जिल्ला समन्वय समिति बाँकेको प्रमुखमा कांग्रेसका ज्ञानेन्द्र चौधरी निर्वाचित

दाङ समाचार
दाङ समाचार २७ जेष्ठ २०७९, शुक्रबार
2 Min Read
Aa

दाङ – जिल्ला समन्वय समिति बाँकेको प्रमुखमा नेपाली कांग्रेसका ज्ञानेन्द्र कुमार चौधरी निर्वाचित भएका छन् । जनता समाजवादी पार्टी (जसपा) नेपालका उमेश कुमार कुर्मीलाई पराजित गर्दै चौधरी प्रमुखमा निर्वाचित भएका हुन् । चौधरीले १३ मत र कुर्मीले ३ मत पाए । चौधरी यसअघि जिल्ला समन्वय समितिमा उपप्रमुख थिए । उनी डुडुवा १ बाट वडा सदस्यमा निर्वाचित भएका थिए ।

यस्तै महिला सदस्यमा जसपाबाट नेपालगञ्ज ५ की तरुन्नुम बानो शेष, माओवादी केन्द्रबाट नेपालगञ्ज ४ की रेवती दमाई र नेकपा एकीकृत समाजवादीबाट बैजनाथ ५ की चमेली थरुनी निर्वाचित भएका छन् । सत्ता गठबन्धन दलहरुबीच भएको भागबण्डालाई अस्विकार गरेको जसपाले प्रमुख र महिला सदस्यमा छुट्टै उम्मेदवारी हालेको थियो । आफ्नो स्पष्ट बहुमत हुँदाहुँदै पनि गठबन्धनकारी दलहरुलाई समेट्दै कांग्रेसले आफूले प्रमुख र उपप्रमुखसहित ३ जना खुला र एक दलितरअल्पसंख्यक सदस्य राखेर जसपा, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई १/१ जना महिला सदस्य दिएको थियो ।

उपप्रमुख, दलितरअल्पसंख्यक र खुला सदस्य भने यसअघि नै निर्विरोध भइसकेका थिए । कोहलपुर ५ बाट वडा सदस्यमा निर्वाचित भएकी नेपाली कांग्रेसकी सीता कार्की उपप्रमुखमा निर्विरोध भइसकेकी थिइन् । यस्तै दलितरअल्पसंख्यक सदस्यमा पनि निर्विरोध भएको थियो । नेपालगञ्ज २ का जगदिश बाल्मिकी निर्विरोध भएका थिए । खुला सदस्य पनि तीन जना नै निर्विरोध भए । नेपालगञ्ज ५ का उदय नारायण मिश्र, जानकी ५ का जुल्फेकार अली मनिहार र कोहलपुर १५ का सन्त कुमार थारु निर्विरोध भएका हुन् । तीन जना नै कांग्रेसका हुन् । बाँकेमा कांग्रेसका १२, जसपाका ३ र माओवादीका १ जना मतदाता हुन् ।

प्रतिक्रिया दिनुहोस्