दाङ – स्थानीयले भोगचलन गर्दै आएको ऐलानी जग्गामा गाउँपालिकाले गौशाला बनाउँदा विवाद सिर्जना भएको छ । गढवा गाउँपालिका–६ मनिकापुर स्थित करिव ४ बिगाह ऐलानी जग्गामा पालिका स्तरिय गौशाला निर्माण गर्न लागेपछि विवाद सिर्जना भएको हो ।
अतिक्रमण हुन सक्ने भन्दै जग्गाको संरक्षण र छाडा रहेका पशु चौपायाहरूको व्यवस्थापन पनि हुने भन्दै उक्त जग्गामा गौशाला निर्माण गर्न लागेको गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रलले बताउनु भयो । गौशाला निर्माण कार्य अन्तिम चरणमा पुग्दै गर्दा विवादले उग्र रुप लिंदै गएको छ ।
गौशाला निर्माण कार्य शुरु भएदेखिनै दुई पक्षविच विवाद शुरु भयो । लामो समयदेखि आफुहरुले भोगचलन गर्दै आएको र उक्त जग्गा नापी टोलीले नापजाँच गरि सकेको भन्दै गौशाला निर्माण कार्य रोक्न भनेर अमृता बुढा मगर सहित मनिकापुरका केहि स्थानीय जिल्ला अदालत घोराहीमा पुगेका थिए ।
उनीहरुले दिएको उजुरीका आधारमा जिल्ला अदालत घोराहीले उक्त क्षेत्रमा कुनैपनि काम नगर्नु नगराउनु भनेर असार २० गते अल्पकालीन अन्तरिम आदेश जारि गरेको छ । आदेशलाई कार्यान्वयन गर्नका लागि जिल्ला प्रशासन कार्यालय दाङ, गढवा गाउँपालिका र ६ नं. वडा कार्यालयलाई समेत जिल्ला अदालतले पत्राचार गरेको छ ।
दाङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले यहि २८ गते सम्म गौशाला निर्माणको काम रोक्न निर्देशन दिएको जानकारी दिनु भयो । अदालतले अल्पकालीन अन्तरिम आदेश जारि गरिसकेपछि काम रोक्नु पर्छ, गाउँपालिका अध्यक्ष ज्युलाई मैले काम रोक्नुस भनेर भनिसकेको छु, २८ गतेसम्म कुनैपनि काम हुँदैन’– प्रजिअ वैद्यले भन्नु भयो । छलफलको लागि दुवै पक्षलाई जिल्ला अदालत घोराहीले असार २८ गते बोलाएको छ ।
खोलाले छोडेर बगर बनाएको ऐलानी जग्गा स्थानीयले भोगचन गर्दै आएको जग्गा हो, निस्सा भरेको जग्गामा सुनियोजित ढंगले गौशाला बनाईनु राजनीतिक प्रतिशोध हो, यो कदापि मान्य हुँदैन’– उहाँले भन्नु भयो । स्थानीयले लगाएको बालीनालीमा वडाअध्यक्ष आलेको निर्देशनमा जेसिवी लगाई हानि नोक्सानी समेत पुर्याएको पुर्व राष्ट्रिय सभा सदस्य बुढाको आरोप छ ।
पालिकाले आर्थिक वर्ष २०७८÷ ७९ मा २२ लाख बजेट विनियोजन गरेर गौशाला निर्माण गर्न लागेको हो । वर्षौं देखि स्थानीयले भोगचन गर्दै आएको उक्त सार्वजनिक जग्गामा एकाएक वडा र पालिकाले तारवार गर्दा आफुहरु मर्कामा परेको स्थानीय नारायण बहादुर केसीको भनाई छ । हामीले भोगचलन गर्दै आएको जग्गा प्राप्तिका लागि निस्सा समेत भरेका थियौं तर हाम्रो सबै कागजात वडाअध्यक्षकै मिलेमतोमा अगाडी बढ्न सकेन’– केसीले भन्नु भयो ।
गढवा गाउँपालिका–६ का वडाअध्यक्ष वीर बहादुर आलेले खोलाले छोडेर बगर बनाएको ऐलानी जग्गा अतिक्रमण हुन लाग्दा जग्गाको संरक्षण गरेको बताउनु भयो । साथै छाडा रहेका पशु चौपायाको व्यवस्थापन पनि हुने भएकोले गौशाला बनाउन लागेको बताउदै जग्गाको क्षेत्रफल धेरै छ आवश्यक परेको बेला कुनै पनि सरकारी कार्यालयहरु गराउन सकिने भएकोले हामीले संरक्षण गरौँ भनेर चारैतिर तारजाली लगाएका छौं र गौशाला निर्माणको काम गरेका हौँ’–वडा अध्यक्ष आलेले भन्नु भयो ।
अतिक्रमण हुन लागेको जग्गा रोक्नु पर्छ भनेर समुदायको मागलाई हामीले कार्यान्वयन गरेका हौं, यहाँ कुनै व्यक्तिप्रति पूर्वाग्राही भएको होइनौ’– आलेले भन्नु भयो ।

प्रतिक्रिया दिनुहोस्