दाङ – देउखुरीमा मोटरसाइकलको ठक्करबाट एक जना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका–५ निवासी ७० वर्षीय सोर बुढा मगर रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
प्रहरीका अनुसार गएराति ११ः४० बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु.प्र.०२–००२ प ४५४२ नम्बरको मोटरसाइकलले बाटो काट्ने क्रममा बुढा मगरलाई ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका बुढा मगरको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक लमही नगरपालिका–५ रातोडाँडा निवासी सागर बुढा मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैबीच प्रहरीले सवारीसाधन चालक तथा पैदलयात्री सबैलाई सडकमा यात्रा गर्दा विशेष सावधानी अपनाउन आग्रह गरेको छ । सवारीसाधन चलाउँदा तीव्र गति नगर्न, ट्राफिक नियमको पूर्ण पालना गर्न तथा पैदलयात्रा गर्दा सडक पार गर्ने क्रममा दायाँबायाँ हेरेर सुरक्षित स्थानबाट मात्र बाटो काट्न प्रहरीले अनुरोध गरेको छ । सम्भावित दुर्घटना न्यूनीकरणका लागि सबैले आफ्नो जिम्मेवारी र सुरक्षाप्रति सचेत रहनसमेत प्रहरीले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्