काठमाडौं – जुम्लाका सांसद गजेन्द्रबहादुर महतले शहरी विकास मन्त्रालयका धेरैजसो योजना मन्त्रीका निर्वाचन क्षेत्रमा मात्र पुगेको आरोप लगाएका छन् ।
आइतबार प्रतिनिधिसभामा मन्त्रालयगत बजेटमाथिको छलफलका क्रममा उनले शहरी विकास मन्त्रालयको बजेट नेता र मन्त्री उन्मुख भएको टिप्पणी गरे ।
असाध्यै हामीलाई हेपेर योजना बनाइएको छ । कहाँबाट कर्मचारीलाई कमिसन खुवाएर हो वा के भएर हो (कर्णालीमा) ५–६ वटा छिरेको छ’ उनले भने, ‘जो जो पावरफुल मन्त्री छन्, उनीहरुकोमा गन्नै नसकिने योजना छ ।’
उनले शहरी विकास मन्त्रालयको योजना मन्त्रीहरुको सेटिङमा बनेको पनि आरोप लगाए । ‘शहरी विकासका योजना मन्त्रीहरुको सेटिङमा बनेको छ । यसो हेर्दा मन्त्रीको आयु अनुसारको योजना बनेको पनि देख्छु’ उनले भने ।
नेकपा माओवादी केन्द्रबाट निर्वाचित सांसद महतले दुर्गमका बिरामीलाई अस्पतालसम्म आउँदाको यातायात खर्चमा अनुदान दिनुपर्ने बताए । कर्णालीबाट काठमाडौंसम्म उपचार गर्न आउँदा ४०–५० हजार खर्च हुने गरेको भन्दै मन्त्री महतले यो भाडामा ५० प्रतिशत वा २५ प्रतिशत अनुदान दिनुपर्ने माग गरे ।
उनले काठमाडौंमा बस्ने मन्त्रीहरुले दुर्गमको पीडा नबुझ्ने पनि टिप्पणी गरे । ‘तपाईहरु त जुन हस्पिटल गए पनि भइहाल्यो रोजीछाडी छ, मेडिसिटी जानुहुन्छ कि, वीर, टिचिङ, पाटन जानुहुहुन्छ कि ? हामीलाई कहाँ छ ?’ उनले भने, ‘मुगुबाट जुम्ला आउन २५ ३० हजार भाडा बुझाउनुपर्छ, जुम्लाबाट काठमाडौं आउँदा ४०–५० हजार खर्च हुन्छ । त्यो भाडा कसले व्यहोर्ने ?’

प्रतिक्रिया दिनुहोस्