दाङ – नेपाली कांग्रेस केन्द्रीय समितिद्वारा संचालित सय दिने विशेष अभियान अन्तर्गत आज सोमबार दाङ क्षेत्र नम्बर १ का ३७ वटा वडामा खटिएका जिल्ला प्रतिनिधिलाई मनोनयन पत्र हस्तान्तरण गर्दै कार्यक्रमका बारेमा अभिमुखीकरण गरिएको छ ।
त्यसै गरि यहि कार्तिक १४ गते क्षेत्र नम्बर २ र ३ मा हुने भएको छ । आज सोमबार क्षेत्र नम्बर १ को लमहीमा भएको अभिमुखीकरण कार्यक्रमको सभापतित्व क्षेत्रीय सभापति भेषराज पाण्डेले गर्नु भएको थियो भने कार्यक्रमको संचालन सचिव खेम चौधरीले गर्नु भएको थियो । क्षेत्र नम्बर १ का ३७ वटा वडामा जिल्ला प्रतिनिधि खटाइएको छ ।
नेपाली कांग्रेस दाङले पार्टीको संगठन सुदृढीकरणको सय दिने अभियान सुरू गरेको छ । यहि कार्तिक ६ गते नै कार्यक्रमको शुभारम्भ भएको हो । अभियान सञ्चालनका लागि कांग्रेस केन्द्रीय समितिले दाङमा केन्द्रीय सदस्य एवं संविधानसभा सदस्य प्रकाश रसाइली स्नेहीलाई खटाएको छ ।
दाङमा खटिनुभएका केन्द्रीय सदस्य एवं संविधानसभा सदस्य प्रकाश रसाइली स्नेहीले जिल्लामा चुनावमा पराजित भएर छिन्नभिन्न भएको कांग्रेसलाई यो अभियानमा एकढिक्का बनाउन लागिपर्ने बताउनु भएको छ ।
यस्तै भातृ र शुभेच्छुक संगठनमा रिक्त पदपूर्ती गर्ने, पार्टीमा योगदान दिने ज्येष्ठ सदस्यको सम्मान, द्वन्द्व पीडित, घाइते र सहिद परिवारको सम्मानका कार्यक्रम पनि गर्ने नेपाली कांग्रेस दाङका सभापति शंकर प्रसाद डाँगीले बताउनु भयो । यो कार्यक्रम असोज १ गतेदेखि शुरु भएर पुस दश गते सकिने छ ।
एक सय दिनको अभियानका क्रममा कार्यालयलाई व्यवस्थित गर्ने, मासिक रुपमा सबै तहका बैठक र वडातहसम्मै यथाशीघ्र सम्मेलन गर्ने, वार्षिक कार्ययोजना बनाउने, संगठन विस्तारका लागि सामाजिक र राजनीतिक गतिविधि बढाएर लैजाने,सदस्यता घर आँगन कार्यक्रमलाई प्रभावकारी बनाउनेलगायतका कार्यक्रम वडावडामा हुने कांग्रेस जिल्ला सचिव अर्जुन कुमार योगीले जानकारी दिनु भयो । अभिमुखीकरण जिल्ला सचिव योगीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्