दाङ – लमही नगरपालिका वडा नम्बर ३ अन्तर्गतका सातवटै गाउँका नागरिकलाई घरनजिकै सहज र सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको टिकुलीगढस्थित नगर स्वास्थ्य केन्द्र स्थानीयवासीका लागि स्वास्थ्य सेवाको भरपर्दो आधार बन्दै गएको छ । सामान्य स्वास्थ्य समस्या देखिँदा उपचारका लागि लमही अस्पतालसम्म पुग्नुपर्ने बाध्यता हटाउँदै स्वास्थ्य केन्द्रले गाउँमै आधारभूत स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।
लमही नगरपालिकाले नागरिकलाई आधारभूत स्वास्थ्य सेवाको पहुँचमा ल्याउने उद्देश्यले नगरका नौवटै वडामा नगर स्वास्थ्य केन्द्र केहि वर्ष अगाडी नै सञ्चालनमा ल्याएको हो । सोही अभियानअन्तर्गत वडा नम्बर ३ को टिकुलीगढमा स्थापना गरिएको स्वास्थ्य केन्द्रबाट स्थानीय नागरिकले विभिन्न स्वास्थ्य सेवा लिँदै आएका छन् ।
नगर स्वास्थ्य केन्द्रबाट सामान्य बिरामीको उपचार, सुरक्षित मातृत्व सेवा, परिवार नियोजन, नियमित खोप कार्यक्रम, पोषण सेवा तथा शीघ्र कुपोषणको पहिचान र उपचारलगायतका आधारभूत स्वास्थ्य सेवाहरू उपलब्ध हुँदै आएका छन् । जटिल प्रकृतिका बिरामीलाई भने थप उपचारका लागि सम्बन्धित स्वास्थ्य संस्थामा पठाउने गरिएको छ ।
लमही नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष मनोज कुमार चौधरीका अनुसार वडाका सातवटै गाउँका नागरिकलाई सहज हुने स्थानमा स्वास्थ्य केन्द्र स्थापना गरिएको हो । गाउँमै आधारभूत स्वास्थ्य सेवा उपलब्ध हुँदा विशेषगरी ज्येष्ठ नागरिक, महिला, बालबालिका तथा आर्थिक अवस्था कमजोर भएका परिवारलाई राहत मिलेको उहाँको भनाइ छ ।
वडा अध्यक्ष चौधरीले भन्नुभयो, “वडाका सबै गाउँका नागरिकले सहज रूपमा स्वास्थ्य सेवा प्राप्त गर्न सकून् भन्ने उद्देश्यले नगर स्वास्थ्य केन्द्र स्थापना गरिएको हो । सामान्य बिरामी हुँदा पनि उपचारका लागि लमही अस्पताल पुग्नुपर्ने अवस्थालाई अन्त्य गर्दै नागरिकलाई आफ्नै गाउँनजिकै सेवा उपलब्ध गराउने प्रयास गरेका छौँ । सरकारले निःशुल्क उपलब्ध गराउने अधिकांश औषधि पनि स्वास्थ्य केन्द्रबाटै पाइने भएकाले स्थानीयवासीलाई थप सहज भएको छ ।”
टिकुलीगढस्थित नगर स्वास्थ्य केन्द्रमा दैनिक औसत २० देखि २५ जनासम्म बिरामी उपचार तथा स्वास्थ्य परामर्शका लागि आउने गरेको केन्द्रमा कार्यरत अनमी प्रतीक्षा ज्ञवालीले जानकारी दिनुभयो । उहाँका अनुसार स्वास्थ्य केन्द्रले संस्थामा आउने सेवाग्राहीलाई मात्र नभई समुदायमै पुगेर पनि विभिन्न स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
स्वास्थ्यकर्मीहरूले समय–समयमा नागरिकका घरदैलोमा पुगेर ज्येष्ठ नागरिक घरभेट कार्यक्रम, बालबालिकाको पोषण अवस्था लेखाजोखा, डेङ्गु रोग नियन्त्रणसम्बन्धी सचेतना तथा सुत्केरी महिला भेटघाट कार्यक्रम सञ्चालन गर्ने गरेका छन् । यसले स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका नागरिकलाई समेत प्रत्यक्ष लाभ पुर्याएको छ ।
नगरपालिकाले नौवटै वडामा सञ्चालन गरेका अधिकांश नगर स्वास्थ्य केन्द्रमा एक जना अहेव, एक जना अनमी र एक जना कार्यालय सहयोगीसहित तीन जना कर्मचारीको व्यवस्थापन गरेको छ । आवश्यक जनशक्ति परिचालन गरी स्थानीयस्तरमै आधारभूत स्वास्थ्य सेवा प्रवाह गर्ने नगरपालिकाको प्रयासले स्वास्थ्य सेवामा नागरिकको पहुँच विस्तार हुँदै गएको छ ।
वडा नम्बर ३ का ५७ वर्षीय राम लौटन चौधरी पनि गाउँमै स्वास्थ्य सेवा पाउँदा खुसी हुनुहुन्छ । सामान्य स्वास्थ्य समस्या हुँदा उपचारका लागि टाढा जानुपर्ने बाध्यता हटेको उहाँको अनुभव छ । लमही अस्पताल वा अन्य स्वास्थ्य संस्थामा जाँदा सेवाग्राहीको भीड, पालो कुर्नुपर्ने अवस्था, समयको खर्च र यातायातलगायतका अतिरिक्त खर्च व्यहोर्नुपर्ने भएकाले सामान्य उपचारका लागि नगर स्वास्थ्य केन्द्र नै सहज भएको उहाँ बताउनुहुन्छ ।
उहाँले भन्नुभयो, “पहिले सामान्य बिरामी हुँदा पनि लमही अस्पताल र लमहीका निजि स्वास्थ्य संस्थामा जानुपर्ने बाध्यता थियो । अस्पतालमा भीडभाड हुने, पालो कुर्नुपर्ने र समय पनि धेरै लाग्ने गर्थ्यो । अहिले आफ्नै गाउँनजिकै स्वास्थ्य केन्द्र भएपछि सामान्य उपचार र औषधिका लागि टाढा जानुपर्ने अवस्था हटेको छ ।”
स्थानीय तहले स्वास्थ्य सेवालाई नागरिकको घरदैलोसम्म पुर्याउने उद्देश्यसहित सञ्चालन गरेका नगर स्वास्थ्य केन्द्रहरू ग्रामीण क्षेत्रका नागरिकका लागि महत्वपूर्ण आधार बन्दै गएका छन् । टिकुलीगढस्थित नगर स्वास्थ्य केन्द्रले पनि वडा नम्बर ३ का स्थानीयवासीलाई आधारभूत स्वास्थ्य सेवाको पहुँचमा जोड्दै उपचारलाई सहज, सरल र कम खर्चिलो बनाउन सहयोग पुर्याइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्