थियो । त्यस्तै प्रत्येक परिवारलाई नगद १० हजार रुपैयाँका दरले आर्थिक सहयोगसमेत प्रदान गरिएको छ । बाढीपछि परिवारको दैनिक जीवनयापनमा परेको कठिनाइलाई केही हदसम्म सहज बनाउने उद्देश्यले सहयोग गरिएको सिपि नेपालले जनाएको छ ।

सहयोग हस्तान्तरण कार्यक्रममा DWC क्यानडाका प्रतिनिधि, सिपि नेपालका निर्देशक दिनेशराज सापकोटा, महिला सशक्तीकरण संयोजक सरिता चौधरी, कार्यक्रम अधिकृत हेमराज शर्मा, लमही नगरपालिका–४ का वडा सदस्य उमाकान्त चौधरी, कट्कन्दारका हल्लु प्रसाद चौधरी, बुट्कवा टोल विकास संस्थाका अध्यक्ष मुकेशकुमार चौधरी तथा समाजसेवी शिवप्रसाद चौधरीलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम अधिकृत हेमराज शर्माका अनुसार भोटेकोशी बाढीमा मजदुरीका लागि गएका र बाढीमा परी बेपत्ता भएका परिवारलाई लक्षित गरी सिपि नेपालले विभिन्न स्थानमा राहत सहयोग गर्दै आएको छ । यसअघि राजपुर गाउँपालिकाका दुई र गढवा गाउँपालिकाका तीन गरी पाँच जना बेपत्ता भएका व्यक्तिका परिवारलाई सहयोग गरिसकिएको उनले जानकारी दिए ।

उनका अनुसार असोज १९ गते लमही नगरपालिका–४ का चार, राप्ती गाउँपालिकाका चार र घोराही उपमहानगरपालिकाका दुई परिवार गरी थप १० परिवारलाई सहयोग गरिएको छ । बाढीका कारण परिवारका सदस्य बेपत्ता भएपछि आर्थिक तथा मानसिक रूपमा कठिन अवस्थामा रहेका परिवारलाई तत्काल आवश्यक पर्ने सामग्री उपलब्ध गराउने कार्यलाई प्राथमिकता दिइएको शर्माले बताए ।

रसुवाको भोटेकोशी नदीमा तिब्बततर्फबाट आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङलगायतका नदी तटीय क्षेत्रमा ठूलो जनधनको क्षति पुर्‍याएको थियो । बाढीमा परी धेरै मानिसको ज्यान गएको तथा केही अझै बेपत्ता रहेका छन् । रोजगारी तथा मजदुरीका लागि विभिन्न जिल्लाबाट गएका नेपालीसमेत बाढीको चपेटामा परेका थिए ।

विपद्का कारण परिवारका सदस्य बेपत्ता भएपछि उनीहरूका परिवारमा आर्थिक संकटसँगै दैनिक जीवनयापनमा समेत समस्या देखिएको भन्दै सिपि नेपालले सहयोगलाई निरन्तरता दिएको जनाएको छ।

सिपि नेपालले विगतदेखि नै शिक्षा, महिला सशक्तीकरण, विपद् व्यवस्थापन तथा समुदायको सामाजिक तथा आर्थिक विकासका क्षेत्रमा विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको छ । बाढीपीडित परिवारलाई गरिएको पछिल्लो सहयोग पनि संस्थाको सामाजिक उत्तरदायित्वअन्तर्गतको मानवीय सहयोग भएको संस्थाले जनाएको छ ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्