प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे सदनलाई जानकारी गराउन एमालेको माग

दाङ समाचार
दाङ समाचार २९ जेष्ठ २०७९, आईतवार
2 Min Read
Aa

काठमाडौं – प्रमुख प्रतिपक्ष नेकपा एमालेका सांसद प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणका बारेमा संसदमा जानकारी गराउन माग गरेका छन् । प्रतिनिधि सभा बैठकमा समय माग गरी बोल्दै सांसद ज्ञवालीले प्रधानमन्त्रीको अमेरिका भ्रमणको सम्बन्धमा सत्तारुढ गठबन्धनका दलले समेत प्रश्न उठाइरहेकाबताए ।

प्रधानमन्त्रीको भ्रमण राजकीय, सद्भावना अथवा व्यापारिक कुन प्रकारको हो भन्ने विषय संसदमा जानकारी गराउनुपर्ने उनले बताए । सत्तापक्षको एउटा घटकको प्रमुख सचेतकले प्रधानमन्त्रीको अमेरिका भ्रमण रद्द गरियोस् भन्ने तहसम्म प्रश्न उठाउनु सामान्य नभएको भन्दै उनले भने, ‘सत्ता गठबन्धनमा रहेको असझदारी र विवाद मात्रै हो भनेर बुझ्ने या यो भ्रमणसँग जोडिएका केही अत्यन्त महत्वपूर्ण विषयहरु छन्, जससँग सत्ता घटकहरुबीच छलफल चलिरहेको छ र त्यो विषयलाई उठाउनुपर्ने आवश्यकता प्रमुख सचेतकले बोध गर्नुभयो ।

’ उनले अघि भने, ‘यो विषयमा सदन अनुत्तरित रहनु हुँदैन भन्ने मलाई लाग्छ । सम्माननीय प्रधानमन्त्रीज्यूको तर्फबाट यस विषयमा सदनलाई अविलम्ब जानकारी गराउनु आवश्यक छ भन्ने कुरा म अनुरोध गर्न चाहन्छु ।’ यस्ता गम्भीर प्रश्नहरुमा प्रमुख प्रतिपक्षलाई जानकारी गराउन वा परामर्श लिने सरकार छाडेको उनले बताए ।

उनले अघि भने, ‘भ्रमण राजकीय हो कि आधिकारिक हो ? कुनै अफिसियल या कुनै विजनेश लाइक हो त्यस सम्बन्धमा हामिलाई जानकारी छैन । यो विषय पनि मैले सदनमा रेकर्ड गराउन चाहन्छु ।’ देउवाको अमेरिका भ्रमण प्रधानमन्त्रीको हैसियतमा हुन लागेको हो कि रक्षामन्त्रीको हैसियतमा भन्ने प्रश्न समेत गरे ।

प्रतिक्रिया दिनुहोस्