बबईका स्थानीयले गाउँमै पाए निशुल्क स्वास्थ्य सेवा

दाङ समाचार
दाङ समाचार २४ जेष्ठ २०७९, मंगलवार
4 Min Read
Aa

दाङ– बबई गाउँपालिका वडा नम्बर ५ बवरपुर निवासी ६० वर्षीय खिमा सुनार निकै खुशी देखिन्थिन । लामो समयदेखि स्वास्थ्य समस्या झेलिरहेकी सुनार आफ्नै गाउँमा डाक्टर सहितको निःशुल्क स्वास्थ्य सेवा पाएपछि खुशी भएकी हुन ।

अस्पतालसम्म जाने अवस्था थिएन । गाउँमै स्वास्थ्य शिविर सञ्चालन भएपछि उपचार पाइयो, उनले भनिन,–। ‘हाम्रो गाउँमा डाक्टरहरु आउनु भयो । राम्रोसंग औषधी खाने बारेमा डाक्टर अनुसार सल्लाह पनि पाए । गाउँमै स्वास्थ्य शिविर आउँदा निकै खुशी लागेको छ ।’ उनि जस्तै सोही वडाकै टिका वली पनि मुटुको रोगले थलिएको धेरै भयो । गाउँमै मुटु रोगको औषधी पाएपछि निकै खुशी छिन । उनि भन्छिन, ‘गाउँमै सञ्चालन गरिएको स्वास्थ्य शिविरबाट निःशुल्क औषधी पाइयो । डाक्टरहरुको राम्रो सल्लाह पनि लिन पाइयो । अब म निको हुने भए ।’

नेपाल औषधी व्यवसायी संघ दाङको आयोजना, बबई गाउँपालिकाको समन्वय एवम् माता मनकामना पोलिक्लिनिक प्रा.लिको प्राविधिक सहयोमा बबई गाउँपालिका वडा नम्बर ५ बवरपुरमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

शिविरमा तीनसय दशजना विरामीको निःशुल्क स्वास्थ्य चेकजाँच गरि औषधी वितरण गरिएको छ । नेपाल औषधी व्यवसाय संघ दाङले आइतवार बबई गाउँपालिका वडा नम्बर ५ बवरपुर स्थित जनता मा.विको प्राङ्गणमा बबई गाउँपालिकाका स्थानीयलाई लक्षित गरेर गाउँपालिका स्तरिय एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको संघका अध्यक्ष विष्णुप्रसाद पौडेलले जानकारी दिए । उनले सामान्य खर्चको अभावमा उपचार गर्न नपाएका नागरिकलाई लक्षित गरि शिविर सञ्चालन गरिएको बताए ।

पौडेलले भने, ‘हाम्रो समुदायमा धेरै नागरिक सामान्य उपचार गर्न समेत नपाएर रोग पालेर बस्न बाध्य छन् । त्यस्ता नागरिकका लागि शिविरले सहयोग पुर्याएको हामीले महसुस गरेका छौँ ।’
शिविरमा स्वास्थ्य जाँचका साथै चारलाख बराबरको निःशुल्क औषधि वितरण गरिएको छ ।

शिविरमा विशेषज्ञ चिकित्सकसहित दशजनाको टोली खटिएको थियो । बबई गाउँपालिका क्षेत्रमा भएको निःशुल्क स्वास्थ्य शिविरमा विभिन्न वडाका स्थानीयहरुले शिविरमा आएर सेवा लिएको नेपाल औषधी व्यवसायी संघ दाङ अध्यक्ष विपि पौडेलले जानकारी दिए ।

दुर्गम अनि विकट बस्तीका जनताका लागि स्वास्थ्य क्षेत्रमा पुहँच पुर्याउने उद्देश्यले एक दिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको हो । पैसाको कमीका कारण उपचारबाट बन्चित भइ अकालमा ज्यान नगुमाउन भन्ने उद्देश्यले विशेषगरी गरिब तथा अतिविपन्न जनताहरुको लागि एकदिने निःशुल्क स्वास्थ शिविरको आयोजना गरेको संघले जनाएको छ ।

शिविरमा सहभागी भएका ६० प्रतिशत विरामीहरुको हाडजोर्नी, नसा सम्बन्धी समस्या देखिएको थियो । अन्य केही विरामीहरुमा छाती, मुटु पेट सम्बन्धी समस्या देखिएको डाक्टर प्रकाश सुबेदीले बताए । नेपाल औषधी व्यवसायी संघले गतवर्ष मात्रै भारतसंग जोडिएको दाङको सीमावर्ती क्षेत्रमा पनि एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरि तीनसय नब्बेजना विरामीको स्वास्थ्य चेकजाँच गरि करिब छलाख बराबरको औषधी वितरण गरेको थियो ।

वरिष्ठ फिजिसियन डाक्टर प्रकाश सुबेदी, एम.डि डाक्टर सुनिता जिसी, डाक्टर राहुल उदय लगायतका स्वास्थ्यकर्मीहरुबाट विरामीहरुको निःशुल्क स्वास्थ्य चेकजाँच तथा औषधी वितरण गरिएको थियो ।

नेपाल औषधी व्यवसायी संघ दाङका अध्यक्ष विष्णुप्रसाद पौडेको अध्यक्षतामा भएको कार्यक्रममा संघका सचिव सुनिल रेग्मी, कोषाध्यक्ष गिरीराज न्यौपाने, राजीमान बुढा, सन्तोष अधिकारी, किशोर गौतम, लगायतले कार्यक्रममा बोलेका थिए ।

बबई गाउँपालिका वडा नम्बर ५ का वडासदस्य नोखी डाँगीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण संघका सचिव सुनिल रेग्मीले गरेका थिए ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्