दाङ – राजपुर गाउँपालिका – ७ माध्यामिक विद्यालय सिक्टाको प्रधानाध्यापकबाट हटाइएका विष्णु खत्रीलाई राजपुर गाउँपालिकाले २४ घण्टे स्पष्टिकरण सोधेको छ । प्रधानाध्यापक पदबाट हटाइएका प्रअ खत्रीले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा पालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, शिक्षा शाखा प्रमुख लगायत कर्मचारीलाई तथानाम गालिगलौज गर्ने, पदभार गर्दा निमित्त प्रअलाई कुर्सीबाट लतार्ने लगायतका घटनामा संलग्नता देखिएको भन्दै पालिकाले स्पष्टिकरण सोधेको हो ।
‘शिक्षक जस्तो मर्यादित पदमा आसिन भएको व्यक्तिले यस्तो गतिविधि कुन ऐन कानुन वमोजिम गर्नु भयको हो ? शिक्षा नियमावली २०५९ (संसोधनसहित) को नियम १० बमोजिम २४ घण्टा भित्र आफैँ उपस्थित भइ लिखित स्पष्टिकरण दिनुहोला ।’, स्पष्टिकरणमा भनिएको छ ।
प्रअ खत्री पदीय जिम्मेवारी भुलेर अनैतिक क्रियाकलापमा संलग्न भएको भन्दै स्पष्टिकरण सोधेको पालिकाका शिक्षा शाखा प्रमुख केशव लम्सालले बताए । ‘प्रधानाध्यापकले आफ्नो फेसबुकमा राजपुर गाउँपालिका अध्यक्ष शरद बुढाथोकी, प्रमुख प्रशासकीय अधिकृत विष्णु पाण्डे , शिक्षा शाखा प्रमुख केशव लम्साल लगायतका कर्मचारीलाई नकारात्मक टिकाटिप्पणी गर्नुका साथै पालिकाबाट जिम्मेवारी दिएका निमित्त प्रअ भरत बहादुर बस्नेतलाई पदभारका क्रममा कुर्सीबाट हटाई अभद्र व्यवहार गरेको आरोप छ ।’, उनले भने ।
पालिकाले उक्त विद्यालयलका सिनियर शिक्षक बस्नेतलाई साउन ३१ गते निमित्त प्रअको जिम्मेवारी दिएको थियो । प्रअ खत्रीमाथि लामो समय देखि मावि सिक्टामा विद्यालय व्यस्थापन समिति गठन नगरेको समेत आरोप छ ।

प्रतिक्रिया दिनुहोस्