दाङ – संयुक्त बचत तथा ऋण सहकारी संस्थाको १३ औं साधारणसभा सोमबार लमहीमा सम्पन्न भएको छ ।
साधारणसभालाई सम्बोधन गर्दै लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले सहकारीहरुले सस्तो व्याजदरमा ऋण उपलब्ध गराउदै महिला दिदीबहिनीको आयस्रोतमा टेवा पुर्याउने काम गर्नु पर्ने बताउनु भयो । आयअर्जनमा जोडिएर समुदायलाई गरिविनिवारण तर्फ लैजान मद्दत गर्न सहकारीले भुमिका खेल्नु पर्ने उहाँको भनाई छ ।
सहकारीहरुको संख्या दिनानुदिन बढ्दै गएकोले स्वच्छ प्रतिस्पर्धा गर्न पनि सहकारी संचालकहरुलाई आग्रह गर्नु भयो । सहकारीले तीन खम्बे अर्थ नितिलाई आत्मसात गर्दै अगाडी बढ्नु पर्ने प्रमुख अतिथी योगीको भनाई छ ।
आर्थिक प्रतिवेदन कोषाध्यक्ष बम बहादुर विक र वार्षिक प्रतिवेदन अध्यक्ष पार्वती देवि थापाले प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा संस्थाका बजार प्रतिनिधि बसन्ती राना, पत्रकार श्रवण बस्नेत, लिला शाह, सहकारी संजालका अध्यक्ष रेशम विसी र संस्थाका सल्लाहकार नरेन्द्र बहादुर थापा लगायतले मन्तव्य राख्नु भएको थियो ।
पार्वती देवि थापाको अध्यक्षता तथा लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीको प्रमुख आतिथ्यतामा सम्पन्न वार्षिक साधारणसभामा उपाध्यक्ष देवा भण्डारीले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको सहजीकरण सचिब रोबर केसीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्