दाङ – लमही अस्पतालमा मर्चुरी फ्रीज सेवा शुरु भएको छ । केहि कारण लामो समयसम्म शव राख्न परे पनि अब सहज हुने भएको छ । लुम्बिनी प्रदेश सरकार बाट प्राप्त भएको १० लाख वजेटमा निर्माण भएको शव गृहमा लमही नगरपालिकाले ८ लाख वजेटमा मर्चुरी फ्रीज खरिद गरेको हो । यो भन्दा अगाडी मर्चुरी फ्रीज नहुँदा त्यहाँ राखिएका शव कुहिएर गन्हाउने हुन्थे, पोष्टमार्टम गर्न समेत गाह्रो हुने गर्दथ्यो, त्यो समस्या तत्कालका लागि हटेको लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले भन्नु भयो ।
पहिले सानो शव गृह थियो, संख्यात्मक हिसाबले पनि शवहरु व्यवस्थापन गर्न कठिन थियो, शव कहाँ राख्ने, पोष्ट मार्टम कसरी गर्ने भन्ने झन्झट थियो तिनै समस्यालाई हामीले मध्यनजर गर्दै अर्को भवन बनायौं जसले गर्दा अब र आउँदा दिनमा सहज हुनेछ’– नगर प्रमुख चौधरीले भन्नु भयो । कहिले पोष्टमार्टम गर्ने डाक्टर नहुँदा घोराही लैजान पर्ने समस्या थियो, शवलाई केहि दिन राख्न पर्दा फ्रीज नहुँदा अर्को समस्या थ्यो अब सबै समस्या हल भएको छ’- प्रमुख चौधरीले भन्नु भयो ।
त्यसैगरी नवनिर्मित शव गृहको अवलोकन तथा निरीक्षण गर्दै लमही नगरपालिका उपप्रमुख लक्ष्मी योगीले शव पनि सम्मान पुर्वक राख्न मिल्ने गरि भवन निर्माण भएको बताउनु भयो । बाँच्दा सम्म जे जस्तो भएपनि जो मानिस जसरी मरेपनि शवलाई राम्रोसंग राखिनु पर्छ र सजिलैसंग पोष्ट मार्टम गरेर आफन्तलाई बुझाउन सकियोस भन्ने हाम्रो धारणा हो’– उहाँले भन्नु भयो । समग्रमा शव गृह व्यवस्थित हुनु पर्छ भन्ने स्थानीय सरकारको बुझाई भएको उहाँले बताउनु भयो ।
लमही नगरपालिका–४ का वडा अध्यक्ष तथा अस्पताल व्यवस्थापन तथा अस्पताल संचालन समितिका सदस्य सुवाश न्यौपानेले लमही अस्पतालबाट विभिन्न विषयमा विज्ञता हाँसिल गरेका विषेशज्ञबाट निर्वाध रुपमा सेवा प्रबाह भैरहेको बताउनु भयो । स–साना समस्या त हुन्छन नै तर विरामी भएर अस्पताल आइसकेपछि उनीहरुले सेवा पाएरै घर फर्किएको उहाँको भनाई छ । लमही अस्पतालबाट दैनिक एक सय बढी विरामीले सेवा लिंदै आएका छन, हाम्रो अस्पतालमा हुने उपचार भैरहेको छ र हुन्छ पनि तर अस्पतालमा उपचार सम्भव नहुने खालको विरामीलाई अस्पतालले अन्यत्र लगेर उपचार गर्न भनिहाल्छ, तसर्थ हल्लाको पछि नलागेर लमही अस्पतालबाट सेवा लिन सबैमा अनुरोध समेत गर्नु भएको छ ।
वडा अध्यक्ष न्यौपानेले जुन खालको भ्रम सिर्जना गराउने जस्ता कुराहरु बाहिर सुन्नमा आउछन त्यस्ता कुराका पछि नलाग्न समेत सबैमा आग्रह गर्नु भएको छ । उहाँ भन्नु हुन्छ ’–मेरो वडा कार्यालय अस्पतालसंगै साटेको छ, अस्पतालमा के कस्तो काम भैरहेको छ भन्ने कुरा सबै मलाई जानकारी हुन्छ, सामान्य समस्या आयो भने व्यवस्थापन तथा संचालन समिति मार्फत समाधानको उपाय खोज्छौं त्यो पनि सम्भव भएन अलिक जटिल समस्या आयो भने हामीले पालिकाबाट समस्याको समाधान खोज्दछौं ।
लमही अस्पतालका प्रशासन प्रमुख हरि खनालले उक्त शव गृहमा एसी जडानको काम बाँकी रहेको बताउनु भयो । उहाँले दिएको जानकारी अनुसार केहि दिनमै एसी पनि जडान गरिने भएको छ । मृतकका आफन्तलाई सबै कुराको राम्रो जानकारी रहोस भनेर अस्पताल प्रशासनले भवनको बाहिरि भित्तामा सूचना लेखिदिएको छ ।
पोष्ट मार्टम गर्दा कम्तिमा ३ देखि ५ हजारसम्म खर्च लाग्ने गर्दथ्यो, यसले गर्दा मृतकका आफन्तलाई थप पीडाबोध हुनेभएपछी लमही अस्पतालले पोष्टमार्टम गर्दा लाग्ने सबै सामाग्री निशुल्क उपलब्ध गराउदै आएको छ । नगरपालिका भित्र रहेका मृतकहरुलाई घरसम्म निशुल्क एम्बुलेन्स सेवा समेत प्रदान गरिएको छ ।
अहिले लमही अस्पतालमा २ जना विषेशज्ञ र तीन जना मेडिकल अधिकृत सहित पाँच जना डाक्टरले सेवा प्रदान गर्दै आएका छन । एमडिजीपी डाक्टर महेश सिलवाल मार्फत शल्यक्रिया मार्फत सुत्केरी गराउने, एपेन्डिक्स साइटिस, हर्निया र हाइड्रो शिल जस्ता जटिल रोगको सहजै शल्यक्रिया सेवा प्रदान हुँदै आएको छ । त्यसैगरी हड्डी तथा नासारोग विषेशज्ञ डाक्टर आकाश बेल्वासेद्वारा हड्डी सम्बन्धि सबै काम लमही अस्पतालबाट हुँदै आएको छ ।
त्यस्तै डाक्टर सुदीप चौधरीबाट पोष्ट मार्टम हुँदै आएको छ भने डाक्टर दीपक आचार्य र डाक्टर प्रतीक्षा मिश्राबाट पनि सेवा प्रबाह भैरहेको अस्पताल प्रशासनले जानकारी दिएको छ । त्यसैगरी प्रयोगशालामा चार जना प्रयोगशाला प्राविधिकले चौविसै घण्टा सेवा प्रदान गरिरहेका छन भने अस्पताल फार्मेसी पनि चौविसै घण्टा चालु अवस्थामा छ । अब निकट समयमै अस्पताल फार्मेसी अधिकृतको व्यवस्था हुन लागेको प्रशासन प्रमुख खनालले बताउनु भयो ।
लमही नगरपालिका भित्र बसोबास गर्ने महिलाहरुको हकमा सुत्केरीसंग उपमेयर कार्यक्रम अन्तर्गत १ हजार रुपैयाँ र लमही अस्पतालले सुत्केरी भएका महिलाहरुलाई ७ सय थप यातायात भनेर दिंदै आएको छ । त्यसै गरि नेपाल सरकार आमा सुरक्षा कार्यक्रमबाट २ हजार रुपैयाँ, नियमित रुपमा चार पटकसम्म गर्भवती जाँच गराए पश्चात नेपाल सरकार गर्भवती उत्प्रेरणा कार्यक्रम मार्फत सुत्केरीले ८ सय रुपैयाँ पाउने गरेका छन ।
यो नेपालका जुनसुकै क्षेत्रमा बसोबास गरेको भएपनि पाइने तर नियमित रुपमा ४ पटकसम्म सरकारी अस्पतालमा आएर गर्भवती चेकजाँच गराएको हुनु पर्छ । लमही नगरपालिका भित्र बस्ने महिलाहरु सरकारी अस्पतालमा आएर सुत्केरी भएको अवस्थामा अस्पतालले अन्य सुविधा पनि प्रदान गर्दै आएको छ । सुत्केरी डिस्चार्ज भएर घर जाँदा निशुल्क एम्बुलेन्स सेवा प्रदान गर्दै आएको छ । त्यस्तै सर्पदंश उपचार सम्बन्धि तालिम प्राप्त स्वास्थ्यकर्मी चौविसै घण्टा उपचारमा संलग्न छन । सर्पले डसेर अन्तिम अवस्थामा पुगेका कैयौं विरामीले उपचार पश्चात नयाँ जीवन समेत पाएर घर फर्किएका थुप्रै उदाहरण छन ।
विरामीमैत्री लमही अस्पताल
लमही नगरपालिका –३ फल्कापुर निवासी ७२ वर्षीय हुम बहादुर नेपाली लामो समयदेखि पिसाबमा संक्रम भएर पिडित हुनु हुन्छ । उपचारका लागि उहाँ भारत पनि पुग्नु भएको हो तर रोगबाट मुक्त हुन सक्नु भएको छैन । मंगलबार साँझ पुनः नेपालीलाई पुरानै समस्या बल्झिएपछि लमही अस्पताल उपचारका लागि आउनु भयो । अस्पतालमा आएर उहाँले राम्रो उपचार पाएको बताउनु भयो । उपचार पछि राहत महसुस गरेको छु, मुत्रनलीमा राखेको पाइप निकाल्न आएको कुरा बताउदै अस्पतालमा राम्रो उपचार पाएको भन्दै खुशी व्यक्त गर्नुभयो ।
त्यस्तै गढवा गाउँपालिका – ६ घोडाहा घर भएकी गोमा चौधरी बुधबार छोरीको एक्कासी पेट दुखेर उपचारका लागि लमही अस्पताल आएको भेटिनु भयो । उपचार पछि छोरी निको भएको भन्दै अस्पतालमा राम्रो परामर्श समेत पाएको बताउनु भयो । राप्ती गाउँपालिका –९ देविकोट निवसी ६२ वर्षीय जुठीदेवि बराल मगर विगत १० वर्षदेखि पाठेघर खस्ने समस्याले ग्रसित विरामी हुनुहुन्छ । जबजब बच्चा बस्ने घर खस्छ तब उहाँ अतालिदै अस्पताल धाउनु हुन्छ ।
बुधबार जुठी श्रीमान यमलाल बराल मगरसंगै लमही अस्पताल परिसरमा भेटिनु भयो । भालुवाङ प्रादेशिक अस्पतालमा उपचारका लागि गएको त्यहाँ सिस्टरहरुले व्यवास्ता गरेको बताउनु भयो । प्रादेशिक अस्पतालमा उपचार गर्दिने मान्छेको घिनलाग्दो व्यवहार भोगेपछि लमही अस्पताल आएको बराल दम्पतिको भनाई छ । टाढा भएपनि राम्रोसंग उपचार गराएर घर फर्किन लागेको उहाँहरुले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्