नेपाल कुमाल समाज दाङको साधारणसभा सम्पन्न, भाषा संरक्षणमा जोड

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर १ मंसिर २०८१, शनिबार
3 Min Read
Aa

दाङ– नेपाल कुमाल समाज दाङको तेस्रो वार्षिक साधारणसभा शुक्रबार लमहीमा भव्य रुपमा सम्पन्न भएको छ । समाजले आफ्नो समुदायको भाषा संरक्षणमा जोड दिंदै आएको अध्यक्ष रामलाल कुमालले बताउनु भयो । उहाँका अनुसार स्वरोजगार तथा सीप विकास सम्बन्धि तालिम दिएर रोजगारमुखी बनाउने संस्थाको अर्को मुख्य उदेश्य पनि हो ।

विभिन्न तालिम, गोष्ठी, सेमिनारहरुको आयोजना गर्दै आएका छौं, हामीले पनि अब हाम्रो पुर्खाको भाषा बोल्नु पर्छ, पुर्खाको इतिहास जोगाएर राख्नु पर्छ, सबै समुदायले आ-आफ्नो अस्तित्व खोजि रहेका बेला हामीले हाम्रा पछिल्ला पुस्तालाई कुमाल भाषा सिकाउनु पर्छ भन्ने लागेर हामी संगठित भएका हौँ’- अध्यक्ष कुमालले भन्नु भयो ।

साधारण सभालाई सम्बोधन गर्दै लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले कुमाल समाज दाङले आफ्नो समुदायको भाषा, संस्कृति संरक्षण गर्नका लागि गरेको मेहनत अत्यन्तै प्रशंसनीय भएको उल्लेख गर्नु भयो ।

समुदायकै पहिचान मेटिने हो कि भन्ने एउटा प्रश्न सिर्जना भैरहेका समयमा समाजका शिक्षित युवाहरु जागरूप भएर देशैभरका कुमालहरुलाई समेट्नु आफैमा यो चुनौतिपूर्ण कुरा हो, चुनौतीलाई परास्त गर्दै आफ्नो समुदायका लागि यसरी मेहनत गरेर लाग्ने सबै लाई सम्मानका साथ लमही नगरपालिकाको सहयोग रहने पनि उपप्रमुख योगीको भनाई छ ।

चौथो कार्यकालका लागि पुनः रामलाल कुमाल नै अध्यक्ष
शुक्रबार लमहीमा सम्पन्न भएको नेपाल कुमाल समाज दाङको तेस्रो साधारण सभाले पुनः रामलाल कुमाललाई नै जिल्ला अध्यक्षको जिम्मेवारी दिएको छ । समाजको उपाध्यक्षमा रचना कुमाल, कोषाध्यक्षमा कविता कुमाल, सचिवमा बालाराम कुमाल, सहसचिवमा राजु कुमाल चयन हुनु भएको छ । त्यस्तै कुलराज कुमाल, कर्ण बहादुर कुमाल, गणेश कुमा, गणेश कुमा, मायादेवी कुमाल, दिल बहादुर कुमाल, पुनाराम कुमाल, भग्गु बहादुर कुमाल सदस्यमा चयन हुनु भएको छ ।

समाजका अध्यक्ष रामलाल कुमालको अध्यक्षता, लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको संचालन सचिव बालाराम कुमालले गर्नु भएको थियो । संस्थाको वार्षिक प्रतिवेदन सदस्य संगीता कुमाल र आर्थिक प्रतिवेदन सहसचिव राजु कुमालले गर्नु भएको थियो । कार्यक्रममा नृत्य पनि प्रस्तुत गरिएको थियो ।

परापूर्वकालदेखि नेपालमा बसोबास गर्दै आएको जातिमा कुमाल पनि पर्छ। नेपाल सरकारले आदिवासी जनजातिमा समेटेको ५९ जातिमध्ये एक हो- कुमाल । यस समुदायलाई सीमान्तीकृत समुदायको सूचीमा पनि राखिएको छ।

२०७८ सालको जनगणना अनुसार देशका ७० जिल्लामा बसोबास गर्दै आएको कुमाल समुदायको जनसंख्या एक लाख २९ हजार ७०२ छ । तथ्यांक अनुसार नवलपरासी, दाङ, चितवन, कास्की, गोरखा, पाल्पा, धादिङ, तनहुँ लगायत जिल्लामा कुमाल समुदायको बसोबास बाक्लो छ।पश्चिम क्षेत्रमा कुमाल जातिलाई दलितमा राख्ने गरिएको छ। तराई-मधेशमा कुमाललाई मधेशीमा राख‍िएको छ। त्यस्तै, आदिवासी जनजातिको सूचीमा पनि यो समुदाय छ।

मधेशी आयोगको चौथो वार्षिक प्रतिवेदनको थर सूचीकरणको विवरणमा कुमाल जातको थर समावेश गरिएको छ। मधेशी समुदायको सूचीकरणबाट हटाउनुपर्ने उनीहरूको माग छ । यस समुदायको प्रमुख पेशा माटाको भाँडा बनाउनु हो । यसका साथै माछा मार्ने, खेतीपाती गर्ने पुर्ख्यौली पेशामै पर्छ। विशेषत: मधेश र टार, जहाँ माटाको भाँडा बनाउन उपयुक्त माटो पाइन्छ, त्यहीं बस्दै आएका छन।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्