दाङ क्षेत्र नम्बर १ बाट खुमबहादुर खड्काका छोरा अनुराग सहित चार जनाको नाम सिफारिस

दाङ समाचार
दाङ समाचार १६ भाद्र २०७९, बिहीबार
8 Min Read
Aa

दाङ – सत्ता गठवन्धनको सिट बांडफांड बारे टुंगो नलाग्दै नेपाली कांग्रेसले देशैभर प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा सम्भावित उम्मेदवारहरुको नाम सिफारिस कार्यलाई तीव्रता दिएको छ । यसैविच नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर १ ले आगामी मङ्सिर ४ गते हुन लागेको प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि सम्भावित उम्मेदवारहरुको नाम सिफारिस गरेको छ ।

जस अनुशार नेपाली काङ्ग्रेस दाङ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य पदका लागि प्रत्यक्ष तर्फबाट कृष्ण किशोर घिमिरे, योगेन्द्र चौधरी, प्रदीप कुमार थापा र अनुराग खड्काको नाम सिफारिस भएको छ ।

कृष्ण किशोर घिमिरे
कृष्ण किशोर घिमिरे, घोराही उपमहानगरपालिका-२ रामपुर निवासी हुन । २०५६ सालको आम निर्वाचनमा उनि दाङ निर्वाचन क्षेत्र ३ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन्। उनले नेकपा एमालेका शंकर पोख्रेललाई फराकिलो मतले पराजित गरेका नेता हुन् । पोख्रेलले ११ हजार मत प्राप्त गर्दा घिमिरेले १९ हजारको हाराहारीमा मत लिन सफल भएका थिए ।

२०६४ सालमा पनि घिमिरे प्रतिनिधि सभा सांसदको टिकट लिन सफल भएका थिए, तर त्यति बेला कांग्रेसका प्रभावशाली नेता स्वर्गीय खुमबहादुर खड्काले सुरक्षाको चुनौती भएको भन्दै निर्वाचन बहिस्कार गरे, कार्यकर्ताको दवाबले खड्का फेरी चुनावमा सहभागी भएका थिए । फेरी फेरी चुनावमा सहभागी हुँदा दाङका कांग्रेसमा एक प्रकारको नैराश्यता सिर्जना भएको कारण २०६४ सालमा दाङका चार वटै निर्वाचन क्षेत्रमा कांग्रेसले पराजय भोनु परेको थियो। अहिले उनि नेपाली कांग्रेसको केन्द्रीय सदस्य छन।

योगेन्द्र चौधरी
दाङको साविक गंगापरस्पुर गाविस -२ हाल गढवा गाउँपालिका ४ निवासी योगेन्द्र चौधरी २०७० सालको निर्वाचनमा समानुपातिकबाट सांसद भएका थिए । नेपाली काँग्रेस विभाजन भएका बेला प्रजातान्त्रिक काँग्रेस पार्टीको सचिब भएका राजेन्द्र प्रसाद चौधरीका छोरा हुन योगेन्द्र । काँग्रेस भएकै कारण द्वन्द्वकालमा विस्थापित भइ पाँच वर्ष काठमाण्डौमा बसेर राजनीति गतिविधि गरेका थिए । समाजशास्त्र विषयमा एम.ए उतिर्ण गरेका चौधरी दुई पटक केन्द्रीय सदस्य भैसकेका छन ।

क्रियाशिल वितरणका समयमा क्रियाशिल छानबिन समितिमा बसेर काम गरेका थिए । उनी सो क्रममा पन्ध्र जिल्ला पुगेको र ती जिल्लाहरुको राजनीति बुझेका नेता हुन योगेन्द्र चौधरी । स्थानीय निर्वाचनमा घरघर जाऔं, काँग्रेस जिताऔं भन्ने अभियानमा नेपाली काँग्रेस पार्टीले हुम्ला खटाएको थियो भने आसन्न प्रदेश र संघीय निर्वाचनका लागि उनलाई पार्टीले रुपन्देही जिल्लामा खटाएको छ ।

प्रदीपकुमार थापा
गढवा गाउँपालिका ७ निवासी प्रदीपकुमार थापा, विद्यार्थी जीवन देखि राजनीतिमा होमिएका सरल, भद्र व्यक्ति हुन । २०४० देखि ५१ साल सम्म शिक्षण पेशामा रहेका उनी काँग्रेस निकट नेपाल शिक्षक संघ दाङ क्षेत्र नम्बर १ को सभापति समेत भएका थिए भने संगठनकै केन्द्रीय प्रतिनिधि भएर पार्टीको लागि योगदान गरेका नेता हुन ।

उनी स्थायी शिक्षक थिए, २०५१ मा शिक्षण पेशाबाट राजिनामा दिएर पार्टीको सक्रिय राजनीतिमा लागेका थिए । तीन पटक सम्म महासमिति सदस्य निर्वाचित भएका थापा दाङका पुराना काँग्रेस नेता तिर्थराज ज्ञवाली “चैतु” , बलदेव शर्मा मजगैयाँ, खुमबहादुर खड्कासंग प्रभावित भएर उनी राजनीतिमा लागेका थिए । २०७४ को निर्वाचनमा कम्युनिष्टहरुले गरेको गठवन्धनका कारण सो निर्वाचनमा पराजय व्यहोरेका थिए ।

अनुराग खड्का
नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा सर्वाधिक मत लिएर केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका अनुराग खड्का कांग्रेसका स्वर्गीय नेता खुमबहादुर खड्काका छोरा हुन । राजनीति बृतमा अनुराग तेस्रो पुस्ताका उदयमान युवा हुन्य, जो नेपाली राजनीतिको लागि आफ्नो पढाई विचमै छोडेर नेपाल फर्किएका छन । यस अघि उनि नेपाल तरुण विभागको केंद्रीय सदस्य रहेर समेत काम गरि सकेका छन ।स्कटल्याण्डमा मास्टर्स गरेका उनी दाङको लागि केही गर्न फर्किएकाे बताउँछन्। राजनीतिमा कुनै बेला एकक्षत्र प्रभाव जमाएका अनुरागका बाबु स्वर्गीय नेता खुमबहादुर खड्काको निधन पछि उनि नेपाल फर्किएका थिए ।

कांग्रेसमा शक्तिशाली राजनीतिक गरेका स्वर्गीय खुमबहादुर पछि दाङ कांग्रेसले एउटा गतिलो नेतृत्व खोजिरहेको बेला अनुरागको राजनीतिमा ‘इन्ट्री’ गरेका छन । पढ्नका लागि उनि लामो समय नेपाल बाहिर रहे तर नेपाल बाहिर रहे पनि उनि जुन देशमा रहेर पढे सो देशमा नेपाली संघ संस्थाको नजिक भएर नेपालको राजनितिक बारेमा बुझ्ने प्रयास गरेको अनुरागले बताए । स्कटल्याण्डमा मास्टर्स गरेका उनी दाङ र दंगाली जनताको लागि सेवा गर्न फर्किएकाे बताउँछन्। उनि भन्छन, बुवाले छोडेर गएपनि बुवालाई माया गर्ने दंगाली जनता हुनुहुन्छ, बुवाले जस्तै मैले पनि उहाँहरुको सेवा गर्ने मौका दिनु हुनेछ ‘-।

पछिल्लो समय नेपालले राजनीतिक निकास र आर्थिक विकास खोजिरहेको छ, यो युवाबाट मात्र सम्भव छ, त्यसैले अबको नेतृत्व युवाले गर्न पाउनु पर्छ भन्ने मान्यता मेरो हो’- अनुरागले भने । बुवाको सपना पुरा गर्नु मेरो पहिलो प्राथमिकता हुनेछ’- अनुरागले भने।

त्यसैगरी समानुपातिक तर्फ सुशीला चौधरी, आत्माराम भट्टराई, खडक बहादुर सुनार,द्रोण भुसाल,गोविन्द रेग्मी, रामप्रसाद चौधरी र जमिर शाहको नाम सिफारिस भएको छ । सुशिला पनि २०७० सालमा निर्वाचित संविधान सभा सदस्य भैसकेकी महिला नेतृ हुन । गोविन्द रेग्मी नेपाली कांग्रेस दाङको जिल्ला सदस्य हुँदै पार्टीका बिभिन्न जिम्मेवारी सफलतापुर्वक बहन गरि सकेका नेता हुन ।

गठवन्धन चाहिंदैन – कांग्रेस कार्यकर्ता
दाङ निर्वाचन क्षेत्र १ नेपाली कांग्रेसको बलियो क्षेत्र हो। खुम बहादुर खड्का, परशुनारायण चौधरी जस्ता हस्तीहरुले कुनै बेला एकलौटी रुपमा चारतारे झण्डा फहराएको क्षेत्र हो । यस क्षेत्रमा कांग्रेस बलियो भएका कारण पनि कार्यकर्ता कुनै हालतमा गठवन्धन स्वीकार्य नहुने भन्ने गरेका छन ।

आसन्न प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसले नेकपा माओवादी, राष्ट्रिय जनमोर्चा, एकीकृत समाजवादी लगायत राजनीतिक दल संग गठवन्धन गरेर निर्वाचनमा जाने बताई रहेको बेला दाङका कांग्रेस कार्यकर्ताले गठवन्धनमा नजान पार्टीका नेताहरुलाई खबरदारी गरिरहेका छन ।

नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति भेषराज पाण्डे बहुदलिय व्यवस्थामा चुनाव एक्ला एक्लै लड्नु पर्ने धारणा राख्छन। यदि गठवन्धन हुनु पर्छ भने चुनाव पछि हुनु पर्छ किनभने त्यति बेला कुन पार्टीको हैसियत के भन्ने कुरा थाह हुन्छ’- पाण्डेले भने । पाण्डेका अनुशार दाङ निर्वाचन क्षेत्र १ मा कांग्रेसको झन्डै ३२ हजार मत, यहाँ हामीले एक्ला एक्लै चुनाव लडे पनि चुनाव जित्न सकिन्छ तर केन्द्रको सर्कुलरले बाध्यात्मक परिस्थिति सिर्जना गर्यो, पाण्डेले भने ।

२०७४ को निर्वाचनमा प्रतिनिधि सभा सांसद बनेर अहिले सहरी विकास मंत्री भएका मेटमणी चौधरी पनि यसै क्षेत्रका हुन। सत्ता गठवन्धनमा आधारित रहेर चौधरीले १ नम्बर क्षेत्रमा आफ्नो दावी रहेको बताई सकेका छन । प्रतिनिधि सभामा एकीकृत समाजवादी, प्रदेश ‘क’ मा माओवादीका इन्द्रजित र प्रदेश ‘ख’ मा जानकीलाल बस्नेतको बलियो दावी रहेको छ ।

नेपाली कांग्रेसले गठवन्धन गर्ने भनिएका राजनीतिक दलहरुसंग मत निकै कम छ । स्थानीय तहको निर्वाचन परिणाम हेर्नेहो भने क्षेत्र नम्बर १ मा नेकपा माओवादी दोस्रो र नेकपा एमाले तेस्रो स्थानमा छन । यो क्षेत्रमा नेकपा माओवादीसंग २७ हजार, मत छ तर भर्खरै सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको मत संख्या यत्ति नै छ भनेर भन्न सक्ने अवस्थामा नभएको एमाले नेताहरु बताउछन ।

त्यस्तै नेकपा एमालेबाट अलग भएको एकीकृत समाजवादीको यो १ नम्बर क्षेत्रमा करिब पैतालिस सय मत भएको एकीकृत समाजवादी दाङका अध्यक्ष सुरामानी बेलबासेले बताए। एमालेबाट भर्खरै विभाजित भएका कारण हामी संग थोरै मात्र मत छ, अध्यक्ष बेलबासेले भने ।

प्रतिक्रिया दिनुहोस्