दाङ– राप्ती गाउँपालिका-२ लालमटियाका विद्यार्थी राम मरसाई मगरले अन्तर्राष्ट्रिय चित्रकला प्रतियोगितामा क्षेत्रीय पुरस्कार प्राप्त गरेका छन् ।
संयुक्त राष्ट्रसंघीय मानव बसोबास कार्यक्रम (यूएन–ह्याबिट्याट) को एसिया तथा प्रशान्त क्षेत्रीय कार्यालयले आयोजना गरेको सन् २०२६ को विश्व आवास दिवस बालचित्रकला प्रतियोगितामा रामले ‘यूएन–ह्याबिट्याट क्षेत्रीय पुरस्कार’ प्राप्त गरेका हुन् ।
आदर्श नमुना माध्यमिक विद्यालय लालमटियामा कक्षा ६ मा अध्ययनरत रामले ‘हरित शहर र समुदाय’ विषयमा तयार पारेको चित्रमार्फत उक्त सफलता हासिल गरेका हुन् । एसिया–प्रशान्त क्षेत्रका ६ देशबाट प्राप्त ३५३ वटा चित्रमध्ये रामको सिर्जना उत्कृष्ट छनोट भएको हो ।
उनको चित्रले हरियाली संरक्षण, स्वच्छ वातावरण, दिगो शहरी विकास तथा वातावरणमैत्री जीवनशैलीको सन्देश प्रवाह गरेको मूल्यांकनकर्ताहरूले बताएका छन् । प्रतियोगितामा नेपालबाट दाङको देउखुरी क्षेत्रका चार स्थानीय तहका आठ विद्यालयबाट २४ जना विद्यार्थी सहभागी भएका थिए ।
यूएन–ह्याबिट्याटको भूमिहीन तथा बटैया किसानहरूका लागि सुरक्षा सञ्जाल तथा हरित ग्रामीण नेपालको लागि भू–सम्बन्ध समाधान (एलफोरएसीटी) परियोजनाको पहलमा लमही नगरपालिका, राप्ती, गढवा र राजपुर गाउँपालिकाका शिक्षा शाखासँगको समन्वयमा प्रतियोगिता आयोजना गरिएको थियो ।
गत अगस्ट २६ मा लमही नगरपालिकाको सभाहलमा सम्पन्न स्थानीय प्रतियोगिताबाट छनोट भएका विद्यार्थीहरूले चित्र प्रस्तुत गरेका थिए । प्रतियोगितामा सहभागी सबै विद्यार्थीलाई प्रमाणपत्रसमेत वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्