जनताको सेवा गर्न दोस्रो पटक निर्वाचित भए – वडाअध्यक्ष न्यौपाने

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर १ भाद्र २०८०, शुक्रबार
6 Min Read
Aa

दाङ – लमही नगरपालिका-४ का वडाअध्यक्ष सुबाश न्यौपाने। दोस्रो पटक वडाको नेतृत्व सम्हाल्नु भएका युवा नेता न्यौपाने जनताको लोकप्रिय वडा अध्यक्षका नामले चिनु हुन्छ । जनताको काम अझै अपुरो छ, त्यहि भएर जनताले फेरी निर्वाचित गराएको उहाँको दावी छ । उहाँसंग हामीले वडामा भए गरेका विकास निर्माणका बारेमा कुराकानी गरेका छौं।

१ – अध्यक्ष ज्यु स्वागत छ, यहाँलाई दाङ समाचारमा । वडाको विकासे योजनाको बारेमा बताइदिनुहोस्न ।
धन्यवाद, पहिलो कार्यकालमा सुरु गरेका कामलाई पूरा गर्नुपर्ने दायित्व थियो । पहिलो कार्यकालमै वडा कार्यालय व्यवस्थापन त्यसपछि हामीले वडा कार्यालयसम्म जाने सडकलाई ग्राभेल, सोलिङ गर्नेलगायतका कामलाई निरन्तरता दिएका छौँ । कृषि र पशुपालन क्षेत्रलाई अगाडि बढाउनु पर्छ भन्ने मान्यताले अहिले किसानमुखी कार्यक्रम अगाडि बढाएका छौँ । कृषि तथा पशुपालनमा अनुदान दिने, लागत सहभागितामा किसानलाई प्रोत्साहन गर्ने कार्यक्रम अगाडि बढेका छन् । यो कार्यक्रम एक वर्ष चल्यो । आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रमबाट पनि हामीले कृषि र पशुपालन क्षेत्रलाई प्राथमिकता दिएका छौँ ।

२- निर्वाचनको बेला गरेको प्रतिबद्धता कति पूरा भए ?
मैले पहिलो निर्वाचनमा गरेको प्रतिबद्धता धेरै पूरा गरेँ । यो पटकको निर्वाचनमा मैले धेरै प्रतिबद्धता गरिनँ । हाम्रो वडा कार्यालयमा आइ सेवा लिनुहुने सेवाग्रही एवम् वडाबासीलाई कसरी वडा कार्यालयसम्म पुग्न सहज हुन्छ भन्ने विषयमा केन्द्रीत थियौँ । भौतिक पूर्वाधारमा थोरै पछाडि थियौँ । वडा कार्यालयसम्म जोड्ने विभिन्न सडकलाई बढी प्राथमिकता दिनु पर्छ भन्ने हिसाबले हामीले नगरपालिका, संघ र प्रदेश सरकारसँग त्यही कुरालाई माग ग¥यौँ । अहिले वडा सबै सडक सञ्जालले जोडिएको छ । अर्नवादेखि चैलाही गाउँ जोड्ने पक्की पुल निर्माण भएको । त्यसैगरी हामीले चुनावी घोषणापत्र पाँच वर्षको कार्ययोजना समेटेका थियौँ । अहिले एक वर्ष मात्र पूरा भएको छ । यो अवधिमा हामी घोषणापत्रकै मार्गमा अगाडि बढेका छौँ र हरेक योजनाको जग बसाल्ने काम भएको छ । एक वर्ष पूरा गर्दैगर्दा सुखी वडावासी र समृद्ध वडाको मार्गचित्र तयार भइसकेको छ र त्यसै अनुरूप अगाडि बढेका छौँ ।

३- वडा क्षेत्रमा स्रोतसाधनको अवस्था के छ ? यसलाई कसरी पूर्ति गर्नु भएको छ ?
जति आफूसँग छ, त्यसलाई सही तरिकाले परिचालन गर्नेतिर हामी लागेका छौँ । हामीसँग भएको स्रोतलाई न्यायोचित वितरण गर्ने, त्यसको कार्यान्वयन पक्षलाई अलि बढी चासो दिने हो । लगानीको सदुपयोग र प्रभावकारिता भयो कि भएन, कार्यान्वयन सही ढङ्गले भयो कि भएन भनेर हेर्ने प्रणाली बलियो बनाएर लैजाने योजना बनाएका छौँ । स्रोत परिचालनमा पारदर्शिता, जनसहभागिता र जनचासोलाई उच्च प्राथमिकता दिएर अगाडि बढेका छौँ ।

४- वडाको विकासमा तपाईंको दृष्टिकोण र लक्ष्य के हो ?
लमही नगरपालिका ४ नम्बर वडा बजार छेवैमा रहेको वडा हो । वडाको विकास र समृद्धि हाम्रो नारा हो । समृद्धि प्राप्ति कसरी हुन्छ भन्ने कुराको योजना नबनाई हुँदैन । यसका लागि कृषि र पशुपालन क्षेत्रमा लगानी गर्ने, कृषि र पशुपालनमै युवालाई स्वरोजगार बनाउने, परम्परागत खेती र पशुपालनलाई आधुनिकीकरण र व्यवसायीकरण गर्नु पर्छ । यहाँ उत्पादन भएका वस्तुलाई बजारसम्म पु¥याउन वडा सरकारले योजना बनाउने छ । यसले गर्दा आयआर्जन र रोजगारी सिर्जना पशुपालन र कृषि क्षेत्रबाटै हुन्छ । त्यसलाई सहजीकरण वडा सरकारले गर्ने गरी कृषि र पशुपालनलाई प्राथमिकता दिएर योजना बनाएका छौँ । यस वडाका दुई हजारभन्दा धेरै युवा रोजगारीका लागि विदेश गएका छन् । यहाँ भएका युवा पनि काम नपाएर चोक चोकमा भौँतारिएका छन् । कृषि र पशुपालनको क्षेत्रलाई प्राथमिकता दिनुको कारण पनि उनीहरूलाई गाउँमै रोजगारीको अवसर सिर्जना गर्नु हो ।

५, तपाईको वडामा भएका सुकुम्बासीहरुको समस्या कहिले समाधान हुन्छ ?
मेरो वडा भित्र भूमिहीन दलित एक हजार ६५, भूमिहीन सुकुम्बासी तीन हजार २ सय ८५ र अव्यवस्थित बसोबास ७ सय ६५ संख्या रहेको छ । यसमध्ये वडाले अहिलेसम्म ऐलानी जग्गा १६.३१ हेक्टर क्षेत्रफल नापी गरेको छ र ऐलानी जग्गाको लालपुर्जाका लागि हामी निरन्तर प्रयाससरत छौँ ।

७, समृद्ध वडा निर्माणका लागि गरिनुपर्ने विकासका अल्पकालीन र दीर्घकालीन मुख्य मुख्य क्षेत्र के के हुन् ?
समृद्ध वडा निर्माणका लागि गरिनुपर्ने विकासका अल्पकालीन र दीर्घकालीन मुख्य क्षेत्रमा खास गरी पूर्वाधार निर्माण, कृषिमा यान्त्रिकीकरण गर्दै आधुनिकीकरण, गुणस्तरीय शिक्षा, भरपर्दो स्वास्थ्य र सुरक्षा तथा स्वच्छ खानेपानीको व्यवस्था एवं पर्यटन क्षेत्रको विकास नै समृद्ध वडा निर्माणको मूल आधार हुन् ।

८ – समृद्द वडा निर्माणका लागि भावि योजना के छ ?
मेरो भावी योजना भनेकै ४ नम्बर वडालाई कसरी समृद्ध बनाउन सकिन्छ भन्ने हो । यस वडाका वडाबासीहरुले यस कार्यालयबाट पाउने सम्पूर्ण सेवा सुविधाहरु सहज रुपमा पाउनुपर्छ भन्ने हाम्रो मान्यता हो । यसको लागि वडामा छलफल गरि योजना बनाएर अगाडि बढ्ने प्रयास भइरहेको छ । हामीले वडाभित्र रहेका तीनजना अति विपन्न विद्यार्थीलाई प्राविधिक शिक्षा निःशुल्क पढाइरहेका छाँै । वडाले त्यस्ता विद्यार्थीलाई खोजी गर्ने र हामीसंग सम्पर्कमा आएका त्यस्ता विपन्न परिवारका छोराछोरीलाई (विद्यार्थी)लाई निःशुल्क पठनपाठन गराउने व्यवस्था गर्दै आएका छौँ ।

९, अन्त्यमा भन्न छुटेका कुरा केहि छन ?
हाम्रो वडाले गरेका सम्पूर्ण कामहरु र कार्यसम्पादन गर्दा यहाँहरुको सल्लाह सुझाव सदैव पाइराखौँ । विकासको क्रममा जनताको साथ निकै आवश्यक पर्ने भएको हुदाँ वडाबासीहरुको साथ र सहयोगको अपेक्षा समेत गर्दछु । वडाका सम्पूर्ण गतिविधि तपाईको संचार माध्यामबाट प्रकाशित गरि सहयोग पु-याउनु भएकोमा धेरै धेरै धन्यवाद दिन चाहान्छाँै । साथै अन्य दिनहरुमा पनि यहाँहरुको साथ र सहयोगको पनि अपेक्षा गदछौँ ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्