दाङ – भारतीय सेनाको अग्निवीर योजनाअन्तर्गत सेवा अवधि चार वर्षबाट बढाएर छ वर्षसम्म पुर्याउने सम्भावनाले नेपाली गोर्खा युवाका लागि सैनिक भर्तीको बाटो पुनः खुल्ने आशा जगाएको छ ।
भारत सरकारले अग्निवीर सेवा अवधिसम्बन्धी गरेको नयाँ निर्णयसँगै सन् २०२२ देखि रोकिएको नेपाली गोर्खा सैनिक भर्ती पुनः सुरु गर्ने विषयमा समेत चर्चा र बहस सुरु भएको छ ।
प्रधानमन्त्री बालेन्द्र शाहको प्रस्तावित भारत भ्रमणको तयारी भइरहेका बेला भारतको यस निर्णयलाई नेपाल–भारत सम्बन्धमा सकारात्मक र मित्रवत् संकेतका रूपमा हेरिएको छ । भ्रमणका क्रममा नेपाली गोर्खा भर्तीको विषयले प्राथमिकता पाउने र त्यसबाट नेपाली युवाका लागि भारतीय सेनामा प्रवेशको अवसर पुनः खुल्न सक्ने अपेक्षा गरिएको छ ।
यद्यपि नेपाली गोर्खा युवाको भर्ती पुनः सुरु गर्ने विषयमा नेपाल र भारतबीच औपचारिक सहमति वा घोषणा भइसकेको छैन । त्यसैले भर्ती प्रक्रिया कहिलेदेखि सुरु हुन्छ भन्ने विषय अझै अनिश्चित छ ।
अब सबैको चासो प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण र त्यस क्रममा हुने छलफलमा केन्द्रित भएको छ । भ्रमणले नेपाली युवाका लागि भारतीय सेनाको ढोका पुनः खोल्ने आधार तयार गर्छ वा गर्दैन भन्ने विषय आगामी दिनमा स्पष्ट हुनेछ ।

प्रतिक्रिया दिनुहोस्