निशान दाजु भट्टराई
दाङ -मानसिक रोगको उपचारको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विस्तारीत सेवा सुरु भएको छ । मानसिक रोग विशेषज्ञ राखेर प्रतिष्ठानले उपचार सेवा सुरु गरेपछि मानसिक रोगका बिरामीहरु अस्पतालमा स्वास्थ्य जाँच गर्न आउनेको सख्या बढेको प्रतिष्ठानका रजिष्ट्रार प्रकाश थापाले जानकारी दिए ।
प्रतिष्ठानमा मानसिक रोग विशेषज्ञ डा. सन्जिव पण्डितले विशेषज्ञ स्वास्थ्य सेवासंगै बिरामीलाई परामर्शसमेत दिँदै आएका छन् । प्रतिष्ठानले मानसिक रोगका बिरामीहरुलाई भर्ना गरेर उपचार गर्नका निमित्त ४ वेड समेत छुट्याएको र यसलाई बढाएर १० वेड पुर्याउने योजना रहेको रजिष्ट्रार थापाले बताए । मानसिक रोगको उपचारका लागि प्रतिष्ठानले विशेषज्ञ सेवा थपेसंगै जिल्ला बाहिर जानुपर्ने वाध्यता अहिले हटेको छ ।
मानसिक रोग विशेषज्ञ डा. पण्डितले प्रतिष्ठानमा आएर उपचार गर्ने मानसिक रोगका बिरामीहरुको संख्या बढ्दो रहेको र उपचारकाक्रममा धेरैजसो बिरामीको स्वास्थ्यमा उल्लेख्य सुधार आएर घर फर्किने गरेको बताए । प्रतिष्ठानका सुचना अधिकारी निशान दाजु भट्टराईले अस्पतालमा विगत ३ महिना यता ओपिडिमा ९ सय ९२ जना मानसिक रोगका बिरामीहरुले स्वास्थ्य उपचारको सेवा पाएको जानकारी दिए ।
गएको जेठमा २ सय ८६ जना, असारमा ३ सय ५१ जना र सबैभन्दा धेरै साउनमा ३ सय ५५ जना मानसिक रोगका बिरामीले उपचार सेवा लिएका छन् । मानसिक रोग विशेषज्ञ डा.पन्डितले जेठमा मनोत्रासका बिरामी ८६ जना, डिप्रेसनका बिरामी ६७ जना, गम्भिर मानसिक रोगका बिरामी २७ जना, लागु औषध तथा नसाजन्य बिरामी २९ जना र अन्य ८२ जनाले सेवा पाएको बताए । त्यस्तै असारमा मनोत्रासका बिरामी १ सय ५ जना, डिप्रेसनका बिरामी ८६ जना, गम्भिर प्रकृतिका मानसिक रोगका बिरामी २४ जना, लागु औषध तथा नसाजन्य बिरामी २३ जना र अन्य १ सय १० जना बिरामीको उपचार भएको प्रतिष्ठानले जनाएको छ ।
त्यस्तै साउनमा मात्रै मनोत्रासका बिरामी १ सय २ जना, डिप्रेसनका बिरामी ८८ जना, गम्भिर प्रकृतिका मानसिक रोगका बिरामी २४ जना, लागु औषध तथा नसाजन्य बिरामी १९ जना र अन्य ६४ जना बिरामीले सेवा पाएका छन् । प्रतिष्ठानमा उपचारका लागि आएका मानसिक रोगका बिरामीको यहाँ नै उपचार भएको र अस्पतालवाट बिरामी रिफर शुन्य रहेको डा. पण्डितको भनाई छ ।
गएको जेठमा १७ जना, असारमा १५ जना, साउन १० जना मानसिक रोगका बिरामीलाई भर्ना गरेर उपचार गरिएको छ । साथै प्रतिष्ठानमा सबै विधि अवलम्वन गर्दा पनि मानसिक रोगका बिरामीको उपचार हुन नसकेको खण्डमा विद्युतिय माध्यमबाट पनि उपचार गर्ने गरी इसिटि सेवा सुरु गरीएको छ।

प्रतिक्रिया दिनुहोस्