भैलोबाट संकलित रकमले सुविधा सम्पन्न सभाहल निर्माण गरिने

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर २२ कार्तिक २०८१, बिहीबार
2 Min Read
Aa

दाङ – नर्ती मगर समाजले भैलो खेलेर संकलन भएको रकमबाट सभाहल निर्माण गर्ने भएको छ । यो वर्ष समाजले ३ लाख २८ हजार २ सय ५० रुपैयाँ संकलन गरेको छ ।

समाजले अघिल्लो वर्षसम्म १० लाख २६ हजार ६ सय ४७ रुपैयाँ संकलन गरेको थियो ।

भैलो कार्यक्रममा सबैभन्दा बढी आर्थिक दान दिने व्यक्तिहरुलाई समाजले एक कार्यक्रमको आयोजना गरि सम्मान समेत गरेको छ ।

लमही नगरपालिका -१ नर्ती हाल युके बस्दै आउनु भएका शालिकराम पुन मगरबाट १ लाख ५ रुपैयाँ, राप्ती गाउँपालिका-२ लालमटिया घर भैइ हाल युके बस्दै आउनु भएका केहरसिंह पुन मगरबाट १८ हजार १० रुपैयाँ र समाजका संस्थापक सदस्य स्वर्गीय मीन बहादुर मगरले शुरुवात गरेको भैलो र अन्य कार्यमा अतुलनीय योगदान गरेको भन्दै उहाँकी धर्मपत्नी अमृता वयक मगरलाई सम्मान गरिएको समाजका कोषाध्यक्ष दल बहादुर पुन मगरले जानकारी दिनु भयो ।

समाजले हरेक तिहारका समयमा भैलो खेल्दै आएको छ । देउसी भैलोबाट संकलित ४० प्रतिशत रकम विविध शिर्षकमा खर्चिने र ६० प्रतिशत रकम सामाजिक काममा लागाउदै आएको छ ।

हालसम्म जम्मा भएको रकम सार्वजनिक गर्दै लमही नगरपालिका -१ नर्तीमा सुविधा सम्पन्न सभा हल निर्माण गरिने भएको छ । खर्च कटाएर अहिले समाजको कोषमा १२ लाख ३० हजार बचत रहेको कोषाध्यक्ष दल बहादुर पुनले जानकारी दिनु भयो । यो रकमले त पुग्दैन तर हामीले सहयोगी दाताहरुलाई सहयोगका लागि अनुरोध गरेका छौं”- उहाँले भन्नू भयो ।

नर्ती मगर समाजका अध्यक्ष मनोज कुमार पुन मगरको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष दल बहादुर पुन मगरले स्वागत मन्तव्य राख्दै आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने सचिव अजय पुन मगरले कार्यक्रमको सहजीकरण गर्नु भएको थियो ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्