दाङ – मन्त्री छनोट गर्दा प्रदेश कार्यसमितिलाई बेवास्ता गरेको भन्दै नेपाली कांग्रेस लुम्बिनी प्रदेशका प्रदेश सभापति अमरसिंह पुनले असन्तुष्टि जनाउनु भएको छ ।
पार्टीबाट पठाउने व्यक्तिहरुको छनोट गर्दा प्रदेश समितिलाई पूर्णतया बेवास्ता गरिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको सभापति पुनले विज्ञप्ति निकालेर असन्तुष्टि जनाउनु भएको हो । संघीयता एवं समावेशिताको मर्म र पार्टीको विधान विपरीत मन्त्रीहरु बनाएको उहाँको भनाई छ ।
आम कार्यकर्ताको भावना विपरीत मन्त्रीहरु छनोट भएको जनाउँदै प्रदेश सभापति पुनले असन्तुष्ट कार्यकर्ताको वृहत भेला गरी यथोचित निर्णयमा पुगिने चेतावनी दिनु भएको छ । गुल्मीका धनेन्द्र कार्की, प्यूठानका सरोज थापा (रोज राणा), दाङका प्रचण्डविक्रम न्यौपाने र बाँकेका बादशाह कुर्मी मन्त्री बनेका छन् ।
न्यौपाने संस्थापनइतरका हुन् । मन्त्री बनेका अन्य संस्थापन समूहका हुन् । कांग्रेस प्रमुख सचेतक बर्दियाका जन्मजय तिमिल्सिना पूर्व गृहमन्त्री बालकृण खाँण निकट हुन् ।

प्रतिक्रिया दिनुहोस्