दाङ – आज माघ १६ गते, शहीद दिवस । प्रजातन्त्रको स्थापना र पुनःस्थापना लगायत विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा विभिन्न कार्यक्रम गरिँदैछ । दिवसका अवसरमा लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरी र नगर उपप्रमुख लक्ष्मी योगीले शुभकामना व्यक्त गर्नुभएको छ ।
नगर प्रमुख चौधरीले सहिदको बलिदानद्वारा प्राप्त भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै शहीदप्रति सच्चा श्रद्धाञ्जली हुने बताउनुभएको छ ।
यस्तै नगर उपप्रमुख योगीले सहिदको बलिदानबाटै नागरिकको शासन स्थापित भएको भन्दै देशमा राजनीतिक परिवर्तन, नागरिक स्वतन्त्रता र विधिको शासन स्थापना गर्ने जोखिमपूर्ण आन्दोलनमा खटिएका सबै शहीदप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।
शहीद दिवसको अवसरमा हरेक वर्ष माघ १० देखि १६ गतेसम्म शहीद सप्ताह मनाइन्छ । एकतन्त्रीय र निरङ्कुश राणा शासनको विरोध र स्वतन्त्रताको माग गर्दा तत्कालीन राणा शासकले १९९७ सालको माघ १० गते काठमाण्डौ टेकुको पचलीमा शुक्रराज शास्त्रीलाई, धर्मभक्त माथेमालाई माघ १३ गते सिफलमा र गङ्गालाल श्रेष्ठ एवम् दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा मृत्युदण्ड दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्