नेपाल र यूएई बीचको बाँकी खेल सुरु

दाङ समाचार
दाङ समाचार १९ बैशाख २०८०, मंगलवार
1 Min Read
Aa

काठमाडौं – नेपाल र यूएईबीच एसीसी प्रिमियर कपको फाइनलको बाँकी खेल सुरु भएको छ । सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा वर्षाका कारण फाइनल खेल प्रभावित बनेपछि बाँकी खेल आज खेलाइएको हो ।

दुई पटक वर्षाले प्रभावित खेलमा यूएईले ९ विकेट गुमाएर १०६ रन बनाउँदा खेल स्थगित भएको थियो । आज त्यहीँबाट पुनः खेल सुरु भएको हो । यूएईले खेल रोकिनुअघि २७.३ ओभर खेल्दै ९ विकेट गुमाएर १०६ रन बनाएको थियो ।

२८औं ओभरमा नेपालका ललित राजवंशीले लगातार दुई विकेट लिँदा यूएई अलआउट नजिक पुगेको थियो । ललितले उक्त ओभरको दोस्रो बलमा आसिफ खान र तेस्रो बलमा जहुर खानलाई लगातार आउट गरेका थिए ।ललित ह्याट्रिक विकेट नजिक छन् । यदि उनले आज पहिलो बलमै विकेट लिए ओडीआईमा ह्याट्रिक विकेट लिने पहिलो नेपाली बलर बन्ने छन् ।

आज पनि वर्षाको सम्भावना रहेकाले नियमित खेलमा नतिजा नआएमा सुपर ओभरको विकल्प रहने छ । पहिलो सुपर ओभर बराबरी भए दोस्रो सुपर ओभर पनि खेलाइनेछ । यदि सुपर ओभर पनि सम्भव नभएमा आईसीसी वरियताको आधारमा अगाडि रहेकाले नेपाल च्याम्पियन बन्नेछ । प्रतियोगिताको विजेता टोली आगामी सेप्टेम्बरमा हुने एसिया कपमा छनोट हुने छ । #Onlinekhabar

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्